Comments Add Comment

ट्राफिकलाई ५ सय रुपैयाँ दिन खोज्दा दुई युवा समातिए

५ जेठ, काठमाडौं । शनिबार राति काठमाडौंको तीनकुनेमा ट्राफिक प्रहरीले मापसे चेकिङ गरिरहेको थियो । त्यसैक्रममा कागेश्वरी मनोहरा नगरपालिका ९ घर भएका दुई युवा भरत र यमन चेकिङमा परे ।

सामान्य मापसे गरेका यी दुई युवालाई प्रहरीले पक्राऊ गरेर हिसासतमै हाल्नुपर्ने त थिएन, तर भैदियो अर्कै । प्रहरीले मोटरसाइकलसहित दुबै युवालाई हिरासतमा लियो ।

प्रहरीले गरेको दाबी अनुसार बा ९५ प ४२९ नम्बरको मोटरसाइकलमा चढेका ती युवाले मादकपदार्थ सेवन गरेर मोटर साइकल चलाएका थिए । रातको समयमा उनीहरु तीनकुनेको चेकिङमा परेका थिए ।

मापसे गरेको चाल पाएर प्रहरीले रोकेपछि उनीहरुलाई लाग्यो, ट्राफिक प्रहरीलाई पैसा दियो भने उम्किन सकिन्छ । त्यसैले ती युवाले प्रहरीलाई ५ सय रुपैयाँ दिन खोजेको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीद्वारा आइतबार जारी बुलेटिनमा भनिएको छ, ‘मोटरसाइकल जाँच गर्ने क्रममा चालक भरतले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment