Comments Add Comment

मञ्चमा सिपाही उभ्याइएकोबारे संग्रौलाको कडा टिप्पणीमा बाबुरामको नरम जवाफ

२४ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच सोमबारको एकता घोषणा कार्यक्रममा मञ्चमै नेताहरुलाई सुरक्षाकर्मीले पहरा दिएका थिए । वामपन्थी बुद्धिजीवी खगेन्द्र संग्रौलालाई यो कुरा ‘हजम’ भएनछ ।

संग्रौलाले टि्वटरमा ‘पिस्तोलधारी सिपाहीलाई मञ्चमा खडा गरिएको’ भन्दै आलोचना गरेका छन् ।

उनले व्यंग्यात्मकरुपमा लेखेका छन्, ‘सार्वजनिक मञ्चमा धरी राजसी गाथको रक्षार्थ बडो दम्भी मुद्रामा पछाडि पिस्तोलधारी सिपाहीलाई खडा गराउने मान्यवर क्रान्तिकारीले लोकलाई दिने लोकतन्त्र र समाजवादको अनुहार कस्तो होला ?’ भनेका छन् ।

डा. भट्टराई पनि टि्वटरमा सक्रिय नेता हुन् । त्यसैले खगेन्द्रको टिप्पणीमा उनी चुप बस्ने कुरै थिएन । भट्टराईले संग्रौलालाई विनम्र जवाफ दिँदै ‘कमजोरी’ भएको स्वीकारेका छन् ।

उनले लेखेका छन्, ‘धन्यवाद, वरिष्ठ ब्रो, फोटोमा देखिएको हाम्रो यो कानेखुशी यही सुरक्षाकर्मीलाई हटाउने विषयमा थियो । मैले त हटिसकेको होला भन्ने ठानेको थिएँ, पछि फर्केर पुनः चेक गर्न बिर्सिएछ’ संग्रौलाको जवाफमा भट्टराईले लेखेका छन् ।

संग्रौलाले समाजवादमाथि पनि प्रश्न उठाएपछि भट्टराईले आफ्नो पार्टीको समाजवादलाई सक्कली जिनिस भनेका छन् । उनले भनेका छन्, ‘हाम्रो समाजवाद अर्को नक्कली जिनिस हैन, साँच्चिकै उन्नत संघीय समाजवाद हुनेछ ।’

नवगठित पार्टीले समुन्नत संघीय समाजवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने बताएको छ ।

एकता घोषणा कार्यक्रम सुरु भएपछि मञ्चमा बसेका नेताहरुको ठीक पछाडि केही सेना र प्रहरीले पहरा दिएका थिए । उनीहरु उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवका निजी सुरक्षाकर्मी हुन् । भट्टराई निकट नेता विश्वद्विप पाण्डेले स्टेजमा सुरक्षाकर्मी असुहाउँदो भएको बारे आफूले नै डा. भट्टराईलाई सचेत गराएको बताए ।

‘मैले अध्यक्षज्यूलाई यसबारे जानकारी गराएपछि उहाँले अर्का अध्यक्ष यादवसँग यही विषयमा कानेखुशी गर्नुभएको हो,’ पाण्डेले अनलाइनखबरसँग भने ।

तर, कानेखुशीका बाबजुद पनि सुरक्षाकर्मीहरु अन्त्यसम्मै मञ्चमा बसेका थिए । पूर्वप्रधानमन्त्री भट्टराई सुरक्षाकर्मी अघिपछि लगाएर तामझाम गर्ने खालको नेता नभएको पाण्डेको भनाइ छ । उनी भन्छन्, ‘उहाँले पूर्व प्रधानमन्त्रीको हैसियतमा पाइने सुरक्षाकर्मीको संख्या पनि घटाएर थोरै मात्रै लिनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment