८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मलेसिया, खाडी मुलुकलगायत विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘हामीकहाँ आउने गुनासो हेर्दा समस्या विदेश पुगेपछि मात्र होइन, नेपालबाटै सुरु हुने गरेको छ’ उनले भने, ‘म्यानपावर कम्पनीले तोकिएकोभन्दा बढी रकम लिने, ‘फ्री भिसा, फ्री टिकट’ भनिए पनि श्रमिकबाट ठूलो रकम असुल्ने प्रवृत्ति अझै रोकिएको छैन ।’
उनका अनुसार विदेश पुगेपछि सम्झौताभन्दा फरक काममा लगाउने, तलब तथा सेवा–सुविधा नदिने, समयमा पारिश्रमिक नदिने र अत्यधिक काम गराउनेजस्ता श्रम शोषणका घटना पनि भइरहेका छन् ।
समस्यामा परेका श्रमिकले उद्धार तथा सहयोगका लागि म्यानपावर कम्पनी र नेपाली दूतावासमा सम्पर्क गर्दा समयमै प्रभावकारी सहयोग नपाएको गुनासोसमेत आउने गरेको उनले बताए।
‘विदेशमा पसिना बगाउने नेपाली श्रमिक रेमिट्यान्स पठाउने मेसिन होइनन्’ उनले भने, ‘उनीहरू नेपाली नागरिक हुन्। उनीहरूको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्नु राज्यको दायित्व हो ।’
यी विषय राख्दै उनले सरकारलाई भनेका छन्, ‘म्यानपावर कम्पनीको अनुगमन र कारबाही कडा गरियोस्। अवैध असुली रोकियोस्, सम्झौताअनुसारको काम र तलब सुनिश्चित गरियोस् ।’
साथै, नेपाली दूतावासमा २४ घण्टा प्रभावकारी गुनासो सुनुवाइ, कानुनी सहायता, उद्धार तथा स्वदेश फिर्तीको व्यवस्था गर्न उनको माग छ। उनी थप्छन्, ‘सरकारले श्रमिकबाट आउने रेमिट्यान्स मात्र होइन, उनीहरूले विदेशमा भोगिरहेको दुःख र शोषणको जिम्मेवारी पनि लिनुपर्छ ।’
प्रतिक्रिया 4