Comments Add Comment

लोकसभा चुनाव : भाजपा एक्लै बहुमत नजिक, कांग्रेस ५१ सिटमा अगाडि

९ जेठ, काठमाडौं । भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।

लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।

भारतीय लोकसभाको सबैभन्दा धेरै ८० सिट रहेको उत्तर प्रदेशमा अहिलेको चुनावमा पनि भाजपा नै अगाडि छ । उसले ५६ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा भाजपाले उत्तर प्रदेशबाट ७१ सिट जितेको थियो ।

उत्तर प्रदेशमा एक सिटमा मात्र कांग्रेस अगाडि छ । कांग्रेस पूर्वअध्यक्ष सोनिया गान्धी परम्परागत क्षेत्र रायबरेलीमा अग्रता कायमै राखेकी छन् । सोनियाका छोरा एवम् कांग्रेसका वर्तमान अध्यक्ष राहुल गान्धी भने अमेठीमा भाजपाकी नेतृ स्मृति इरानीभन्दा पछि परेका छन् ।

दोस्रो धेरै सिट रहेको महाराष्ट्रमा भाजपा २३ स्थानमा अगाडि छ । महाराष्ट्रमा विधानसभाको कुल ४८ सिट छ । यहाँ कांग्रेस चन्द्रपुर क्षेत्रमा मात्र अगाडि छ ।

पश्चिम बंगालमा भने तृणमुल कांग्रेसले अग्रता लिएको छ । पश्चिम बंगालका कुल ४२ सिटमध्ये तृणमुल कांग्रेस २४ र भाजपा १७ स्थानमा अगाडि छन् । कांग्रेस भने एक स्थानमा मात्र अगाडि छ । बहरामपुर क्षेत्रमा कांग्रेसका आशिष रञ्जन चौधरीले अग्रता लिएका हुन् ।

कुल ४० सिट रहेको बिहारमा भाजपा र जनता दल युनाइटेडबीच कडा टक्कर छ । दुवै १६–१६ स्थानमा अगाडि छन् । तर, कांग्रेस एक स्थानमा पनि अगाडि छैन । बिहारको बेगुसरायबाट चुनाव लडेका कम्युनिष्ट युवा नेता कन्हैया कुमार तेस्रो स्थानमा छन् । बेगुसरायमा भाजपाका कट्टर हिन्दुवादी नेता गिरिराज सिंहले नै अग्रता लिएका छन् ।

तमिलनाडुका ३९ सिटमध्ये कांग्रेसले ८ स्थानमा अग्रता लिँदा भाजपाले भने एक स्थानमा पनि अग्रता लिएको छैन । यहाँ दिवंगत नेता करुणानिधिको पार्टी द्रविड मुन्नेत्र कषगम (डिएमके) सबैभन्दा अगाडि छ । डीएमकेले सबैभन्दा धेरै २२ स्थानमा अग्रता लिएको छ ।

मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ । यहाँ कांग्रेस १ स्थानमा अगाडि छ ।

गुजरातका सबै २६ सिटमा भाजपाले अग्रता लिएको छ । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदी विगतमा मुख्यमन्त्री भएको क्षेत्रसमेत हो । आन्ध्रप्रदेशका २५ सिटमध्ये सबै स्थानमा अन्य दल अगाडि छन् ।

ओडिसाका २१ मध्ये भाजपा ७ स्थानमा अगाडि छ । यहाँ मुख्यमन्त्री नविन पटनायकको पार्टी बिजु जनता दल (बीजेडी) ले १४ स्थानमा अग्रता लिएको छ ।

केरलाका कुल २० मध्ये १५ स्थानमा कांग्रेस अगाडि छ । यहाँ कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहँदा भाजपाको अग्रता शून्य छ ।

तेलंगनाका १७मध्ये भाजपा र कांग्रेस समान चार–चार स्थानमा अगाडि छन् । सबैभन्दा धेरै अगाडि ८ स्थानमा तेलंगना राष्ट्र समिति (टीआरएस) अगाडि छ ।

पन्जाबका १३ मध्ये ८ स्थानमा कांग्रेस, दुई स्थानमा भाजपा र एक स्थानमा आम आदमी पार्टी अगाडि छन् ।

दिल्लीका सातवटै र उत्तराखण्डका पाँचवटै स्थानमा भाजपा अगाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment