Comments Add Comment

सगरमाथा चुचुरोमा कसैले बिहे गरे, कोही अर्धनग्न

सगरमाथा आरोहणका दर्जन रोचक कीर्तिमान

४ जेठ, काठमाडौं । सगरमाथामा मानव पाइला पुगेको ६६ वर्ष पुगेको छ । २९ मे १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथा चुचुरो चुमेसँगै अहिलेसम्म करीव ६ हजार आरोहीले सफल आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार बसन्त ऋतुमा आरोहण गर्न यतिबेला ३६ समूहमा ३ सय ६६ विदेशी र ६ समूहमा १३ नेपाली सगरमाथामा छन् । उनीहरुको साथमा झण्डै दोब्बर नेपाली सहयोगी तथा शेर्पाहरु सगरमाथामा पुगेका छन् ।

३१ बैशाखमा यस सिजनका लागि ‘रोप फिक्सिङ टोली’ चुचुरोमा पुगेसँगै आरोहण शुरु भएको छ । सगरमाथा आधार शिविरमै रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार शुक्रबार आरोहण थिएन । त्यसअघि यस सिजनमा मात्र झण्डै डेढ सय आरोही चुचुरोमा पुगिसकेका छन् ।

सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा

गत बुधबार कामीरिता शेर्पा २३ औं पटक सगरमाचा चुचुरोमा पुगे । उनी सबैभन्दा धेरै सगरमाथा चुचुरो पुग्ने आरोही हुन् । आप्पा शेर्पा, फूर्वातासी शेर्पा र ङमिा नुरु शेर्पाले २१/२१ पटक आरोहण गरिसकेका छन् ।

सगरमाथा आरोहणको प्रयास सन् १९२० को दशकमै शुरु भएको थियो । तर, प्रविधिको कमी, भौगोलिक कठिनाई र मौसमी अनिश्चितताका कारण आरोहण सम्भव भइरहेको थिएन् । पर्यटन विभागका अनुसार सन् १९२२ मा आरोहण प्रयास गर्दा आएको हिमआँधीमा परी ७ शेर्पाले ज्यान गुमाएका थिए ।

पछिल्लो समय सगरमाथा चढ्ने संख्या बढेसँगै किर्तिमानको होड पनि चलिरहेको छ । नयाँ र रोचक किर्तिमान खडा गरेर चर्चामा आउने प्रयासमा छन् आरोहीहरु । हामीले एक दर्जन यस्तै किर्तिमानहरु यहाँ उल्लेख गरेका छौं :

१. पहिलो आरोहण

२९ मे १९५३ मा सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला पर्‍यो । न्यूजिल्याण्डका आरोही सर एडमण्ड हिलारी र नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पाले यो सफलता हासिल गरेका थिए । हिलारीका भरियाका रुपमा तेन्जिङ सगरमाथा उक्लेका हुन् ।

२. दुई पटक आरोहण गर्ने पहिलो आरोही

नवाङ गोम्बु शेर्पा सगरमाथा दुई पटक आरोहण गर्ने पहिलो आरोही हुन् । उनले २० मे १९६५ मा दोस्रो पटक सगरमाथा चुचुरो चुमेका थिए । त्यसबेलासम्म जम्मा १७ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

३. महिलाबाट सफल आरोहण

सगरमाथामा पहिलोपटक महिला आरोहीले सन् १९७५ मा विजय प्राप्त गरे । जापानकी आरोही जुन्को तावेई यो कीर्तिमान राख्न सफल रहिन् । त्यसयता अहिलेसम्म ३ सय ५० भन्दा बढी महिला सगरमाथा चुचुरो पुगिसकेका छन् । पुरुष आरोहीको संख्या भने ५५ सयभन्दा माथि छ ।

४. बिना अक्सिजन सफल आरोहण

अष्ट्रियाका पिटर हाब्लर र इटालीका रेनहोल्ड म्यास्नरले ८ मे १९७८ मा पहिलोपटक अक्सिजनबिना सगरमाथाको सफल आरोहण गरे । न्यूजिल्याण्डकी लीडा ब्रेडीले १४ अक्टोवर १९८८ मा बिना अक्सिजन सफल आरोहण गर्ने महिला आरोहीको कीर्तिमान राखेकी छन् ।

५. विवाहित जोडीद्वारा एकसाथ आरोहण

पहिलोपटक विवाहित जोडीले एकसाथ सगरमाथा आरोहण गरेको कीर्तिमान स्लोभाकीयाली नागरिक आन्द्रेज र मारिजा स्ट्रीमफेलीजले ७ अक्टोवर १९९० मा राखेका थिए । मारिजा स्लोभेकियाकी पहिलो महिला आरोहीसमेत हुन् ।

६. बाबुछोरा एकसाथ चुचुरोमा

बाबुछोराद्वारा सगरमाथाको आरोहणको कीर्तिमान फ्रान्सेली नागरिक जेन नोइल रोसे र उनका छोरा रोसे बर्टट्रेन्डको नाममा छ । ७ अक्टोवर १९९० मा आरोहण सकेर फर्कने क्रममा उनीहरु साउथकोलबाट टेन्डम (जोडी) प्याराग्लाइडिङ गर्दै आधार शिविरमा झरेका थिए । सन् १९९२ मा दुई स्पेनिस दाजुभाई अल्ब्रेटो र फ्लीक्सले एकसाथ आरोहण गरी सहोदर दाजुभाईले आरोहण गरेको कीर्तिमान राखेका छन् ।

७. पहिलो नेपाली महिला आरोही

२३ अप्रिल १९९३ मा पहिलोपटक नेपाली चेलीले सगरमाथा आरोहण गरेको कीर्तिमान बन्यो । पासाङ ल्हामु शेर्पाले उक्त कीर्तिमान राखिन । आरोहण पुरा गरी झर्ने क्रममा उनको निधन भयो । १८ मे २००० मा लाक्पा शेर्पाले आरोहण गरी दोस्रो महिला आरोही बन्न सफल भइन् ।

८. अपांगता भएको व्यक्तिको सफल आरोहण

सन् १९९८ मा अमेरिकी नागरिक थोमस हृवीटकर सगरमाथा चढे । उनको एक खुट्टा कृत्रिम थियो । अर्का अमेरिकी नागरिक एरिक वेहृनमेयरले २५ मे २००१ मा सफल आरोहण गरी पहिलो दृष्टिबिहीन आरोही बन्न सफल भए ।

९. चुचुरोमा रात बिताउने आरोही

नेपालका बाबुछिरी शेर्पा सगरमाथा चुचुरोमा रात बिताउने एक मात्र आरोही हुन् । सन् १९९९ मा उनले चुचुरोमा २१ घण्टा बिताएका थिए । त्यसबेला उनले सबैभन्दा छिटो आरोहण (१६ घण्टा ५६ मिनेट) को पनि कीर्तिमान राखेका थिए ।

पेम्बा दोर्जी शेर्पा

अहिले भने सबैभन्दा छिटो आरोहण गर्ने कीर्तिमान पेम्बा दोर्जी शेर्पाको नाममा छ । उनले २१ मे २००४ मा ८ घण्टा १० मिनेटमा आधार शिविरबाट चुचुरोमा पुगेको कीर्तिमान बनाएका छन् ।

१०. चुचुरोमा विवाह

नेपाली जोडी मोनी मुलेपाती र पेम दोर्जीले ३० मे २००५ मा एकसाथ सगरमाथा आरोहण गरे र चुचुरोमै बिबाह गरे । सगरमाथा चुचुरोमै पुस्तक सार्वजनिक गर्ने कीर्तिमान आपा शेर्पा र लाक्पा शेर्पाको नाममा छ । उनीहरुले १६ मे २००७ मा ‘सगरमाथाको आधार शिविरबाट’ नामक पुस्तक सार्वजनिक गरेका थिए ।

११. चुचुरोमा अर्धनग्न

२४ मे २००६ मा सफल आरोहणपछि चुचुरोमा पुगेर निर्वस्त्र हुने आरोही हुन् लाक्पा थार्के शेर्पा । माइनस ४० डिग्री तापक्रम रहने सगरमाथा चुचुरोमा उनी ४ मिनेट शरीरको माथिल्लो भागको सबै कपडा फुकालेर बसेका थिए ।

१२. वृद्ध उमेरमा आरोहण

जापानका यूचिरो मिउराको नाममा सबैभन्दा वृद्ध उमेरमा सगरमाथा आरोहणको कीर्तिमान छ । उनले २३ मे २०१३ मा सगरमाथाको सफल आरोहण गरे ।

यसअघि उक्त कीर्तिमान नेपालका मिनबहादुर शेरचनको नाममा थियो । शेरचनले ५ मे २००८ मा ७६ वर्ष ११ महिना ६ दिनको उमेरमा आरोहण गरेका थिए । सन् २०१७ मा ८६ वर्षको उमरेमा दोस्रो पटक आरोहणमा जाने क्रममा आधार शिविरमै शेरचनको निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment