२६ असोज, काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले उद्योग–व्यवसायमा मात्रै होइन, राजनीतिमा पनि निरन्तर छलाङ मारिरहेका छन् । तर उनको राजनीतिक यात्राको एउटा रोचक पक्ष छ– उनी पटक–पटक समावेशी कोटाबाट पद हासिल गर्दै आएका छन् ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित भएका छन् । १ हजार ७४५ मत प्राप्त गर्दै उनी उपसभापति बनेका हुन् । यससँगै उद्योगीबाट राजनीतिमा प्रवेश गरेका चौधरीको यात्रा एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म आइपुगेको छ ।
फोर्ब्स म्यागेजिनले सन् २०२५ मा सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर थियो । उक्त सूचीमा उनी विश्वका धनाढ्य व्यक्तिहरूमध्ये १ हजार ९८२औँ स्थानमा थिए ।
७० वर्षीय चौधरीले विगतमा नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका छन् । चौधरी ग्रुप र सीजी कर्प ग्लोबलका अध्यक्ष चौधरी मातहत १६० कम्पनी छन् । १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन् । पाँच वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ । चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा रहेको सीजी कर्प ग्लोबलको दाबी छ ।
एमालेबाट औपचारिक राजनीति सुरु, कांग्रेसमा निरन्तर उकालो
पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए । चौधरीले २०६४ सालमा नेकपा एमालेबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका थिए । पहिलो संविधानसभा निर्वाचनपछि उनी एमालेको समानुपातिक सूचीबाट सभासद बने । यसरी उनको संसदीय प्रवेश प्रत्यक्ष निर्वाचनभन्दा समानुपातिक प्रतिनिधित्वको बाटोबाट भएको थियो ।
२०७४ सालमा उनी नेपाली कांग्रेसको औपचारिक राजनीतिमा लागे । कांग्रेसमा आएपछि पनि उनले समावेशी प्रतिनिधित्वकै बाटोबाट पार्टीको केन्द्रीय राजनीतिमा स्थान बनाए । कांग्रेसको १४औँ महाधिवेशनमा उनी मधेशी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनले २ हजार २०६ मत प्राप्त गरेका थिए ।
चुनावी पराजयपछि पनि पार्टी राजनीतिमा सफलता
चौधरी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, जेनजी आन्दोलनपछि २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग पराजित भए ।
प्रत्यक्ष निर्वाचनमा पराजित भए पनि उनको पार्टीभित्रको राजनीतिक यात्रा रोकिएन । बरु कांग्रेसको आन्तरिक समीकरणमा आएको परिवर्तनसँगै उनले आफ्नो राजनीतिक स्थान थप बलियो बनाएका छन् ।
सुरुमा शेरबहादुर देउवा समूहमा रहेका चौधरी जेनजी आन्दोलनपछि गगन थापा समूहमा लागेका थिए । गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएका उनी अहिले १५औँ महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमितिमा उपसभापति बनेका छन् ।
कांग्रेसको समावेशी उपसभापति पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरे ।
कांग्रेसको खुला उपसभापति पदमा चन्द्र भण्डारी ३ हजार ७३५ मतसहित विजयी भए भने मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरे । महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था छ ।
प्रतिक्रिया 4