News Summary
Generated by OK AI. Editorially reviewed.- उदयशमशेर राणा नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट २ हजार ३१० मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका छन्।
- उनले खानदानबाट कांग्रेसको उपल्लो तहमा पुग्ने दोस्रो व्यक्ति बनेका छन्, यसअघि सुवर्णशमशेर कांग्रेस सभापति र अन्तरिम सरकारका प्रधानमन्त्री भएका थिए।
- उदयशमशेरले पार्टीलाई एकताबद्ध गर्दै आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
२६ असोज, काठमाडौं । २००७ सालमा जहानियाँ राणा शासनविरुद्धको क्रान्ति सफल भएपछि राणा र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भयो । उक्त सरकारको नेतृत्व अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले गरे ।
कांग्रेसका तर्फबाट भने बीपी कोइरालाले संयुक्त सरकारको गृह मन्त्रालय सम्हालेका थिए । त्यही सरकारमा प्रधानमन्त्री मोहनशमशेरका सहोदर भाइ बबरशमशेर रक्षामन्त्री बनेका थिए ।
बबरशमशेर कांग्रेससँग सहज सम्बन्ध राख्ने व्यक्तिका रूपमा चिनिँदैनथे । ऐतिहासिक विवरणहरूमा उनलाई कांग्रेसप्रति कठोर नीति अपनाउने राणा पक्षका प्रभावशाली व्यक्तिका रूपमा चित्रण गरिएको छ ।
तिनै बबरशमशेरका छोरा मृगेन्द्रशमशेरका नाति उदयशमशेर राणा नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका छन् । उदयशमशेर राणा खानदानबाट कांग्रेसको उपल्लो तहमा पुग्ने दोस्रो व्यक्ति हुन् ।
उनीअघि सुवर्णशमशेर कांग्रेसको सभापति तथा पार्टीका तर्फबाट अन्तरिम सरकारका प्रधानमन्त्री (अध्यक्ष) भइसकेका नेतामा पर्छन् । उनी मोहनशमशेर नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री थिए ।
अहिले महामन्त्रीमा निर्वाचित उदयशमशेरले पनि अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०७४ भदौमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा अर्थ राज्यमन्त्री नियुक्त भएका थिए ।
१५औं महाधिवेशनका लागि कांग्रेसले गठन गरेको केन्द्रीय निर्वाचन समितिका अनुसार उदयशमशेर २ हजार ३१० मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले २ हजार २५७ मत ल्याएका छन् ।
उदयशमशेर बबरशमशेरका नाति सागरशमशेर (मृगेन्द्रशमशेरका छोरा) का छोरा हुन् । बबरशमशेर राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा तथा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका सहोदर भाइ हुन् ।

सागरशमशेर शिक्षाविद् मृगेन्द्रशमशेरका छोरा, जनरल बबरशमशेरका नाति र राणा प्रधानमन्त्री चन्द्रशमशेरका पनाति हुन् । उनी इतिहासकार पनि हुन् ।
दुई वर्षअघि सागरशमशेरको दोस्रो पुस्तक ‘किङडम लस्ट’ को विमोचन भएको थियो । उनले पुस्तकमा नेपालको प्रजातन्त्र प्राप्ति गर्ने क्रममा भएका प्रयासबारे उल्लेख गरेका छन् ।
पुस्तकमा सन् १९५१ देखि २००८ सम्मको राजनीतिक घटनालाई समेटिएको छ । सागरशमशेरले आफ्नो पहिलो पुस्तक ‘सिंहदरबार’ मा नेपालमा राणा शासनको सुरुवात र अन्त्यबारे लेखेका थिए ।
बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि उनी पनि राजनीतिमा सक्रिय भएका थिए । सागरशमशेर कांग्रेस ललितपुरका पूर्वसभापति पनि हुन् ।
सागरशमशेर जबरा र बृन्दा राणाको कोखबाट २७ फेब्रुअरी १९७० मा जन्मिएका ललितपुरका उदयले प्ररम्भिक शिक्षा सेन्ट जेभियर स्कुल (ललितपुर)बाट लिए । उनले माध्यमिक शिक्षा सेन्ट जोसेफ्स कलेज (नर्थ प्वाइन्ट) दार्जिलिङ र हाई स्कुल द लरेन्सस् स्कुल, सनावर (भारत)बाट गरे ।
उदयशमशेरले भारतको दिल्लीस्थित सेन्ट स्टेफन्स कलेजबाट स्नातक र अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनको शोधप्रबन्ध नेपालको परराष्ट्र नीति तथा भारत र चीनसँगको सम्बन्धमा केन्द्रित थियो ।
नेपालको सम्भ्रान्त ‘ए’ वर्गको राणा परिवारमा जन्मिएका उदयशमशेर अध्ययनका लागि ९ वर्षमै नेपाल छाडेर गएका थिए । अध्ययनपछि स्वदेश फर्किंदा उनी २५ वर्षका थिए ।
भारतमा विद्यार्थी जीवनदेखि नै पञ्चायती व्यवस्थाविरोधी राजनीतिमा सक्रिय उदयशमशेर नेपाल विद्यार्थी संघ, दिल्लीका संस्थापक अध्यक्षसमेत हुन् । स्वदेश फर्किएपछि उनी स्थानीय राजनीतिक क्रियाकलापमा सक्रिय बनेका थिए ।
सन् १९९८ सम्म नेपाल तरुण दल ललितपुरका अध्यक्ष रहेका उदयशमशेरले सन् २०१२ देखि २०१६ सम्म तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
अर्थ राज्यमन्त्री रहिसकेका उदयशमशेरले प्रतिनिधिसभाको अर्थ समितिमा रहेर सार्वजनिक खरिद, बैंक तथा वित्तीय संस्था र सहकारीसम्बन्धी कानुन निर्माणमा योगदान पुर्याएका छन् ।
ललितपुर–१ बाट २०७० र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित उदयशमशेर पहिलो संविधानसभा निर्वाचनदेखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

पहिलो संविधानसभा निर्वाचन २०६४ र प्रतिनिधिसभा निर्वाचन २०७४ मा ललितपुर–१ बाटै चुनावी मैदानमा होमिएका उनी जित निकाल्न असफल रहे ।
उदयशमशेर कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सहमहामन्त्री निर्वाचित भएका उनी कांग्रेसको संगठन र नीतिगत राजनीतिमा सक्रिय छन् ।
उदयशमशेरले अमेरिकाको कर्नेल विश्वविद्यालयमा नेपालले भारत र चीन सम्बन्धमा केन्द्रित परराष्ट्र नीतिसम्बन्धी शोधप्रबन्ध तयार गरेका छन् । उनी नेपाली तथा अंग्रेजी सञ्चार माध्यममा विचारमूलक र विश्लेषणात्मक लेख लेख्दै आएका छन् ।
१५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि उदयशमशेरले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । महाधिवेशन नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभएर नयाँ नीति तथा कार्यक्रम तय गरेर पार्टीलाई अघि बढाउने अवसरसमेत भएको उनको भनाइ छ ।
महामन्त्री उदयशमशेरले महाधिवेशनको प्रतिस्पर्धालाई आन्तरिक तथा मैत्रीपूर्ण प्रतिस्पर्धाका रूपमा लिनुपर्ने उल्लेख गर्दै कसैको जित र कसैको हारका रूपमा बुझ्न नहुने बताए ।
निर्वाचनमा कम मत ल्याएका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ । महामन्त्री उदयशमशेरले विशेष महाधिवेशनले दिएको रूपान्तरणको ‘म्यान्डेट’अनुसार जनतामाझ पुग्ने नीति तथा कार्यक्रम ल्याएर कांग्रेसलाई अघि बढाइने बताए ।
१४औं महाधिवेशनमा क्रियाशील सदस्य रहेका अधिकांश सदस्यले १५औं महाधिवेशनमा सहभागिता जनाएको उल्लेख गर्दै उनले महाधिवेशनमा सहभागी हुन नसकेका नेताहरूलाई समेत नयाँ नेतृत्वले समेट्ने प्रयास गर्ने बताए ।
कांग्रेसको १५औं महाधिवेशनबाट उदयशमशेरसँगै प्रदीप पौडेल र डा. डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका छन् । नेता पौडेल विशेष महाधिवेशनबाट महामन्त्री र संग्रौला सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।
प्रतिक्रिया 4