Comments Add Comment

श्रममन्त्रीलाई मुख्यमन्त्रीको प्रश्न – सय दिनको रोजगारीपछि बाँकी समय के गर्ने ?

जनकपुरधाम, ५ जेठ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा १ लाख युवालाई रोजगार दिने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका विषयमा संघ, प्रदेश र स्थानीय तहबीचको त्रिपक्षीय कार्यक्रममा आइतबार जनकपुरधाममा उनले आउँदो वर्ष भने ५ लाख जनालाई रोजगारी दिने बताए । मन्त्री विष्टले कार्यक्रम प्रभावकारी भएमा देशमा बेरोजगारी समस्या नरहने पनि दावी गरे ।

तर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने सय दिनको रोजगारीले बेरोजगारी समस्या समाधान नहुने बताए । ‘सय दिन रोजगारी गरेपछि बाँकी समय के गर्छ ?’ राउतले प्रश्न गरे ‘स्थायी रोजगारीको व्यवस्थासहित उद्योग, कलकारखाना र व्यवसायीक लगानीमा संघीय सरकारले ध्यान दिनुपर्छ ।’

तीनै तहबीच सम्झौता

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनका लागि भन्दै संघीय, प्रदेश २ सरकार र प्रदेश अन्तर्गतका स्थानीय तहबीच त्रिपक्षीय समझदारी भएको छ ।

संघीय सरकारको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारका प्रतिनिधिबीच संयुक्त रुपमा सम्झौता गरिएको छ । समझदारी पत्रमा संघीय सरकारका तर्फबाट श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल, प्रदेश सरकारको तर्फबाट समाजिक विकास मन्त्रालयका निमित्त सचिव दिलिपकुमार ठाकुर र स्थानीय सरकारको तर्फबाट सम्बन्धित पालिकाका प्रमुख–उपप्रमुखले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार तीनै तहका सरकारले रोजगार सेवा केन्द्रको संचालन, बेरोजगार व्यक्ति, रोजगारीका अवसरको सूचना व्यवस्थापन तथा साझेदारी, कार्यक्रम कार्यान्वयन, निर्वाह भत्ता, सहयोग र समन्वय, अनुदान तथा मूल्यांकन तथा उत्तरदायित्व निर्वाह गर्नेछ ।

यसका साथै संघीय सरकारले कार्यक्रम संचालनका लागि प्रदेश सरकारको समाजिक मन्त्रालय र सम्बन्धित स्थानीय तहमा सशर्त अनुदान रकम पठाउने तथा वित्तीय लेखापरीक्षण र अनुशासन गर्ने कार्य रकम खर्च गर्ने प्रदेश मन्त्रालय र पालिकाको जिम्मेवारी रहने समझारी पत्रमा उल्लेख छ ।

श्रम कार्यालय सार्न निर्देशन

मन्त्री विष्टले आइतबार नै जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय अनुगमन गरेका छन् । उनले सेवाग्राही र कर्मचारीसँगको कुराकानीपछि कार्यालयलाई व्यवस्थित स्थानमा सार्न निर्देशन दिएका छन् ।

अहिले जनकपुरको बजार क्षेत्रभन्दा बाहिर खेतै खेत भएको ठाउँमा यो कार्यालय राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment