Comments Add Comment

मेलम्चीको बाँकी काम तत्काल सुरु गर्न संसदीय समितिको निर्देशन

१ जेठ, काठमाडौं । संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकाबासीको प्रतीक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाइ नीति र सो सम्बन्धी ऐन शीघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताइन् ।

बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाइएको दावी पनि गरिन् ।

इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकी काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment