+
+
Shares

सगरमाथा : शक्ति राष्ट्रहरूको प्रविधि परीक्षणस्थल

नेपाल–चीन सीमामा अवस्थित सर्वोच्च शिखर सगरमाथाले विगत एक शताब्दीभन्दा बढी समयदेखि प्रविधि परीक्षण, अन्वेषण, प्रतिस्पर्धा, राष्ट्रिय गौरव र आधुनिक प्रविधिको भूराजनीतिक प्रयोगलाई एउटै शिखरमा जोडेको छ ।

कुम्भराज राई कुम्भराज राई
२०८३ वैशाख २० गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा आधारशिविरमा अमेरिकी कम्पनीले बिना अनुमति भारी बोक्न सक्ने ड्रोन परीक्षण गर्न खोजेको पुष्टि भएपछि सरकारले परीक्षण रोकेको छ।
  • सगरमाथामा ड्रोन र रोबोट प्रविधिको परीक्षणलाई शक्ति राष्ट्रहरूबीचको प्रविधि प्रतिस्पर्धाको रूपमा हेरिएको छ।
  • सगरमाथा नेपालका लागि प्राकृतिक सम्पदा, आर्थिक स्रोत र भूराजनीतिक संवेदनशीलताको केन्द्र बनेको छ।

सगरमाथा आधारशिविरमा शुक्रबारमात्रै बिना अनुमति एक अमेरिकन कम्पनीले गह्रौँ भारी बोक्न सक्ने ड्रोन परीक्षण गर्न खोजेको पुष्टि भएपछि सरकारी अधिकारीहरूले उक्त परीक्षणलाई रोकेको समाचार प्रसारण/प्रकाशन भएका छन् ।

उक्त ड्रोन परीक्षणको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका विशेष दूत सर्जिओ गोर पनि उपस्थित भएको बताइएको छ ।

उक्त कम्पनीले ड्रोनमात्र होइन, एउटा रोबोट नै आरोहणका लागि पठाउने प्रस्ताव पनि गरेको शनिबार ‘दी काठमाण्डु पोष्ट’ मा प्रकाशित समाचारमा उल्लेख छ । तर नेपालसँग हालसम्म कुनै गैरमानवलाई आरोहणमा पठाउन अनुमति दिने कानुनी व्यवस्था छैन ।

त्यसो त गतवर्ष नै एक चिनियाँ कम्पनी ‘डिजेआईले’ छ हजार मिटरभन्दा माथि उड्नसक्ने १५ किलो तौलसम्म बोक्ने ड्रोनको सफल परीक्षण नेपालतर्फको सगरमाथा आधारशिविरबाट गरिसकेको छ ।

चीनको यो सफलताबारे विश्वभर चर्चा भएको थियो । त्यसको एकवर्ष नबित्दै यसपटक अमेरिकी कम्पनीले सोही स्थानमा गर्न खोजेको ड्रोन परीक्षणलाई अन्तर्राष्ट्रियस्तरमा प्रविधिको आविष्कार मार्फत शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि

प्रथम विश्वयुद्धपछि बेलायती साम्राज्यवादी रणनीतिअन्तर्गत नै संसारका विभिन्न हिमालहरूको अन्वेषण तथा आरोहण सुरु गरिएको थियो ।

बेलायतीले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । दोस्रो विश्वयुद्ध पछि पनि उक्त अभियानले निरन्तरता पाइरह्यो ।

सन् १९२० देखि १९५० को दशकसम्म बेलायतसहित विभिन्न पश्चिमा मुलुकका आरोहीहरूले सगरमाथा आरोहणको प्रयास गरेका थिए । नेपालतर्फबाट आरोहण अनुमति लिन पटकपटक अनुरोध गरिएको थियो । राणाकालीन त्यो समय नेपालतर्फबाट आरोहणको अनुमति दिने व्यवस्था थिएन । त्यसैले ती सबै आरोहण प्रयास तिब्बततर्फबाट मात्र भएका थिए ।

जब सन् १९५० मा चीनले तिब्बतलाई आफ्नो बनायो त्यसपछि चीनतर्फबाट आरोहणका लागि अनुमति लिन कठिन भयो । प्रजातन्त्र आइसकेको नेपालतर्फबाट अनुमति खुला गरेसँगै सन् १९५३ मा न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरे ।

ब्रिटिश माउन्ट एभरेष्ट एक्सपीडिशन–१९५३ को उक्त आरोहण दल संयुक्त हिमालयन समिति अर्थात् अल्पाइन क्लब र रोयल जीओग्राफिक सोसाइटी दुवैलाई मिलाएर गठन गरिएको थियो ।

बेलायती कर्णेल जोन हन्ट नेतृत्वको सो आरोहण दलको सफलतालाई बेलायतले ठूलो प्रतिष्ठाको रुपमा प्रचार गर्‍यो । उक्त सफलतालाई बेलायतकी महारानी एलिजावेथ द्वितीयको राज्याभिषेककै समयमा औपचारिक रूपमा सार्वजनिक गरिएको थियो ।

शीतयुद्धकालीन शक्ति प्रतिस्पर्धामा त्यसलाई पश्चिमाका सफलताका रूपमा व्याख्या गरिएको थियो । चन्द्रमा पुग्ने योजना सुरु हुनुपूर्व सगरमाथाको शिखरमा पुग्नुलाई मानव साहसको उपल्लोस्तरको संज्ञा दिइएको थियो । सन् १९५३ यता सगरमाथामा आठ हजार भन्दा बढी मानव पाइला टेकिसकिएका छन् ।

भूराजनीतिक शक्ति र विश्व प्रतिष्ठा

सगरमाथा केवल पृथ्वीको सबैभन्दा अग्लो शिखर मात्र होइन । यो आजको अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति, प्रतिष्ठा र रणनीतिक प्रभावको अदृश्य केन्द्र पनि बन्दै गएको छ ।

नेपाल–चीन सीमामा अवस्थित यस हिमालले विगत एक शताब्दीभन्दा बढी समयदेखि अन्वेषण, प्रतिस्पर्धा, राष्ट्रिय गौरव र आधुनिक प्रविधिको भूराजनीतिक प्रयोगलाई एउटै शिखरमा जोडेको छ ।

नेपालका सन्दर्भमा सगरमाथा केवल प्राकृतिक सम्पदा मात्र होइन, यो राष्ट्रको पहिचान, अर्थतन्त्र र कूटनीतिक संवेदनशीलताको पनि प्रतीक हो ।

सन् १९६१ मा नेपाल र चीनबीच भएको सीमा सन्धिले सगरमाथालाई औपचारिक रूपमा दुई देशबीचको सीमारेखा–शिखरका रूपमा स्थापित गर्‍यो । यसले सगरमाथालाई विश्वकै दुर्लभ ‘सेयर्ड सोभेरेग्निटी पिक’ मध्ये एक बनायो, जहाँ एउटै शिखर दुई राष्ट्रको सीमाको रूपमा उभिएको छ । लामो समयसम्म नेपालले यसको उचाइ ८,८४८ मिटर र चीनले ८,८४४.४३ मिटर दाबी गर्‍यो ।

पछि सन् २०२० मा दुवै देशले यसको सर्वमान्य वैज्ञानिक विधिबाट मापन गरी संयुक्त रूपमा ८,८४८.८६ मिटर घोषणा गरे । यो संयुक्त घोषणा दुई देशबीच सहयोग र समन्वयको प्रतीक बन्यो ।

कहिलेकाहीँ सगरमाथा क्षेत्रमा तिब्बती स्वतन्त्रता समर्थक गतिविधि पनि हुने गरेको बताउँदै चीनले तिब्बती क्षेत्रमा कडा निगरानी राख्दै आएको छ ।

चीनका लागि सगरमाथा संवेदनशील क्षेत्र हो । भारत र चीन दुवैले सगरमाथाको सफल आरोहणलाई राष्ट्रिय गौरवको विषय बनाउने गरेका छन् ।

शीतयुद्धकालदेखि एसियाली शक्ति प्रदर्शनको प्रतीकका रूपमा सगरमाथाको प्रयोग हुँदै आएको छ ।

नेपालका लागि सगरमाथा केवल पर्यटनको स्रोत होइन, यो चीनसँगको संवेदनशील भूराजनीतिक सम्बन्धको केन्द्र पनि हो । चीनले तिब्बत क्षेत्रको सुरक्षा र प्रशासनिक नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्ने भएकाले सगरमाथाको उत्तरी भाग रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

नेपालतर्फ भने खुम्बु क्षेत्रबाट हुने आरोहण, पदयात्रा पर्यटन र शेर्पा अर्थतन्त्रले देशको विदेशी मुद्रा आर्जनमा ठूलो योगदान पुर्‍याउने गरेको छ । यसरी सगरमाथा दुई देशबीच ‘सफ्ट बोर्डर डिप्लोमेसी’को प्रतीक बनेको छ, जहाँ सीमाको संवेदनशीलता, सहयोग र प्रतिस्पर्धा समानान्तर रूपले अघि बढेको छ ।

प्रतिष्ठाको राजनीति : ‘सफ्ट पावर’ प्रतिस्पर्धा

आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा सगरमाथा एक ‘सफ्ट पावर’ शक्ति प्रदर्शन केन्द्र बनेको छ । अमेरिका, चीन, भारत, बेलायत, जापान लगायतका देशहरूले सगरमाथा सफल आरोहणलाई आफ्नो राष्ट्रिय क्षमता, वैज्ञानिक प्रगति र मानव साहसको प्रतीकका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

उदाहरणका लागि चीनले पछिल्ला वर्षहरूमा उच्च उचाइ ड्रोन, रोबोटिक्स र मौसम अनुसन्धान प्रविधि सगरमाथा क्षेत्रमा परीक्षण गरेको छ ।

त्यस्तै, पश्चिमी कम्पनीहरूले पनि उच्च उचाइ प्रविधिको परीक्षण सगरमाथालाई प्रयोग गर्ने प्रयास गरेका छन् ।

यसले सगरमाथालाई केवल पर्वतारोहणको स्थल होइन, उच्च उचाइ प्रविधि परीक्षण केन्द्र (हाइ अल्टिच्यूड इनोभेसन फ्रन्टियर) बनाएको छ । कुनै देशको आरोही सगरमाथा चढ्नु भनेको, हाम्रो देशका मानिस सक्षम छन्, हाम्रो देशको प्रविधि र तालिम उत्कृष्ट छ भनेर सन्देश दिनु समेत हो ।

हालका वर्षहरूमा सगरमाथामा देखिएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन प्रविधिको प्रवेश हो । ड्रोन, रोबोट र एआईमा आधारित उपकरण प्रयोग गरी हिमनदी व्यवस्थापन, फोहोर सङ्कलन र आपूर्ति प्रणाली सञ्चालन हुन थालेका छन् ।

चीनले भारी–लिफ्ट ड्रोन परीक्षण गरेर उच्च उचाइमा सामग्री ढुवानी सम्भव भएको प्रमाणित गरिसकेको छ । गतवर्ष डिजेआईले गरेको परीक्षणमा समेत एकजना शेर्पाले १२ किलो बोकेर छ–सात घण्टामा पार गर्ने दूरी ड्रोनले १० मिनेटमा सम्पन्न गरेको थियो ।

अमेरिकालगायतका देशले प्रविधिमा को अघि भन्ने हेतुले पनि प्रतिस्पर्धा सुरु गरेका छन् । यो प्रवृत्तिले सगरमाथालाई नयाँ किसिमको प्रतिस्पर्धात्मक क्षेत्रमा रूपान्तरण गरेको छ, जसलाई आज ‘टेक्नोलोजिकल जिओपोलिटिक्स अफ हिमालय’ पनि भन्न सकिन्छ ।

सगरमाथालाई जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय वातावरणीय राजनीतिको केन्द्र पनि मानिँदै आएको छ । हिमनदी पग्लने, फोहोर व्यवस्थापन आदि विषयमा अन्तर्राष्ट्रिय दबाब बढ्दो छ । संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले हिमाललाई ‘जलवायु संवेदनशील क्षेत्र’ घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय वातावरणीय अध्ययनहरूका अनुसार हिमालय क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा तीव्र छ । यसले हिमनदी पग्लने, हिमपहिरो बढ्ने र आरोहण जोखिम बढाउने समस्या ल्याएको छ ।

यस सन्दर्भमा सगरमाथा अब केवल हिमाल मात्र होइन, ‘ग्लोबल क्लाइमेट डिप्लोमेसी’को प्रतीक पनि बनेको छ । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालसँग मिलेर फोहोर व्यवस्थापन, दिगो पर्यटन तथा कार्बन उत्सर्जन नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपालको पर्यटन र अर्थतन्त्र

नेपालका लागि सगरमाथा आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ । यसले शेर्पा समुदायको रोजगारीसँग प्रत्यक्ष भूमिका निर्वाह गरेको छ ।

ट्रेकिङ व्यवसाय, हेलिकप्टर सेवा, गाइड र पोर्टर उद्योग सबै सगरमाथामा निर्भर छन् । यसले सगरमाथालाई नेपालको पर्वतीय पर्यटनमा आर्थिक मेरुदण्डको भूमिका निर्वाह गर्दै आएको छ ।

नेपालका लागि सगरमाथासँग जोडिएका मुख्य चुनौती भनेको पर्यटक व्यवस्थापन, वातावरणीय क्षति, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, सीमासँग सम्बन्धित संवेदनशीलता रहेका छन् ।

चुनौती मात्र होइनन्, उत्तिकै ठूला अवसर पनि छन् । दिगो हिमाली पर्यटनको विकास, प्रविधिमा आधारित हिमाली पर्यटन व्यवस्थापन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन तथा शेर्पा समुदायको सशक्तिकरणमा थप काम गर्न सके यसले समग्र राष्ट्रलाई टेवा पुग्ने देखिन्छ । त्यसैले बढीभन्दा बढी अवसरका रुपमा उपयोग गर्न जरुरी छ ।

सगरमाथा आज हिमाल मात्र नभएर भूराजनीतिक शक्ति, प्रविधिको प्रतिस्पर्धा, आर्थिक अवसर र विश्व प्रतिष्ठाको संयुक्त केन्द्र हो । नेपालका लागि यो सम्पत्ति मात्र होइन, रणनीतिक जिम्मेवारी पनि हो । यसले के पुष्टि गरेको छ भने प्राकृतिक सम्पदाको पनि अन्तर्राष्ट्रिय राजनीति, प्रविधि र आर्थिक प्रणालीसँग गहिरो सम्बन्ध रहेको हुन्छ । सगरमाथा यस्तो स्थान हो, जहाँ प्रकृति र राजनीति दुवै जोडिएका छन् । यसको सही व्यवस्थापन र उपयोग गर्न सक्दा नेपालले विश्व मानचित्रमा आफ्नो प्रतिष्ठालाई पनि स्थापित गराउन सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?