+
+

सात करोड नक्कली भारु गन्न दुईघण्टा ! युनुस आफैं प्रहरीको शरणमा !

कराँचीबाट कतार हुँदै पाकिस्तानीले भित्र्याए नक्कली नोट

गौरव पोखरेल गौरव पोखरेल
२०७६ जेठ १० गते २२:२१

१० जेठ, काठमाडौं । शुक्रबार बिहान ८:२४ मा कतार एयरवेजको क्यूआर ६४४ विमानमार्फत तीनजना पाकिस्तानी नागरिक काठमाडौंमा ओर्लिए । उनीहरुले ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय नोट काठमाडौं भित्र्याएका थिए । सुटकेशभित्र रहेका दुई हजार दरका ती नक्कली नोटहरु गन्न विमानस्थलका कर्मचारी र सुरक्षाकर्मीलाई दुई घण्टाभन्दा बढी समय लाग्यो ।

नक्कली नोटको सनसनीपूर्ण गणना एकातिर छँदैछ, अर्कोतिर प्रहरीद्वारा ‘नक्कली भारु’का पर्यायवाची मानिँदै आएका ‘युनुस अन्सारी’ नाटकीय तरिकाले समातिए । घटनाक्रम हेर्दाखेरि युनुसले प्रहरीले पक्राउ गरेको भन्दा पनि उनले आफ्नै रहरले आत्मसमर्पण गरेजस्तै अनौठो दृश्य देखियो विमानस्थलमा ।

भारतीय पक्षको तारो बन्दै आएका युनुसले जेलबाट छुटेपछि आफूलाई असुरक्षित ठान्दै आएका थिए । त्यसो त उनी काठमाडौंको जेलभित्रै रहँदा पनि भारतीय सुटरको आक्रमणमा परेर मुस्किलले ज्यान जोगाउन सफल व्यक्ति हुन् ।

युनुसको ‘क्राइम स्टोरी’ सुन्नुभन्दा पहिले विमानस्थलमा शुक्रबार साढे ७ करोड नक्कली भारु कसरी समातियो भन्ने चर्चा गरौं–

कसरी समातियो नक्कली भारु ?

कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए । पाकिस्तानबाट नेपालका लागि सिधा उडान नभएकाले उनीहरुले यो रुट प्रयोग गरेका हुन् ।

पाकिस्तानको कराँचीबाट कतार हुँदै आएका उनीहरुसँग ७ वटा लगेज थिए । तीमध्ये नासिरसँग रहेका दुईवटा ‘सुटकेश’ एक्सरे मेसिनमा हाल्ने वित्तिकै शंकास्पद ‘इमेज’ कर्मचारीले देखे । त्यसपछि झोलामा केही भएको संकेतसहित अगाडि पठाइदिए ।

विमानस्थलमा भएको एक्सरे मेसिनले इमेज देखाइदिएका आधारमा भन्सारले सामानको प्रकृति पत्ता लगाउने हो । जस्तैः सुन हुँदा कालो दृश्य देखिन्छ भने कागजको पहेँलो हुन्छ ।

‘नासिरको ब्याग चेक गर्दा खँदिलो दृश्य देखिएको थियो’, विमानस्थलका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘त्यसपछि अगाडि रहेको अर्को एक्सरेमा परीक्षणका लागि पठायौं ।’

सामान्यताः विमानस्थलमा एकपटक मात्रै एक्सरे जाँच गरिन्छ । तर, शंकास्पद लागेको अवस्थामा यो घटनामा झैँ दोस्रोपटक पनि जाँचिन्छ । यो स्टेपमा पनि उस्तै दृश्य देखेपछि कर्मचारीले भन्सार प्रमुख गजेन्द्र ठाकुरलाई खबर गरे ।

‘मैले खबर पाउँदासम्म हामीलाई त्यो नक्कली नोट होला भन्ने लागेको थिएन’, ठाकुरले सुनाए, ‘कार्यालयमा ल्याएर खोलेपछि मात्रै हामीलाई शंका लागेको हो ।’ त्यसपछि ठाकुरले नै विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीलाई खबर गरे ।

उनीमार्फत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी हुँदै प्रहरी प्रधान कार्यालय र विशेष ब्युरोसम्म घटनाबारे जानकारी पुग्यो । अनि, सुरु भयो प्रहरीको ‘कोभर्ट अपरेश’ ।

प्रहरीले ब्यागलाई खन्याएर बाहिरै राखेको थियो । त्यसको छेऊमा पुगे, मोहम्मद र नादिया । नादियाले लगेजमा भएको ‘ट्याग प्लेट’ च्यातिन् । प्रहरीले त्यो दृश्य हेरिरहेको थियो ।

तर, प्रहरीले उनलाई सोधपुछ गर्दा त्यो सुटकेश आफ्नो नभएको दाबी गरिन् । एक अनुसन्धान अधिकारी भन्छन्, ‘हामीले समातेर सीसी टीभी फुटेज नदेखाउञ्जेलसम्म पनि उनी झोला आफ्नो नभएको कुरामा अडिग थिइन् ।’

जब उनले लगेजको स्टीकर च्यातेको फुटेज देखियो, नादिया मौन बसिन् । त्यसलगत्तै मोहम्मद पनि पक्राउ परे ।

नासिरलाई पछ्याउँदा…

भन्सारले प्रहरीलाई अनुसन्धानका लागि जिम्मा लगाइसकेपछि नासिरलाई खाली झोला बोकेर बाहिर जान दिइएको थियो । उनीहरुलाई विशेष ब्युरो र विमानस्थल प्रहरीको सादा पोशाकको टोलीले फलो गरिरहेको थियो ।

टर्मिनलबाट बाहिर निस्किएको केहीवेरमै देखिएका दुई व्यक्तिसँग उनले परिचित जस्तो स्वभाव देखाए । प्रहरी अधिकारी सर्तक थिए, नजिक गएर दुवैलाई समातिहाले ।

पक्राउ पर्ने दुईजना थिए, रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट । सामान्य सोधपुछमै उनीहरु सजिलै बताइदिए, त्यो नक्कली नोट युनुस अन्सारीको हो । भारतीय जाली नोट तस्करीमा चर्चित अन्सारीको नाम सुनेर अनुसन्धान अधिकारी चकित भए ।

अधिकारीहरुका अनुसार अन्सारीको समूहले यसअघि नक्कली नोट ल्याउँदा फल्स बटम बनाएर लुकाउने गरेको थियो । तर, यो पटक सुटकेशमा हालेर खुइँखुइँ बोकेर ल्याउनुले पनि शंका गर्ने ठाउँ दिएको छ

‘उनीहरुबाटै अन्सारी अन्तरराष्ट्रिय उडानतर्फ रहेको कार पार्किङ क्षेत्रमा रहेको सूचना प्राप्त भएको थियो’, विमानस्थल प्रहरी स्रोत भन्छ, ‘उनीहरुले प्रहरीकै अगाडि अन्सारीलाई फोन गरेका थिए ।’

यसरी खान र रानाभाटको सूचनामा प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको थियो । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीका अनुसार खान अन्सारीका सालो हुन् भने रानाभाट सवारी चालक । विमानस्थलभित्रै रकम बरामद भएकाले प्रहरीले गाडी भने नियन्त्रणमा लिएन ।

भन्सारभित्रै दुई घण्टा नक्कली नोटको गणना

प्रहरीको अपरेशन चल्दै गर्दा त्रिवि भन्सारले नेपाल राष्ट्र बैंकलाई नोट परीक्षणका लागि पत्राचार गरिसकेको थियो । उपकरण ल्याएर जाँच्दा बरामद नोट नक्कली भएको प्रमाणित भयो । त्यसपछि प्रहरीको उपस्थितिमा नोट गणना सुरु भयो । ‘दुईवटा ब्रिफकेशमा भएको कागज र प्याष्टिकले बेरेर नोट राखिएको थियो’, अनुसन्धान अधिकारी भन्छन्, ‘झण्डै दुई घन्टा लगाएर नोट गनिसकिएको थियो ।’

एक सुरक्षा अधिकारीका अनुसार नोटमा नम्बर नमिलाई राखिएका कारण पनि गणना गर्न समस्या भएको थियो । स्रोतका अनुसार ४ वटा समूह बनाएर पैसा गनिएको थियो । त्यसक्रममा बरामद रकमको कुल परिणाम ७ करोड ६७ लाख ९४ हजार निस्किएको थियो । डीआईजी थापा भन्छन्, ‘सुटकेशभित्र रहेका सबै नोट दुई हजार दरका थिए ।’

गणनापछि मुचुल्का गरेर अपरान्ह साढे ४ बजे महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरिएको थियो ।

नक्कली भारुको धन्दा

नक्कली भारतीय नोटको विषयमा अनुसन्धान गरेका एक पूर्वप्रहरी अधिकारीका अनुसार अहिले जाली नोट भारतमा चलाउन त्यति सहज छैन । अहिले भारतमा जारी २ हजार रुपैयाँको नोटमा १८ वटा सेक्यूरिटी फिचर छ । ‘त्यसैले सर्वसाधारणलाई नक्कली र सक्कली नोट छुट्टाउन धेरै सहज पनि हुन्छ’, ती अधिकारी भन्छन्, ‘फेरि नक्कली नोट ठूलो पसलमा जाने होइन । सामान्य रिटेलर पसलमा लगिने हो ।’

यद्यपि, अहिले भारतमा सामान्य पसलमा पनि यूभी लाइट राख्ने गरिएको छ । जसमा हालेर हेर्ने वित्तिकै नोट नक्कली हो कि सक्कली भन्ने छुट्टी हाल्छ । अधिकारीहरुका अनुसार अन्सारीको समूहले यसअघि नक्कली नोट ल्याउँदा फल्स बटम बनाएर लुकाउने गरेको थियो । तर, यो पटक सुटकेशमा हालेर खुइँखुइँ बोकेर ल्याउनुले पनि शंका गर्ने ठाउँ दिएको छ ।

अध्यागमन विभागसँग भएको रेकर्ड अनुसार शुक्रबार पक्राउ परेका मध्ये दुई पाकिस्तानी नागरिक एक महिनाअघि पनि काठमाडौं आएका थिए । मोहम्मद र नादिया गत महिना १३ अप्रिलमा नेपाल आएको रकर्ड छ । उनीहरु पर्यटक भिषामा १५ दिनका लागि नेपाल छिरेका थिए । त्यसबेला उनीहरु विरयानीमा प्रयोग हुने मसला लिएर नेपाल छिरेका थिए ।

नासिर भने पहिलो पटक नेपाल आएका हुन् । अनुसन्धान अधिकारीसमक्ष उनले आफूलाई ब्यागमा नक्कली नोट भएको थाहै नभएको वयान दिएका छन् । योपटक नोट बरामद भएको बाहेक ५ वटा लगेजमा मसला र लुगाफाटा पनि थिए ।

को हुन् युनुस ? किन दिए आफैं गिरफ्तारी ?

युनुस अन्सारी बाराका पूर्वमन्त्री एमाले नेता सलीम मिया अन्सारीका छोरा हुन् । उनी पहिलो पटक पक्राउ पर्नुअघि काठमाडौंमा एक निजी टेलिभिजनका सञ्चालक थिए । तर, पक्राउ परेसँगै उनको टेलिभिजन बन्द भएको थियो ।

अनुसन्धान अधिकारीहरुका अनुसार अन्सारी नेपालमा नक्कली भारतीय नोट भित्र्याउने मुख्य व्यक्ति हुन् । ‘उनीहरुको भाषामा यसलाई बुगी पनि भनिन्छ’, ती अधिकारीले भने, ‘नेपालसम्म रकम ल्याइसकेपछि विभिन्न ठाउँमा रहेको सञ्जालमार्फत थोरै थोरै परिणाममा भारततिर पैसा पठाउने गरेको देखिन्छ ।’

अन्सारी कुस्ती खेलाडी संघका पूर्वअध्यक्ष समेत हुन् । उनकी बहिनी उषाकिरण पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट समानुपातिक सांसद बनेकी थिइन् । प्रहरी अधिकारीहरुका अनुसार उनी पहिले अनौपचारिक कुराकानीमा आफू नक्कली नोटको कारोबारी नभएको दाबी गर्थें । उनी भन्थे, ‘म नक्कली नोटको कारोबारी होइन तर, मलाई जबरजस्ती हो नै भन्छन् भने किन नगर्ने ?’

हरेकपटक भारतीय नक्कली नोट बरामद हुँदा प्रत्यक्ष वा परोक्ष रुपमा युनुसको संलग्नता देखिने गरेको प्रहरी अधिकारीहरुले दाबी गर्दै आएका छन् । युनुस एकपटक वा दुईपटक मात्र होइन, पटक–पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । पछिल्लो पटक २ फागुन ०७४ मा उनी नख्खु कारागारबाट छुटेका थिए । थुनामुक्त भएको एक वर्षपछि शुक्रबार उनी ७ करोड बढी नक्कली नोटसहित पुनः नाटकीय ढंगले पक्राउ परेका छन् ।

अन्सारीको पक्राउ यसकारण पनि प्रहरीलाई सहज भयो कि उनी ७ करोड नक्कली नोटका ‘भरिया’ जसरी विमानस्थल पुगेका थिए । अघिल्ला घटनामा चाहिँ राजधानीको विभिन्न ठाउँमा बसेका बेला ‘भरिया’ मार्फत उनीकहाँ प्रहरी पुग्थ्यो । तर, योपटक पाकिस्तानी नागरिकले ल्याएको नक्कली नोटको सुटकेश लिन उनी आफैं विमानस्थल पुगे ।

आतंकवाद र गम्भीर प्रकृतिको अनुसन्धान गर्ने निकाय विशेष ब्युरोका एक कनिष्ठ अधिकारी अनलाइनखबरसँग भन्छन्, ‘यो त लु मलाई समात् भनेको जस्तो देखियो !’

अनुसन्धान अधिकारीहरु सालो र सवारी चालकलाई समेत अन्सारी आफैंले प्रहरीलाई फोन गर्न लगाएको हुनसक्ने आशंका गर्छन् । ‘नत्र पटकपटक जेल पक्राउ परिसकेर जेल पुगिसकेको व्यक्ति आफैं विमानस्थलसम्म पुग्नु आवश्यकै थिएन’, एक सुरक्षा अधिकारीले भने, ‘यसले थुप्रै शंका गर्ने ठाउँ दिएको छ । जुन विषयमाथि गहिरो अनुसन्धान हुनु आवश्यक छ ।’

विमानस्थलबाट समातिएपछि पत्रकार सम्मेलनमा उपस्थित हुँदा समेत अन्सारी मुस्कुराइरहेका थिए । उनको गुहारमा गिरफ्तार हुँदा कुनै ग्लानीको भाव थिएन । बरु पक्राउ परेकी महिला भने आफूलाई केही थाहा नभएको बताइरहेकी थिइन् ।

माक्स समेत नलगाई ढाका टोपीमा सजिएर पत्रकार सम्मेलनमा उपस्थित भएका अन्सारीले आफूले माक्स लगाउनु आवश्यकै नभएको बताए । डीआईजी थापा भन्छन्, ‘हामीले माक्स लगाउन आग्रह गरेका हौं । तर, उनैले मानेनन् ।’

अन्सारीले पुनः पुरानै समूहबाट थ्रेट महसुस गरेपछि सुरक्षित हुन आत्मसमर्पणको बाटो अपनाएको हुनसक्ने अधिकारीहरु बताउँछन् । उनी भन्छन्, ‘अहिले भारतमा नरेन्द्र मोदीको जीत भएपछि त झन् उनले असुरक्षित महसुस गरेको हुनसक्छ ।’

तर, अन्सारीको गतिविधि ओपन सेक्रेट भइसकेका उनले मोदीको जीत/हारभन्दा पनि उनी जुनसुकै वेला पनि थ्रेटमा रहने कतिपय अधिकारीको बुझाइ छ ।

जेलभित्रै भारतीय सुटरको हमला

प्रहरीको दाबीअनुसार भारतको जाली नोट तस्करीमा संलग्न भएकै कारण युनुस अन्सारी भारतीय सुरक्षा अधिकारीको टार्गेटमा थिए । ६ असोज ०६७ मा विमानस्थलबाट बरामद भएको करिब ४१ लाख नक्कली भारतीय रुपैयाँ पनि उनकै संलग्नतामा भित्रिएको दाबी गरिएको थियो । अन्सारी पहिलो पटक १८ पुस ०६६ मा नक्कली भारतीय रुपैयाँ र साढे ३ किलो खैरो हिरोइनसहित पक्राउ परेका थिए । तर, जेलभित्रै रहँदा पनि उनको कारोबार रोकिएको थिएन ।

भारतीय पक्षले अन्सारीले पाकिस्तानी गुप्तचर संस्था आईएसआईका लागि काम गरिरहेको दाबी गरेको थियो । अन्ततः २६ फागुन ०६७ मा उनीमाथि कारागारभित्रै गोली हानी हत्या गर्ने प्रयास भयो । तर, अन्सारीको भाग्य ! सुटर जसजित सिंहले बोकेको कट्टुमा लुकाएर लगेको बन्दुक पहिलो प्रयासमा पड्किएन ।

‘पहिलो पटक नपड्किएपछि सिंहले दोस्रो पटक पनि गोली चलाउने प्रयास गरे । तर, त्यो पनि विफल भयो’, युनुस गोली काण्डको छानविन समितिमा काम गरेका एक अधिकारी भन्छन्, ‘तेस्रो प्रयासमा मात्र गोली चलेको भएता पनि अन्सारी संयोगले जोगिए ।’

गोली ननिस्कँदाको करिब ५ सेकेण्ड मौका पाउँदा अन्सारीले लुक्ने मौका पाएका थिए । त्यसपछि बाहिर आएर बन्दुक फ्यालेर उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । पछि अन्सारीमाथि अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवले गोली हान्न सजित सिंहलाई लगाएको सार्वजनिक भएको थियो ।

त्यसवेला उनीमाथि चलेको खोटाचलन मुद्दामा अन्सारी १८ असोज ०७० मा छुटेका थिए । तर, त्यत्रो घटनापछि पनि उनले कारोबार नरोकेको प्रहरीको भनाइ छ ।

१० माघ ०७० मा अन्सारी पुनः नक्कली नोटसहित पक्राउ परे । यो मुद्दामा भने उनी नख्खु कारागार चलान गरिएका थिए भने २ फागुन ११ उनी थुनामुक्त भएका थिए । तर, शुक्रबार पुनः उनी नक्कली नोटसहित नाटकीय तरिकाले समातिएका छन् ।

प्रहरीको दाबीअनुसार अन्सारी पछिल्लोपटक जेलबाट छुटेपछि पाकिस्तानतिर छिरेका थिए । तर, उनी कहिले फर्किए भन्ने सूचना छैन ।

तस्वीरहरु: चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?