Comments Add Comment

सांसदले भने- मन्त्रीका छोराछोरी सरकारी स्कुलमा पढाउनुपर्छ

२ जेठ, जनकपुरधाम । प्रदेशको २ को संसदमा मन्त्रीका छोराछोरीलाई सरकारी स्कुलपमा पढाउनुपर्ने आवाज उठेको छ । त्यतिमात्रै होइन सत्तारुढ सांसदले नै सरकार परिपक्व नभएको भन्दै आलोचना गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल कांग्रेसका सांसद शेष रसिद अलीले प्रदेश मन्त्रीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने धारणा राखे । प्रदेश २ मा शिक्षाको अवस्था एकदमै कमजोर रहेको भन्दै उनले शिक्षा क्षेत्र सुधार्न पहिले मन्त्रीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताएका हुन् ।

सांसद अलीले शिक्षा जस्तै कृषिको अवस्था पनि विग्रेको भन्दै कृषकको अवस्था सुधार्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले कृषकले आफ्ना छोरालाई कृषक नै बनाउँछु भन्ने वातावरण सृजना नभएसम्म प्रदेश समृद्ध हुन नसक्ने जिकिर गरे । उनले समयमा मलखाद, उन्नत बिउ र सिँचाइको व्यवस्था गर्नुपर्ने बताए ।

उनले प्रदेशको नाम, राजधानी र भाषाको विषय टुंग्याउने प्रयाससमेत नगरेको भन्दै सरकारको आलोचना गरे ।

बैठकमा सत्तारुढ राजपाका सांसद बाबुलाल साहले लामो समय वितिसक्दा पनि सरकार परिपक्व नभएको भन्दै भद्र सहमतीका विषयमा सरकार चुकेको टिप्पणी गरे । उनले वीरगन्जमा मधेसी सहिद पार्क बनाउनु थिएन भने किन शिलान्यास गरेको भन्दै प्रश्नसमेत गरे ।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रतिपक्षलाई विश्वासमा लिएर अगाडि नबढेसम्म प्रदेश समृद्ध हुन नसक्ने बताए ।

प्रमुख प्रतिपक्षी नेकपाका सांसद रामकुमार यादव र डिल्लीप्रसाद उप्रेतीले सिरहाको मारुती उद्योग छेउछाउका सयौं विघा जग्गा भुमाफियाहरुले कब्जा गरेको, गुणस्तरहीन सडक तथा विकास निर्माणका काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment