Comments Add Comment

‘कति पटक सगरमाथा चढ्नुहुन्छ भनेर नसोध्नुस्’

११ जेठ, काठमाडौं । जब कामीरिता शेर्पा सगरमाथा चढ्ने तयारीमा गर्छन्, धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पासहित परिवारका सबैको आग्रह हुन्छ,  भयो, अब नजाउनुस् ।’

तर उनी कहाँ मान्थे ? तर्क गर्छन्, क्याप्टेनले विमान उडाउन छाड्यो भने के गर्ने ? हामी पनि हिमाल आरोहणको क्याप्टेन नै हौं । हामीले नेतृत्व नगर्ने हो भने अरूले हिमाल चढ्न सक्दैनन् । त्यसैले जानुपर्छ ।’

जेठ ७ गते २४औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउका उनी कामीरिता शनिबार काठमाडौं आइपुगेका छन् । उनले एक साताको बीचमा दुई पटक आरोहण गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै कामीरिताले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुसी लागेको बताए । उनी जति खुसी छन्, त्यो भन्दा धेरै खुसी उनकी धर्मपत्नी ल्हाक्पा जाङबु देखिएकी थिइन् ।

कामीरिताले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताए । ‘कति पटक सगरमाथा चढ्नुहुन्छ भनेर नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो प्यासन हो,’ उनले भनेका छन् ।

कामीरितालाई विमानस्थलमा शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामासहितका पदाधिकारी लगायतले स्वागत गरेका हुन् ।

सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका थिए । त्यसअघि १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३औं पटक आरोहण गरी कीर्तिमान बनाएका थिए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताएका छन् । शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले २००९, २०१० र २०१३ मा दुई-दुई पटक सगरमाथा चढेका थिए ।

कामीरितापछि हालसम्म आप्पा शेपा, ङ्मिानुरु शेर्पा र फुर्वाटासी शेर्पाले समान २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाले समान १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेकाअनुसार यस याममा शनिबारसम्म करीब ६०० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यो विभिन्न एजेन्सीमार्फत आएको विवरण हो । कति सङ्ख्यामा आरोहण भयो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार सगरमाथाको आरोहण १३ गते सोमबार सकिनेछ । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

राससको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment