Comments Add Comment

विद्यार्थीबाट शुल्क असुल्दै दार्चुलाका सामुदायिक विद्यालय

२५ वैशाख दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ ।

महेन्द्र नमूना माध्यामिक विद्यालयले अभिभावक सहयोगको नाममा विद्यार्थीहरुबाट शुल्क लिने गरेको हो । विद्यालयले प्रतिविद्यार्थी एक सय देखि ६५० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको छ ।

अभिभावकहरुको सहमतिमा विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए । विद्यार्थीहरुको चाप बढेकोले विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग उठाउनु परेको उनको भनाइ छ ।

विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुने गरेको छ । नेपाली माध्यममा भन्दा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुबाछ बढी शुल्क लिने गरिएको छ ।

कक्षा ५ भन्दामुनिको कक्षामा अभिभावक शुल्क नलिने गरेको र त्यो भन्दा माथिल्लो कक्षामा एक सयदेखि २२० रुपैयाँसम्म शुल्क लिने गरेको प्रधानाध्यापक जोशीले स्वीकार गरे ।

कक्षा ६ देखि ८ सम्म एक सय र कक्षा ९, १० मा २ सय २० रुपैयाँ अभिभावक शुल्क लिने गरेको उनले बताए  ।

अंग्रेजी माध्यममा पढ्ने शिशु कक्षामा २५० रुपैयाँ र त्यो भन्दा माथिल्लो कक्षाहरुमा कक्षा पिच्छे ५० रुपैयाँले वृद्धि गरी शुल्क लिने गरेको प्राधानाध्यापक जोशीले जानकारी दिए ।

रसिद दिइँदैन 

विद्यालयले अभिभावक सहयोगको नाममा प्रतिविद्यार्थीबाट रकम लिने भए पनि रसिद भने नदिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

थोरै रकम भएकोले रसिद नदिएको प्रधानाध्यापक रामदत्त जोशीको भनाइ छ । ‘विद्यालयले रसिद दिनै हुँदैन भन्ने त होइन, तर सहयोग रकम थोरै भएकाले के रसिद दिने भनेर नदिएका हौँ,’ उनले भने ।

यता शैक्षिक नगरी अभियान चलाएको महाकाली नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुले पनि विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएको छ ।

नगरपालिकामा आयोजित एक कार्यक्रममा विद्यालयले शुल्क लिने गरेको भन्ने प्रश्नमा नगरप्रमुख हंसराज भट्टले भने जानकारी नै नभएको बताए । ‘कुन विद्यालयले लिएको त्यसको बारेमा मलाई जानकारी नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment