Comments Add Comment

थानकोट-चित्लाङ सडक बन्द नगर्न चित्लाङवासीको आग्रह

१२ जेठ, वीरगञ्ज । थानकोट-चित्लाङ सडक पुनः बन्द गर्ने हल्ला चलेपछि चित्लाङका बासिन्दाले बिरोध जनाएका छन् ।

०७४ भदौंदेखि अहिलेसम्म काम नगर्ने तर आर्थिक वर्ष सकिन लाग्दा काम गरे जस्तो गरेर आँखामा छारो हाल्न खोजेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

सडक निर्माण गर्ने भन्दै ठेकेदार कम्पनीले दशैं तिहारपछिबाट नै आवागमन बन्द गरेको थियो ।

अनुगमनको क्रममा जेसीबीसमेत थन्काएर बसेको पाएपछि स्थानीयले विरोध गर्दै एक साताअघि सवारी सञ्चालन गराएका थिए ।

तर गाउँमा पुनः बाटो बन्द गर्ने हल्ला चलेको छ । बाटो बन्द गर्ने हल्ला चलेपछि स्थानीय युवाहरु देउरालीसम्म पुगेर बस्तुस्थिति बुझेका थिए । कति समयको हो, कति बजेटको हो ? सम्पूर्ण विवरणसहितको पत्र दिएपछि मात्रै काम गर्न दिने अडानमा स्थानीय छन् ।

व्यवसायिक तरकारी खेती हुने पर्यटकीय गाउँ चित्लाङलाई काठमाडौको थानकोट जोड्ने सडक निर्माण सुरु भएको एक दशक वितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन ।

बाटो सुरु भएको केही दिनमै बन्द गर्ने हल्ला चलाएपछि त्यसको विरोधमा स्थानीय एकजुट भएको नवराज महतले जानकारी दिए ।

चित्लाङ थानकोट सडक बन्द गर्ने हो भने वैकल्पिक बाटो दिनुपर्ने आवाज गाउँमा उठेको सन्तोष लामा बताउँछन् ।

‘दक्षिणकालीको बाटो मर्मत हुँदैछ, जान दिँदैनन्, चखेलको बाटो पनि बन्द हुने अवस्थामा छ,’ उनले भने, ‘काठमाडौंको छेउमै भएर हामीलाई काठमाडौं जान सास्ती भोग्नुपर्ने ? विकल्पमा केबुलकारको बाटो प्रयोग गर्न दिनुपर्ने आवाज गाउँमा उठेको छ । ‘

त्यसका लागि वडा कार्यालयमार्फत पहल गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

जर्बजस्ती गरेर ठेकेदार पक्षले सडक बन्द गरेको खण्डमा कडा प्रदर्शनमा उत्रन सक्ने चेतावनी स्थानीयको छ ।

दिउँसो सवारीसाधन सञ्चालन हुन दिएर राति-राति सडक निर्माण गर्न गर्नुपर्ने तर्क उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment