+
+
Shares
पण्डित दिनबन्धु पोखरेलसँग वार्ता :

‘नेपाल बाहिरको नेपाल भावना र व्यवहार दुवैमा बलियो छ’

नेपालको पहिचानलाई विश्वस्तरमा स्थापित गर्नु, प्रवासमा रहेका नेपालीलाई मातृभूमिसँग अझ मजबुत रूपमा जोड्नु र नेपाललाई आध्यात्मिक नेतृत्व गर्ने राष्ट्रका रूपमा पुनः स्थापित गर्नु ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पण्डित दीनबन्धु पोखरेलले १२ भन्दा बढी युरोपेली देशमा ३४ दिन लामो आध्यात्मिक यात्रा गरी प्रवासी नेपालीसँग संवाद गरेका छन्।
  • पोखरेलले प्रवासमा नेपालीहरूको जीवनशैली, भावनात्मक अवस्था र नयाँ पुस्तामा नेपाली पहिचान जोगाउने चुनौतीबारे गहिरो विश्लेषण गरेका छन्।
  • उनले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा आध्यात्मिक केन्द्र निर्माण गरी नेपाललाई विश्वसामु आध्यात्मिक गुरुराष्ट्रका रूपमा स्थापित गर्ने योजना अघि बढाइरहेका छन्।

एक महिना लामो युरोप भ्रमण सम्पन्न गरेर पण्डित दीनबन्धु पोखरेल हालै नेपाल फर्किएका छन् । बेल्जियमदेखि स्पेन, नर्वे, पोर्चुगल, फ्रान्स, डेनमार्क, फिनल्यान्डलगायत १२ भन्दा बढी देशमा आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै उनले प्रवासमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद गरे ।

तीन पटक युरोप यात्रा गरिसकेका पोखरेलले हालसम्म ४४ देशको भ्रमण र करिब ३३ देशमा आध्यात्मिक कार्यक्रम सम्पन्न गरिसकेको बताउँछन् । यसपटकको यात्रामा उनले प्रवासी नेपालीको जीवनशैली, भावनात्मक अवस्था, पुस्तान्तरणको चुनौती र आध्यात्मिक आवश्यकतालाई नजिकबाट नियालेका छन् ।

‘काम र दाम’ को खोजीमा विदेशिएका नेपालीभित्र लुकेको शान्ति र आत्मसन्तोषको अभावदेखि लिएर नयाँ पुस्तामा नेपाली पहिचान जोगाउने चुनौतीसम्मका विविध पक्षमा पोखरेलले गहिरो विश्लेषण गरेका छन् । प्रवासमा नेपालीको एकता, संस्कारप्रतिको प्रेम र आध्यात्मिक चेतनाको आवश्यकताजस्ता विषयमा आधारित रहेर अनलाइनखबरकर्मी वसन्त रानाभाटले उनीसँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :

युरोपको यो आध्यात्मिक यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

यो मेरो तेस्रो युरोप यात्रा हो- सन् २०११, २०२२ र अहिले २०२६ । यसपटक ३४ दिनको यात्रा भयो, जुन मेरा लागि ऐतिहासिक रह्यो । जहाँ गए पनि भक्तजनको उत्साहजनक उपस्थिति देखियो ।

यो यात्राको मुख्य उद्देश्य तीनवटा थिए- पहिलो, प्रवासमा रहेका नेपाली मनलाई जोड्ने । दोस्रो, आध्यात्मिक चेतना जागृत गर्ने । तेस्रो, नेपाली सांस्कृतिक केन्द्र निर्माणको आधार तयार गर्ने । समग्रमा यो यात्रा अनुकरणीय, अभूतपूर्व र अत्यन्तै सफल रह्यो भन्ने मेरो अनुभूति छ ।

तपाईंको अनुभवमा विदेशमा बस्ने नेपालीहरूको वास्तविक जीवन कस्तो छ बाहिर देखिने र भित्रको यथार्थमा कति फरक पाउनुभयो ? 

मैले प्रवचनका क्रममा पनि भन्ने गरेको छु- बाहिरबाट हेर्दा काम र दाम दुवै राम्रो देखिन्छ । तर ‘आराम, नाम र राम’ भने अपेक्षाकृत कम देखिन्छ । भौतिक रूपमा धेरै नेपालीहरू सक्षम र स्थापित छन्, तर भित्रभित्रै केही न केही खालीपन, थकान वा पीडाबोध भने महसुस हुन्छ । यही कारणले मेरो यो आध्यात्मिक यात्राको उद्देश्य केवल ‘काम र दाम’ मा सीमित थिएन, बरु मानिसलाई ‘आराम, नाम र राम’ को महत्त्व बुझाउने पनि थियो ।

आध्यात्मिक कार्यक्रमहरू केवल क्षणिक उत्साहमा सीमित हुँदैनन्; यिनले दीर्घकालीन रूपमा व्यक्तिको चेतना र सोचमा प्रभाव पार्छन् ।

हामीले केही हदसम्म त्यो सन्देश पुर्‍याउन सफल भयौँ भन्ने लाग्छ । आध्यात्मिक कार्यक्रमहरूमा सहभागी हुँदा मानिसहरूमा उत्साह, ऊर्जा र मानसिक शान्ति देखिन्थ्यो । यसले के स्पष्ट गर्छ भने, बाह्य रूपमा सम्पन्न देखिए पनि धेरैको जीवनमा ‘राम र आराम’ अर्थात् शान्ति र आनन्दको कमी छ । यही अभावलाई केही हदसम्म पूर्ति गर्ने काम यो आध्यात्मिक यात्राले गरेको महसुस गरेको छु ।

नेपालबाहिरको नेपाल’ भावनामा बलियो कि व्यवहारमा ?

नेपालबाहिरको नेपाल हेर्दा, स्वदेशप्रतिको प्रेम अत्यन्तै गहिरो र स्पष्ट रूपमा अभिव्यक्त भएको पाउँछु । नेपालीहरू जहाँ रहे पनि आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिलाई जोगाएर अर्को पुस्तामा हस्तान्तरण गर्न चाहन्छन्- यो भावना निकै बलियो देखिन्छ ।

मेरो अनुभवमा तीनवटा महत्त्वपूर्ण पक्ष देखिए । पहिलो, स्पेन, नर्वे, बेल्जियम, पोर्चुगलजस्ता देशहरूमा भएका कार्यक्रमहरूले देखायो कि नेपालीहरू केवल भावनामा मात्र होइन, व्यवहारमा पनि उत्तिकै बलियो छन् । दोस्रो, रोचक कुरा के देखेँ भने नेपालमा कहिलेकाहीँ उदासीन देखिने व्यक्ति पनि विदेश पुगेपछि आफ्नो धर्म, संस्कृति र पहिचानप्रति अझ बढी सचेत र प्रतिबद्ध बन्छ ।

तेस्रो, प्रवासमा नेपालीहरूको एकता असाधारण रूपमा बलियो छ । भौगोलिक दुरी भए पनि ‘पहिले नेपाली’ भन्ने भावना अत्यन्तै प्रखर रूपमा देखिन्छ । यसैले भन्न सकिन्छ- ‘नेपालबाहिरको नेपाल’ भावना र व्यवहार दुवैमा मजबुत छ ।

नयाँ पुस्तामा नेपाली पहिचान जोगाउन सबैभन्दा ठूलो चुनौती के देख्नुहुन्छ ?

मेरो बुझाइमा सबैभन्दा ठूलो चुनौती त्यहाँको शिक्षा प्रणाली (स्कुलिङ) नै हो । युरोपेली समाजमा १८ वर्ष पुगेपछि स्वतन्त्र रूपमा जीवनयापन गर्ने संस्कार सिकाइन्छ । तर हाम्रो नेपाली समाज भने संयुक्त परिवारको मूल्य र सहजीवनमा आधारित छ ।

यही भिन्नताले पहिलो र दोस्रो पुस्ताबीच दूरी सिर्जना गर्न सक्छ । विशेषगरी, सन्तानहरू ठुला भएपछि छुट्टिएर बस्नुपर्ने अवस्थाले अभिभावकहरूमा भावनात्मक पीडा देखिन्छ- मैले यो प्रवृत्ति धेरै ठाउँमा अनुभव गरेँ । यसको समाधानका लागि प्रवासमा नेपाली भाषा कक्षा, पाठशाला, योग-ध्यान केन्द्रजस्ता संरचनाहरू आवश्यक छन् । यदि यस्ता पहलहरूलाई सशक्त बनाइयो भने नयाँ पुस्ताले आफ्नो संस्कार, संस्कृति र पहिचानसँग जोडिएर अघिल्लो पुस्तासँगै सन्तुलित रूपमा हुर्किने सम्भावना बलियो रहन्छ ।

यस्ता आध्यात्मिक कार्यक्रमहरू क्षणिक प्रभाव हुन् कि दीर्घकालीन ? 

आध्यात्मिक कार्यक्रमहरू केवल क्षणिक उत्साहमा सीमित हुँदैनन्; यिनले दीर्घकालीन रूपमा व्यक्तिको चेतना र सोचमा प्रभाव पार्छन् । यसको मूल उद्देश्य नै मानिसलाई ‘म को हुँ ?’ भन्ने आधारभूत प्रश्नतर्फ फर्काउनु हो । पहिलो चरणमा व्यक्तिले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ, त्यसपछि मात्रै जीवन, जगत् र परमात्माबारेको बोध सम्भव हुन्छ । हाम्रो कार्यक्रमहरूको लक्ष्य यही आत्मचेतना जगाउनु हो ।

यो कुनै क्षणिक ऊर्जा वा मनोरञ्जनात्मक प्रस्तुति मात्र होइन । यसले व्यक्तिको सोच, दृष्टिकोण र जीवनप्रति हेर्ने तरिकामा परिवर्तन ल्याउँछ । कार्यक्रमअघि र पछिको सोचबीच स्पष्ट अन्तर देखिन्छ । त्यसैले भन्न सकिन्छ- यस्ता आध्यात्मिक कार्यक्रमहरूले व्यक्तिलाई आफूसँग, आफ्नो संस्कार र पहिचानसँग पुनः जोड्ने दीर्घकालीन प्रभाव पार्छन् ।

 

प्रवासी नेपाली समुदायको सबैभन्दा बलियो र कमजोर पक्ष के देख्नुभयो ? 

कमजोर पक्षका रूपमा खासै ठूलो समस्या देखिएन । तर एउटा स्पष्ट कुरा के देखियो भने उहाँहरूको समय निकै सीमित छ । त्यहाँको कामको संरचना र जीवनशैली नै यस्तो छ कि व्यक्तिगत र सामाजिक गतिविधिका लागि समय निकाल्न गाह्रो पर्छ ।

तर सकारात्मक पक्ष अत्यन्तै बलियो छ । नेपालीहरूमा आफ्नो संस्कार, संस्कृति र पूर्वजको विरासत जोगाउनुपर्छ भन्ने गहिरो प्रतिबद्धता देखिन्छ । कतिपय अवस्थामा यो भावना नेपालभित्र भन्दा पनि अझ प्रखर रूपमा अभिव्यक्त भएको पाएको छु ।

यसले मलाई व्यक्तिगत रूपमा पनि ऊर्जा दिएको छ । साथै, प्रवासमा नेपालीहरूको एकता- भौगोलिक दुरीभन्दा माथि उठेर ‘पहिले नेपाली’ भन्ने भावना अत्यन्तै प्रेरणादायी लाग्यो । समग्रमा हेर्दा, मेरो अहिलेसम्मको विश्व भ्रमणमध्ये यो युरोप यात्रा विशेष रूपमा अविस्मरणीय र अभूतपूर्व रह्यो ।

विदेशमा बस्ने नेपालीहरूले नेपालसँग जोडिरहन के गर्नुपर्छ तपाईंको सुझाव के छ ?

नेपालसँग निरन्तर जोडिरहन तीन पक्षको समन्वय आवश्यक देख्छु । पहिलो, राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपाल सरकारले प्रवासी नेपालीसँग नियमित रूपमा जोडिने स्पष्ट र व्यवस्थित परिपाटी विकास गर्नुपर्छ । दोस्रो, विदेशमा रहेका नेपाली स्वयम् पनि आफ्नो मातृभूमिसँग सम्बन्ध अझ गहिरो बनाउने इच्छाशक्ति र सक्रियता देखाउनुपर्छ ।

हामी केवल आध्यात्मिक मात्र होइन, भौतिक विकाससँग पनि जोडिनुपर्छ ।

तेस्रो, हामीजस्ता सामाजिक तथा आध्यात्मिक अभियन्ताहरूले समय-समयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै चेतना र सम्बन्ध पुनर्जीवित गर्ने भूमिका खेल्नुपर्छ । यी तीनै पक्ष मिलेर अघि बढेमा प्रवासमा रहेका नेपालीहरूमा नेपालप्रतिको सम्बन्ध अझ मजबुत हुन्छ । यसले भविष्यमा धेरैलाई नेपाल फर्किएर सेवा गर्ने, रोजगारी सिर्जना गर्ने र देश विकासमा योगदान दिने सकारात्मक वातावरण पनि निर्माण गर्न सक्छ ।

दान सङ्कलनमा देखिने प्रतिबद्धता र कार्यान्वयनबीचको अन्तरलाई कसरी हेर्नुहुन्छ ?

यो समस्या केही ठाउँमा देखिन्छ । समाधान स्पष्ट छ- प्रतिबद्धताअनुसार काम गर्न दातव्य व्यवस्थापन समिति सक्रिय हुनुपर्छ ।

कार्यक्रमपछि योजनालाई छिटो कार्यान्वयनमा लैजानुपर्छ र समाजसँग निरन्तर संवाद कायम राख्नुपर्छ । मैले अनुभव गरेअनुसार, प्रवासमा ९० प्रतिशत काम सफल भएका छन् ।

तपाईंलाई देश–विदेशबाट मनग्य माया पनि छसाथै सहयोग र रकम सङ्कलन पनि भएको छ । त्यसलाई जोड्ने तपाईंको आफ्नै योजना के छ ?

सबैभन्दा पहिले मैले एउटा स्पष्ट अभियान अघि बढाएको छु- ‘एक दिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ’ भन्ने सोच ।

यसलाई व्यावहारिक रूपमा सार्थक बनाउनका लागि काठमाडौँको नागार्जुन नगरपालिका–७, रामकोटमा करिब २२ रोपनी जग्गामा स्व. पण्डित नारायणप्रसाद पोखरेलको स्मृतिमा बद्रीनारायण धामसहितको विशाल आध्यात्मिक केन्द्र निर्माण गरिसकेका छौँ, जुन अहिले सञ्चालनमा छ । यस केन्द्रमार्फत नेपाललाई विश्वसामु आध्यात्मिक गुरुराष्ट्रका रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ ।

त्यसैगरी हाम्रो अर्को महत्त्वपूर्ण सोच के हो भने- हामी केवल आध्यात्मिक मात्र होइन, भौतिक विकाससँग पनि जोडिनुपर्छ । त्यसैले आध्यात्मिकता र भौतिकवादको सन्तुलित समायोजन (मध्यवर्ती धार) बाट समाज अघि बढ्नुपर्छ भन्ने अवधारणामा हामी काम गरिरहेका छौँ । मेरो र मेरो टिमको मूल उद्देश्य स्पष्ट छ- नेपालको पहिचानलाई विश्वस्तरमा स्थापित गर्नु, प्रवासमा रहेका नेपालीलाई मातृभूमिसँग अझ मजबुत रूपमा जोड्नु र नेपाललाई आध्यात्मिक नेतृत्व गर्ने राष्ट्रका रूपमा पुनः स्थापित गर्नु । यो अभियानलाई सार्थक बनाउने दिशामा हामी निरन्तर अघि बढिरहेका छौँ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?