+
+
Shares

चट्याङको नालीबेली : कहाँ पर्छ, कसरी बच्ने ?

नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ । तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पर्छन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ वैशाख २० गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा चैतदेखि असारसम्म प्रि-मनसुन समयमा चट्याङको जोखिम सबैभन्दा बढी हुन्छ र चुरे क्षेत्र सबैभन्दा जोखिमपूर्ण मानिन्छ।
  • कच्ची घरमा बस्नेहरू चट्याङबाट बढी जोखिममा हुन्छन् किनभने जस्ताको छानोले करेन्ट सजिलै घरभित्र पस्छ र अर्थिङ सिस्टम हुँदैन।
  • चट्याङ लागेमा पीडितलाई छुन सकिन्छ र नाडी नपाए सीपीआर दिनुपर्छ, साथै प्राथमिक उपचारका लागि तुरुन्त अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ।

प्रि-मनसुन सुरु भएसँगै नेपालमा चट्याङका घटना ह्वात्तै बढ्ने गर्छन् । वर्षको यो समयमा आकाशमा बिजुली चम्किनु र मेघ गर्जनको आवाजसँगै चट्याङ पर्ने जोखिम पनि उत्तिकै उच्च हुन्छ । नेपालमा हरेक वर्ष चट्याङबाट दर्जनौं मानिसको ज्यान जाने गर्छ भने सयौं घाइते हुन्छन् ।

चट्याङ कहिले र कहाँ बढी पर्छ ? यसबाट कसरी बच्ने ? र चट्याङ लागेमा के गर्न सकिन्छ ? यस सम्बन्धमा महत्वपूर्ण जानकारी यहाँ समेटिएको छ :

नेपालमा चट्याङ कहिले बढी पर्छ ?

नेपालमा चैत, वैशाखको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल हुन्छ । वर्षायामको बादलमा पनि विद्युतीय चार्ज हुन्छ । तर, त्यो समयमा पानी धेरै पर्छ । पानीसँगै विद्युतीय चार्ज जमिनमा झर्छ।

प्रि–मनसुनको समयमा पानी कम पर्छ । बादल मडारिएर उथलपुथल हुन्छ अनि चट्याङ पर्छ । सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङ पर्दैन । चैतको मध्य समयदेखि असारसम्म बढी पर्छ ।

नेपालको कुन–कुन क्षेत्रमा चट्याङको जोखिम बढी छ ?

नेपालको सबैभन्दा जोखिमपूर्ण क्षेत्र चुरे हो । चुरेका पहाडहरूमा चट्याङको घनत्व मध्यमदेखि उच्च हुन्छ र मानिसको मृत्युदर पनि यहाँ सबैभन्दा बढी हुन्छ ।

मध्य र पूर्वी पहाडी क्षेत्रमा पनि जोखिम बढि हुन्छ । चुरे र कम उचाइका पहाडी जिल्लाहरूमा चट्याङ पर्ने घटना र मानवीय क्षति दुवै बढी देखिन्छ । उच्च हिमाली क्षेत्रमा चट्याङ कम पर्छ ।

नेपालमा चट्याङको सबैभन्दा बढी प्रभाव मकवानपुर जिल्लामा देखिएको छ । तर बारम्बार चट्याङ परिरहने क्षेत्रमा झापा र मोरङ पनि पर्छन् ।

कच्ची घरमा बस्नेहरू चट्याङबाट किन बढी जोखिममा पर्छन् ?

कच्ची वा कमजोर घरमा बस्ने मानिसहरू चट्याङबाट धेरै बढी खतरामा हुन्छन् । किनकी यस्ता जस्ताको छानो हालिएको हुन्छ । जस्तामा बिजुली प्रसार हुन्छ ।

चट्याङ लाग्दा करेन्ट सजिलै जस्ता हुँदै घरभित्र पस्छ र मानिसलाई लाग्छ । प्राय: पक्की घरमा चट्याङको करेन्ट जमिनमा पुर्‍याउने अर्थिङ सिस्टम राखिन्छ । तर कच्ची घरमा यस्तो केही पनि हुँदैन । त्यसैले करेन्ट घर र मानिस हुँदै जान्छ ।

चट्याङबाट बच्नका कस्तो सतर्कता अपनाउनुपर्छ ?

–आकाशमा बिजुली चम्किनेबित्तिकै चट्याङ पर्न लाग्यो भन्ने बुझ्नुपर्छ, त्यसबखत थचक्क बस्नुपर्छ । – हातलाई घुँडामा टेकाएर टाउको निहुराएर होचो ठाँउको भुइँ सतहमा बस्नु राम्रो हुन्छ ।

– यो समयमा छाता खोल्ने वा मोबाइल फोन प्रयोग गर्ने गर्नुहुँदैन । किनभने यी वस्तुमा भएका धातुले करेन्टलाई शरीरतर्फ तान्न मद्दत गर्छ ।

– चट्याङ पर्दा वा बादलबाट मेघ गर्जनको आवाज आउँदा घरभित्र हुनुहुन्छ भने विद्युतीय उपकरणबाट टाढै रहनुपर्छ ।

– यस्तो समयमा खेतबारीमा काम गर्न निस्किनुहुँदैन । खेतमै भएको अवस्थामा नजिकै रहेको पाटी वा छाप्रोमा बस्न सकिन्छ ।

– झ्याल र ढोका बन्द गर्नुपर्छ । बार्दली र कौसीमा बस्नु हुँदैन । यसबाहेक बिजुलीसँग जोडिएको वस्तु छुनु उपयुक्त हुँदैन ।

-धातुबाट बनेका पाइप, धारा र हात धुने बेसिनबाट सम्भव भएसम्म टाढा रहनुपर्छ ।

– चट्याङ परेका बेला रुखमुनि, अग्लो भवन वा खुल्ला ठाँउमा उभिनुहुँदैन । अग्लो ठाँउमा बस्दा समूहमा उभिनुको सट्टा अलग्गै उभिनुपर्छ । सबैभन्दा राम्रो भनेको नजिकैको घरमा आश्रय लिनु हो ।

– यात्राको क्रममा चट्याङ परेमा गाडीमै बस्नुपर्छ । बाइकमा भए तुरुन्त रोकेर घर वा पार्टी भएको स्थानमा बस्न सकिन्छ ।

– बिजुली वा टेलिफोनको पोल र कुनै पनि मेसिनबाट टाढा रहनुपर्छ । यदि पानीमुनि वा डुंगामा भएको अवस्था छ भने तुरुन्तै बाहिर निस्कनुपर्छ ।

चट्याङ लागेमा तुरुन्त के गर्ने ?

– यदि आफ्नो वरपर नजिकै कसैमाथि चट्याङ परेको देखिहालेमा सम्भव भएसम्म तत्काल पहिले नजिकको अस्पताल लैजान एम्बुलेन्स बोलाउनुपर्छ ।

– एम्बुलेन्स आउने समयसम्म प्राथमिक उपचार गर्नुपर्छ ।

– कतिपयले पीडितलाई छुँदा करेन्ट लाग्ने डरले नछोइ बस्न सक्छन्, जुन गलत हो । चट्याङ लागेका मानिसमा विद्युतीय करेन्ट बाँकी नहुने हुँदा उनीहरूलाई छुँदा अरूलाई केही हुँदैन।

– चिकित्सक नआउने समयसम्म पीडितको अवस्था अवलोकन गरी चट्याङ लागेका व्यक्ति बेहोसीको अवस्थामा भए सास चलिरहेको छ कि छैन हेर्नुपर्छ ।

–चट्याङ लागेको व्यक्तिको नाक र मुख छेउमा आफ्नो दुई औंला वा कान राखेर हावा आइरहेको छ कि छैन अनुभव गर्न सकिन्छ।

– मुटुको धड्कनको गति पनि छामेर जाँच गर्न सकिन्छ ।

– सास फेरेको छैन जस्तो लाग्छ भने नाडी १० सेकेण्ड जति छामेर हेर्नुपर्छ । छाम्दा नाडी र गर्दनमा दुई औंला बलियोसँग राखी स्थिर भएर धड्कन अनुभव गर्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार भइरहेको थाहा हुन्छ ।

– नाडी छाम्दा भेटिएन भने तुरुन्त सीपीआर दिनुपर्छ ।

– सीपीआर गर्न छातीको केन्द्रमा दुवै हातले बल लगाएर धक्का दिनुपर्छ । एक मिनेटमा लगभग १०० देखि १२० पटक धक्का दिनुपर्छ । यसरी धक्का दिँदा फोक्सोमा भरिएको पानी पनि बाहिर आउन सक्छ । यो बीचमा एम्बुलेन्स आइपुगेमा पनि सीपीआर जारी राख्नुपर्छ ।

– प्रायः चट्याङ पर्दा टाउकोबाट करेन्ट प्रवेश गर्ने र खुट्टाबाट बाहिरिने हुनाले टाउको र खुट्टा जलेको, हड्डी भाँच्चिएको, सुन्ने शक्ति वा हेर्ने शक्ति पनि नभएको हुनसक्छ । त्यसैले यी कुरा जाँच गर्नुपर्छ ।

– सामान्य चोटपटकले रगत बगिरहेको छ भने मलमपट्टी गर्नुपर्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?