Comments Add Comment

कुलेखानी तेस्रोबाट असारदेखि विद्युत उत्पादन

१२ जेठ, हेटौंडा । कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट असार मसान्तबाट उत्पादन सुरु हुने भएको छ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असार मसान्तबाट कुलेखानी तेस्रोबाट उत्पादन सुरु हुने बताए । यसअघि पुस महिनामा परीक्षण उत्पादन गर्ने भनिएको थियो । निर्माण कम्पनीको ढिलाइले तोकिएको समयमा परीक्षण उत्पादन नभएको हो ।

प्राधिकरणको आयोजनाहरुको निरीक्षणको क्रममा हेटौंडा आएका कार्यकारी निर्देशक घिसिङले कुलेखानी तेस्रोको १०÷१५ दिनमा उत्पादन परीक्षण सुरु गर्ने बताए । चिनिया कम्पनीको ढिलासुस्तीले तोकेभन्दा ढिला काम भएको आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । कुलेखानी ३ जलविद्युत् आयोजनाको विद्युतगृहमा जडान गरिएका उपकरणहरूको परीक्षण थालिएको छ ।

सिभिलसँगै मुख्य सुरुङ र पेनेस्टक पाइपको परीक्षण भइसकेको छ । दुई सातायता भने उपकरणहरूको परीक्षण भइरहेको हो ।

तीनवटा टावर निर्माण गर्नुपर्नेमा दुईवटा सम्पन्न भइसकेका छन् भने साताभित्रै अर्कोको पनि काम सकिने आयोजनाले जनाएको छ । साना–ठूला गरी विद्युत्गृहमा ५ सय ६० वटा उपकरण छन् । परीक्षण कार्यमा चिनियाँ निर्माण कम्पनीका चारजना प्राविधिक खटिएका छन् ।

चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिनाभन्दा पछाडि धकेलिएको छ । चिनिया कम्पनीले विभिन्न वाहाना बनाएर ढिलासुस्ती गरेकाले समयमा निर्माण कार्य सम्पन्न नभएको होे । २ अर्व ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ११ वर्षअघि निर्माण कार्य सुरु गरेको उक्त आयोजनाको लागत वृद्धि भएर अहिले ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

मुख्यमन्त्री र कुलमानबीच छलफल

प्रदेश ३ भित्र जलविद्युत परियोजनाको सम्भावना र योजना सञ्चालन गर्ने सम्बन्धि मुख्यमन्त्री र नेपाल बिद्युत प्राधिकरणका प्रमुखबीच छलफल भएको छ ।

आइतबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जलविद्युत परियोजना सञ्चालनका विषयमा मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच छलफल भएको हो ।

प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा जलविद्युत परियोजना सञ्चालनको लागि बजेट विनियोजन गर्ने तयारी गरेकोमा प्रदेशभित्र परियोजना सञ्चालनको सम्भावनाबारे प्राधिकरणको राय लिएको हो । प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी प्रणाली अन्तर्गत जलबिद्युत परियोजनामा लगानी गर्नेबारे सोच बनाएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

यस्तै प्रदेश सरकारले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिरहेकोमा प्राधिकरणको तर्फबाट विद्युतीय बसको लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको लागि समेत प्राधिकरणलाई आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रदेश भित्रका सम्भावित जलविद्युतका परियोजनाहरु निजी क्षेत्रले होल्ड गरेर बसेको बताए । प्रदेशभित्रका अधिकांश परियोजनाहरु निजी क्षेत्रले काम गर्ने भनी उर्जा मन्त्रालयसंग स्वीकृत लिएर बसेको र यदि तोकिएको समयसम्म उनीहरुले क्ुनै काम नगरेमात्र सरकारले सम्झौता रद्द गर्नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment