Comments Add Comment

महत्वकांक्षी राजस्व लक्ष्य भेट्टाउन हम्मेहम्मे

वैशाखसम्म ९७ अर्ब कम उठ्यो

६ जेठ, काठमाडौं । महत्वकांक्षी राजस्व संकलनको लक्ष्य राखेको सरकार चालु आर्थिक वर्ष २०७५/७६ को १० महिना (साउन–वैशाख) सकिदासम्म लक्ष्यको ८७ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार बैशाखसम्म ६ खर्ब ४८ अर्ब ६६ करोड राजस्व संकलन भएको छ । सरकारले वैशाखसम्म ७ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । लक्ष्यभन्दा अहिले नै ९७ अर्ब कम राजस्व उठेको छ ।

लक्ष्यअनुसार संकलन भने १३ प्रतिशत कम भएको छ । सरकारले यस आवमा ९ खर्ब ४५ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । राजस्व लक्ष्य नभेट्ने निश्चित भएपछि बजेटको अर्धवार्षिक समिक्षामार्फत सरकारले उक्त लक्ष्यलाई ९ खर्ब १७ अर्बमा संशोधन ग¥यो ।

अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्री आवको अन्त्यसम्म कम्तिमा संशोधित लक्ष्य पुरा हुने दावि गर्छन् । ‘आवमा अझै दुई महिना बाँकि छ, यस अवधिमा कम्तिमा संशोधित लक्ष्यसम्म पुरा हुन्छ,’ उनले भने ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार आवको १० महिना अवधिमा भन्सार राजस्व लक्ष्यभन्दा ११ प्रतिशत कम उठेको छ ।

मूल्य अभिवृद्धि करमा भएको कमीले पनि सरकारी राजस्वमा चाप परेको छ । मन्त्रालयका अनुसार यस अवधिमा मूल्य अभिवृद्धि कर लक्ष्यको तुलनामा ८३.५९ प्रतिशत मात्र उठेको छ । अन्तशुल्क पनि ८४.१२ प्रतिशत मात्र संकलन भएको मन्त्रालयले जानकारी दिएको छ ।

शिक्षा सेवा शूल्क १३४.५२ प्रतिशतले बढेको छ । यस आवमा गैरकर राजस्व पनि खस्किएको छ । तथ्यांक अनुसार गैरकर राजस्व ७८.२७ प्रतिशत मात्र संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment