Comments Add Comment

मुख्यमन्त्रीले लिए मीनालाई पढाउने जिम्मा

२५ वैशाख, पोखरा । पोखरा महानगरको ल्यान्डफिल्ड साइटमा काम गर्दै अध्ययनखर्च जुटाइरहेकी मीना घर्तीमगरको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्येहोर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार आफ्नै निवासमा डाकेर मीनाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन् ।

वैशाख १८ गते विश्व श्रमिक मजदुर दिवसका अवसरमा नारी जागरण अभियानले मीनासहित ५ जना श्रमिकलाई सम्मान गरेको थियो । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले कालिका सेकेन्डरी स्कुलमा कक्षा ११ मा विज्ञान विषय पढिरहेकी मीनाको १२ कक्षासम्मको पढाइ खर्च व्यहोर्ने आश्वासन दिएका थिए ।

‘सुरुमा १२ सम्मको मात्रै पढाइ खर्च मुख्यमन्त्रीले व्यहोर्ने भन्नुभएको थियो । तर मीनाको पारिवारिक स्थितिबारे बुझेपछि जुनसुकै विषय, जहाँसम्म पढे पनि व्यहोर्ने हुनुभयो,’ जागरण अभियानकी संयोजक अञ्जु क्षेत्रीले भनिन् ।

यो पनि पढ्नुहोस बिहान विज्ञान पढ्ने, दिनभरि फोहोर केलाउने

मीना घर्तीमगर महानगरको ३ वर्षदेखि ल्यान्डफिल्ड साइटमा काम गर्दै आएकी छिन् । उनले त्यहाँ फोहोर छुट्याउने काम गर्छिन् । उनी त्यस कामबाट दैनिक ४÷५ सय कमाइ हुने बताउँछिन् । ‘मेरो ३ जना भाइ बहिनी छन् । ७ जनाको परिवारलाई यही फोहोर बटुलेरै जीवन चलाइराछौं,’ उनी भन्छिन् ।

‘सधैं त्यही काम नगर्नुपरे हुन्थ्यो’ भन्ने मीनाको चाहना हो । फोहोरको दलदलबाट निस्केर प्रतिष्ठित जीवन बाँच्ने उनको उद्देश्य छ । ‘त्यही भएर पढ्दैछु । परिवार वर्षौंदेखि यही फोहोर केलाउँदै हुर्कियो । अब म पढेर परिवारका लागि केही गर्छु,’ उनी सुनाउँछिन् ।

श्रमिक दिवसमा १२ सम्ममात्रै पढाइ खर्च व्यहोरिदिने घोषणा गरेका मुख्यमन्त्रीले ‘जति पढेपनि, जे पढेपनि’ सबै व्यहोरिदिने भनेपछि मख्ख छिन्, मीना । ‘सोचेकै थिइनँ । मलाई त कस्तो गर्विलो महसुस भइराको छ,’ उनी सुनाउँछिन् ।

कक्षा ११ को अन्तिम परीक्षा नजिक आइराखेको र अहिले आफू त्यसैको तयारी गरिरहेको उनी बताउँछिन् । ‘अब भविष्यमा जे पढे पनि पढ्न सक्छु भन्ने आँत मुख्यमन्त्रीले दिनुभएको छ । अहिले परीक्षाकै तयारीमा छु । पछि के पढ्ने र के बन्ने त्यसपछिमात्रै सोच्ने छु,’ उनले योजना सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment