Comments Add Comment

अचेत भेटिएको युवतीको मृत्यु, बलात्कारको आशंका

२३ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ६ स्थित किसाननगरमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।

युवतीको उपचारको क्रममा वैशाख २० गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास नगरपालिका ६ स्थित रातुखोलाको बगरमा युवती अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शरीरको विभिन्न भागमा गहिरो चोट लागेको, कम्मरको हड्डी भाँचिएको, पाठेघरमा चोटको कारण रक्तस्राव भएको अवस्थामा युवती फेला परेकी थिइन् ।

डीएसपी निशान्त थापाले युवतीलाई तत्कालै उद्दार गरी अञ्चल अस्पताल जनकपुर पठाइएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको बताए ।

स्थानीयले युवतीको बलात्कार भएको आशंका गरेका छन् । हालसम्म परिचय खुलेको छैन । जनकपुर अञ्चल अस्पताल स्रोतका अनुसार बलात्कारको कारण युवतीको पेल्बिक हड्डी भाँचेको र पाठेघरमा समेत गहिरो चोट लागेको छ ।

घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि थप केही भन्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment