+
+

सगरमाथाको चुचुरोमा घन्टौं जाम !

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १० गते २०:१५
Photo Credit : AFP/Getty Image

१० जेठ, काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो ।

तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो ?’

प्रश्न नगरुन पनि किन ? तस्वीरमा सगरमाथाको शिखरमा पाइला टेक्न चाहने आरोहीहरुलाई निकै लामो लाइन देखिन्छ । तर, यो तस्वीर वास्तविक भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

पूर्वबेलायती सैनिक समेत रहेका म्याग्दीका पूर्जाले ‘प्रोजेक्ट पोसिबल–१४/७’ अभियानका दौरान सगरमाथा आरोहण गरेका हुन् ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल एकै सिजनका ७ महिनामा आरोहण गर्ने लक्ष्य लिएका उनले ८ जेठमा सगरमाथाको सफल आरोहण गरेका छन् ।

उक्त दिन सगरमाथा चुचुरो चुम्ने आरोहीको यति ठूलो लाइन बन्यो कि झण्डै ‘क्याम्प ४’ देखि चुचुरोसम्म आरोहीको बाक्लो लाइन देखिन्छ ।

सगरमाथा आधार शिविरमा सरकारी टोलीका एक सदस्य तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ७ जेठसम्म करीव ६ सय आरोही चुचुरोसम्म जान उपयुक्त मौसमको पर्खाइमा थिए । ७ जेठको बिहानबाट मौसम अनुकुल भयो । आरोहण खुल्यो । ९ जेठमा सर्वाधिक आरोही सगरमाथाको चुचुरोमा पुगेको अनुमान छ । यद्यपि सबै आरोही कुन दिन चढे भन्ने यकिन तथ्यांक आइपुग्न भने केही समय लाग्ने पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा बताउँछन् ।

८ जेठका दिन करीव २ सय आरोही चुचुरोमा पुगेको अनुमान छ । यो तस्वीर सोही दिनको हो । त्यहीका कारण आरोहीहरु सगरमाथाको शिखरमा पुग्न मात्र होइन, फर्किने बेला समेत घन्टौं जाममा परेका थिए ।

यसअघि ३ जेठ, २०७३ मा एकै दिन सर्वाधिक २ सय ५ आरोही चुचुरोमा पुगेको कीर्तिमान छ ।

किन यसरी जाम हुन्छ ?

सगरमाथा व्यापारिक पर्वतारोहण हुने संसारकै लोकप्रिय हिमाल हो । यसको आरोहण पर्वतारोहणको वास्तविक मर्मअनुसार भने हुँदैन । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष जिम्बाजाङ्बु शेर्पाकाअनुसार सगरमाथामा पैसा तिरेर अरुको सहायतामा आरोहण गरिन्छ । यो व्यापारिक आरोहण हो । त्यसकारण यहाँ कुनै पनि प्रकारको जोखिम मोलेर कसैले पनि आरोहण गर्दैनन् । किनकी त्यहाँ प्रोफेसनल आरोहीभन्दा कीर्तिमानका लागि आउने आरोही धेरै हुन्छन् ।

प्रतिकूल मौसम हुनासाथ आरोहीलाई क्याम्प मै राखिन्छ । जब मौसम खुल्यो भन्ने जानकारी आउँछ, त्यसपछि एकसाथ सबै आरोही अगाडी बढ्छन् । जसले गर्दा बाटोमा आरोहीको लामो जाम हुन जान्छ ।

एउटा मात्र रुट

सामान्यतया आरोहण गर्दा आफैं बाटो बनाउने, रुट खोज्ने र चढ्ने गरिन्छ । यसलाई वास्तविक शाहसिक आरोहण मानिन्छ । सगरमाथामा यसरी आरोहण गर्ने अनुमति छैन । रुट बनाउने कम्पनीलाई सरकारले अनुमति दिन्छ । उसले जुन रुट बनायो, सबै आरोहीले त्यसलाई पच्छ्याउनै पर्छ ।

एउटै रुटबाट धेरै आरोही उकालो लाग्दा ट्राफिक जाम देखिने गरेको पूर्वअध्यक्ष शेर्पा बताउँछन् । ‘अरु हिमालमा आरोहीले आफ्नो रुट आफै बनाउँदै चढ्न सक्छन् तर, सगरमाथामा त्यसको अनुमति छैन,’ उनी भन्छन्, ‘त्यसकारण मौसम खुलेका बेला एउटा मात्र बाटोबाट धेरै आरोही उकालो लाग्दा जाम देखिनु सामान्य हो ।’

कति सुरक्षित छ आरोहण ?

व्यापारिक आरोहीहरुको लोकप्रिय हिमाल रहेका कारण पनि सगरमाथालाई सकेसम्म सुरक्षित राख्ने प्रयास गरिन्छ ।

पूर्वअध्यक्ष शेर्पा भन्छन्, ‘काठमाडौंबाट वेसक्याम्पसम्म हेलिकोप्टरमा लग्यो, मौसम नखुलेसम्म वेसक्याम्पमा खुवायो, राख्यो, खुलेपछि अगाडी एक जना, पछाडी एक जनाको सहायतामा चुचुरो पुर्‍यायो, फोटो खिच्यो, फर्कियो, ठूलै दूर्घटना नभएसम्म अहिले सगरमाथामा जोखिम छैन ।’

मौसमसम्बन्धी अपडेट लिने अत्याधुनिक प्रविधिसमेत भित्रिसकेका कारण सगरमाथा सुरक्षित बनेको छ ।

कति आरोही पुगे चुचुरोमा ?

जारी सिजनमा शुक्रबारसम्म झण्डै ४ सय ५० आरोही चुचुरो पुगिसकेको अनुमान पर्यटन विभागको छ । शुक्रबारपछि भने मौसम ग्रिएकाले केही दिन आरोहण बन्द हुने आधार शिविरबाट सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए । ‘सम्भवतः २७ तारिखमा बाँकी रहेका आरोही चढ्छन्,’ उनले अनलाइनखबरसँग भनेका छन् ।

यसवर्ष ४४ समूहका ३ सय ८१ आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । उनीहरुका साथमा शेर्पा र सहयोगी आरोही पनि चुचुरो पुग्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?