+
+
Shares

सडकमा ट्राफिक उभ्याउने अभ्यास अन्त्य गर्दै स्मार्ट सिस्टममा जानुपर्छ : सभापति गजुरेल

कार्यक्रममा उठाइएको आकाशे पुलको आवश्यकतासम्बन्धी प्रश्नमा गजुरेलले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने दाबी गरे।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १५:५२

१५ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर सवारीसाधन व्यवस्थापन गर्ने परम्पराको अन्त्य गर्दै स्मार्ट सिस्टम लागू गर्नुपर्ने बताएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रविधिमा आधारित यातायात व्यवस्थापनमा जोड दिएका हुन्।

सभापति गजुरेलका अनुसार अब ट्राफिक प्रहरीको मुख्य काम चोकमा उभिएर हात हल्लाउने नभई नियम उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने हुनुपर्छ।

‘हामी यातायात व्यवस्थापनलाई सहज बनाउन स्मार्ट ट्राफिक सिस्टममा लगानी बढाउँदै छौँ,’ उनले भने, ‘अहिले उपत्यकामा बिग्रिएका ट्राफिक बत्ती मर्मत गर्ने र नयाँ जडान गर्ने काम भइरहेको छ।’ उनले ट्राफिक कन्ट्रोल रुमलाई समेत थप व्यवस्थित र प्रविधिमैत्री बनाइने जानकारी दिए।

कार्यक्रममा उठाइएको आकाशे पुलको आवश्यकतासम्बन्धी प्रश्नमा गजुरेलले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने दाबी गरे।

विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग कम हुने गरेको दृष्टान्त पेस गर्दै उनले भने, ‘हाम्रो मुख्य लगानी अब आकाशे पुलभन्दा पनि इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टममा हुनेछ। यद्यपि, आवश्यक पर्ने स्थानमा आकाशे पुल निर्माणको काम भने रोकिने छैन।’

यसैगरी, सडकमा ड्युटीमा खटिने ट्राफिक प्रहरीका लागि बस्ने ठाउँ, पिउने पानी र शौचालयको समेत उचित व्यवस्था नभएको गुनासोप्रति आफू गम्भीर रहेको गजुरेलले बताए।

उनले घामपानी नभनी खटिने ट्राफिक प्रहरीका लागि यस्ता आधारभूत सुविधाको व्यवस्थापन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?