Comments Add Comment

गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

८ जेठ, पोखरा । गोपाल श्रेष्ठ (५६) ले बुधबार ८ हजार ८ सय ४८ मिटरमा पाइला टेके । उनले विश्वको अग्लो शिखरमा दर्ज भएको चुचुरोमा पाइला राख्दा बिहानको ८ बजेर ३० मिनेट गएको थियो ।

श्रेष्ठले सगरमाथा चुचुरोमा टेकेको पाइला ऐतिहासिक मात्रै बनेन, धेरैका लागि उदाहरणीयसमेत बनेको छ । एचआइभी संक्रमित भएर जीवन बाँचिरहेकाहरुको एउटा प्रतिनिधि हुन्, श्रेष्ठ । उनी ‘एचआइभी नेगेटिभ’हरु मध्येका एउटा व्यक्ति मात्रै होइनन् ।

सगरमाथाको सफल आरोहण गरेर उनी संक्रमित हुनु आशा र हिम्मत सकिनु होइन, जीवन सकिनु होइन भन्ने एउटा गतिलो उदाहरण बनेका हुन् । उनले ड्रिमर्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा सफल सगरमाथा आरोहण गरेका हुन् ।

श्रेष्ठ काठमाडौंदेखि ६ जना टोलीसँग चैत अन्तिम साता लुक्ला, नाम्चे सगरमाथा आधारशिविर हुँदै सगरमाथा उक्लेका थिए । यसअघि २०१५ मा पनि उनले सगरमाथा आरोहणको कोशिस गरेका थिए । तर त्यतिबेला भूकम्प गएका कारण बेसक्याम्पबाटै फर्किएका थिए । सगरमाथा आरोहणको दोस्रो प्रयासमा उनी सफल भएका हुन् ।

श्रेष्ठले २०७० सालमा पहिलो पटक ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला पास पार गरेका थिए । त्यसको करिब १ वर्षपछि ६ हजार १ सय ८९ मिटर उचाइकोे आइसल्यान्ड हिमालको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ६ हजार ८ सय मिटर अग्लो दोलखाको खान्कार्पू हिमालको पहिलो आरोही बनेका थिए ।

श्रेष्ठ पूर्वफुटबल खेलाडीसमेत हुन् । तत्कालीन समयमा फ्रेन्डस क्लबलाई ए डिभिजनमा पुर्‍याउन उनले राम्रो भूमिका खेलेको सहारा क्लबका पूर्वअध्यक्ष वीरभद्र कुँवर बताउँछन् । ‘त्यतिबेला उहाँ डिफेन्स बस्नुहुन्थ्यो । उहाँको खेल हेरेर हामी सबै चकित हुन्थ्यौं,’ उनले भने । श्रेष्ठले रानीपोखरी कर्नर टिम (आरसिटी) र त्रिभुवन आर्मी क्लबबाट पनि आफ्नो कौशल देखाइसकेका छन् ।

श्रेष्ठ ७२ सालमा पहिलो पटक सगरमाथा आरोहण आँट्दा श्रेष्ठलाई सगरमाथा चढाउने अभियानका अध्यक्ष थिए । यसपटक उनी सल्लाहकार छन् । ‘त्यतिबेला भूकम्प गएर दुर्घटना हुँदा झन्डै ज्यान गुमाउनु गएको थियो । अहिले सफल हुनुभयो,’ आचार्यले भने, ‘अहिले उहाँ सबै एचआइभी संक्रमितको प्रेरणाको स्रोत बन्नु भयो । हिम्मत नहार्नु ठूलो कुरा रहेछ !’

पोखरा ७ का बासिन्दा श्रेष्ठ पहिले लागुपदार्थ औषध दुर्व्यसनी थिए । लागुऔषधको रमझमकै बेला उनमा एचआईभी संक्रमण देखिएको थियो । उनले संक्रमित भएको २५ औं वर्षमा सगरमाथा शिखर चुमेका हुन् । हाल उनी योग प्रशिक्षकको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment