Comments Add Comment

‘नेपालसम्म रेल ल्याउन कठिन, तर चीन प्रतिबद्ध’

'तातोपानी नाका अर्को हप्ता खुल्छ'

९ जेठ, काठमाडौं । चीनले नेपालसम्म रेल मार्ग बनाउन कठिन रहेको बताएको छ । यद्यपि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको भन्दै उसले नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको भन्दै खुसी व्यक्त गरेको छ ।

बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले भनिन्, ‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।’

क्रस बोर्डर रेलवे लाइन निर्माण भौगोलिक रुपमा धेरै कठिन र धेरै खर्चिलो रहेको उनले बताइन् । यसका लागि अझै विस्तृत र वैज्ञानिक अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

बिभिन्न चार चरणका काम पूरा गर्नुपर्ने भन्दै उनले अहिले पहिलो चरणको प्रि-फिसिबिलिटीको काम मात्र सकिएको बताइन् । दोस्रो चरणमा फिसिबिलिटी अध्ययन, तेस्रो चरणमा डिजाइन र चौथो तथा अन्तिम चरणमा निर्माणको काम सुरु हुने उनले बताइन् ।

यो पनि पढ्नुहोस ‘वी च्याट र अली-पे वैधानिक रुपमा नेपाल आउन इच्छुक’

‘नेपाल-चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर, यो धेरै कठिन छ । सहज छैन हामीलाई,’ राजदूत यान्छीले भनिन्, ‘यो लामो समयको प्रोजेक्ट हो । तर, हामी निर्माणका लागि प्रतिबद्ध छौं ।’

सुरुमा तातोपानी नाकाबाट मालबाहक सवारी साधन आवत-जावत गर्ने राजदूत यान्छीले जानकारी दिइन्

यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् । उनले भनिन्, ‘हामीले आफ्नो तर्फबाट तयारी जारी राखेका छौं । नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।’

नेपाल-चीन रेलवे निर्माण गर्न खर्च कति लाग्छ र कुन मोडेलमा बन्छ भन्ने कुराको पनि टुंगो नलागेको जानकारी उनले दिइन् ।

‘तातोपानी नाका अर्को हप्ता खुल्छ’

चिनियाँ राजदूत यान्छीले भूकम्पले क्षति पुर्‍याएको तातोपानी नाका अर्को हप्ता खुल्ने जानकारी दिइन् । ‘धेरै खतरा र चुनौतिको बाबजुद पनि हामीले निर्माण कार्य सकेका छौं । अब अर्को हप्ता तातोपानी नाका खुल्छ,’ उनले भनिन्, ‘यसमा हामीले महत्वपूर्ण प्रगति हासिल गरेका छौं ।’

तातोपानी नाका अर्को हप्ता खुल्ने बताए पनि उनले ठ्याक्कै मिति भने खुलाइनन् । सुरुमा तातोपानी नाकाबाट मालबाहक सवारी साधन आवत-जावत गर्ने राजदूत यान्छीले जानकारी दिइन् । सिलबन्दी गाडिहरु सुक्खा बन्दरगाहमा आएर खोलिने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस चीनले यस्तो बनाइदियो तातोपानी नाका !

राजदूत यान्छीले चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताइन् । बीआरआई फोरममा नेपालको राष्टपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण गर्न निम्तो गरेको र चिनियाँ राष्ट्रपति सिले सकारात्मक जवाफ दिएको उनले जानकारी दिइन् ।

‘बीआरआईले ऋण थोपर्दैन’

एक अर्को प्रसंगमा उनले चीनको महात्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई)ले नेपाल वा अन्य कुनै पनि देशमा ऋणको भार नपर्ने बताइन् । बीआरआईले ऋण थोपर्छ भनेर अमेरिकाले भ्रम छरेको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘बीआरआईले ऋणको बोझ बढ्छ या ऋणको जालमा पार्छ भनेर केही देशले जिज्ञासा राख्छन् । हाम्रो जवाफ हुन्छ- अहँ । बरु यस परियोजनाले केही देशलाई ऋणमुक्त बनाउन सहयोग गर्नेछ ।’

सहयोगदाताको रुपमा व्यवसायीहरुले स्वाभाविक रुपमा बजारको नीतिअनुसार काम गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment