+
+
Shares

रास्वपा सांसदको दाबी– रास्वपा पनि संविधानको ‘स्केटहोल्डर’ हो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद यज्ञमणि न्यौपानेले संविधान दिवसका अवसरमा रास्वपा संविधानको स्टेकहोल्डर भएको दाबी गर्दै संविधान निर्माणमा दबाब दिएको बताए ।
  • उनले पुराना दलले संविधानको मर्मअनुसार प्रणाली कार्यान्वयन नगरेको आरोप लगाउँदै आफ्नै सरकार भए पनि संविधान विपरीत गए खबरदारी गर्ने बताए ।
  • उनले प्रश्न गर्ने अधिकार संविधान र लोकतन्त्रको आधार भएको भन्दै त्यसलाई कुण्ठित गरिए निरंकुशता जन्मिने उल्लेख गरे ।

३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले रास्वपा पनि संविधानको ‘स्टेकहोल्डर’ भएको दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा उनले संविधान निर्माणका क्रममा आफूहरूले सार्वजनिक रूपमा संविधान निर्माण प्रक्रिया नरोक्न दबाब दिएको बताए ।

रास्वपाको उदय नै संविधान कार्यान्वयन र संविधानका मूल्य–मान्यतालाई नागरिक तहसम्म पुर्‍याउने उद्देश्यले भएको दाबी उनको थियो ।

‘स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेकहोल्डर हो । कसरी र किन भन्ने प्रश्न उठ्ला । हिजो संविधान निर्माण गर्दै गर्दाखेरि पुराना राजनीतिक दलका तिगडमबाज गर्ने नेताहरूले संविधान बन्न नदिएर धमिलो पानीमा माछा मार्दै थिए,’ सांसद न्यौपानेले भने, ‘हामी नै हो त्यतिखेर टुँडिखेलमा करायौँ होला, खुल्ला मञ्चमा बोल्यौँ होला, सडकमा उठ्यौँ होला । खबरदार संविधान निर्माण क्रम नरोक, रोक्दै नरोक । यदि तिमीले संविधान निर्माण रोक्यौ भने तिमीलाई सदनबाट बाहिर निस्किने अधिकार छैन भनेर बोल्ने हामी नै हौँ, आज ती हामीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा छौं ।’

पुराना राजनीतिक दलहरूले संविधानको मर्मअनुसार प्रणाली कार्यान्वयन नगरेको उनको आरोप छ । आफ्नै दल सरकारमा भएपनि संविधान विपरित गएमा खबरदारी गर्ने उनले बताए । संविधानले प्रश्न गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई कुण्ठित गरिए निरंकुशता जन्मिने सांसद न्यौपानेको भनाइ छ ।

‘प्रश्न गर्ने अधिकार संविधानले दिएको हो । प्रश्न गर्ने अधिकार लोकतन्त्र हो। प्रश्न गर्ने अधिकारलाई कसैले कुण्ठित गर्यो भने निरङ्कुशता जन्मन्छ । आफ्नै सरकार छ, आफ्नै प्रश्न किन ? तर हामीले नजानेर प्रश्न गरेको होइन । नबुझेर प्रश्न गरेको होइन । प्रश्नबाट कहिल्यै भाग्दैनौँ र प्रश्न गर्न छोड्दैनौँ । हामीलाई प्रतिपक्ष नभन्नुहोला, रचनात्मक सत्तापक्ष हो,’ उनले भने ।

संसदलाई लोकतन्त्र, विधिको शासन र मानव अधिकारको संरक्षण गर्ने संस्थाका रूपमा प्रभावकारी बनाउन आफूहरूले रचनात्मक भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।

‘नसम्झिनू राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेकाले संविधानका पक्षधर होइनन् कि, संविधान संरक्षण गर्दैनन् कि, संविधानको मूल मर्म बुझ्दैनन् कि, संविधानमाथि प्रहार गर्छन् कि, यो कल्पना पनि नगर्नुहोस् । यो हामीले प्राप्त गरेको दस्तावेज हो, तपाईँहरू मार्फत खोसेर लिएको हो,’ उनले भनेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?