 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल ७ कात्तिकमा सकिएपछि सरकारले एक सातासम्म नयाँ प्रमुख नियुक्त गर्न सकेको छैन।
- नेवानिको प्रमुख पद खाली हुँदा उपप्रबन्ध निर्देशक जनकराज कालाखेतीले कामुको जिम्मेवारी पाउनुपर्नेमा नियुक्ति प्रक्रिया रोकिएको छ।
- कार्यकारी अध्यक्ष अधिकारीले नियुक्त गरेका करार कर्मचारीलाई ११ कात्तिकमा नेवानिमा हाजिर गराइएको छ।
१४ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) कार्यकारी अध्यक्षबाट युवराज अधिकारीले अवकास पाएको एक सातासम्म पनि सरकारले न नयाँ प्रमुख नै नियुक्त गर्न सकेको छ, न कसैलाई कायममुकायम (कामु) नै तोकेको छ ।
अधिकारीलाई तत्कालीन मन्त्रिपरिषद्ले चार वर्षका लागि ९ कात्तिक २०७८ मा कार्यकारी अध्यक्ष नियुक्त गरेकोमा उनको कार्यकाल ७ कात्तिकमा सकिएको थियो । त्यसको एक साता बितिसक्दा पनि सरकारले नेवानि कार्यकारी प्रमुखबारे अझै टुंगो लगाउन सकेको छैन ।
हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिरहेकी छिन् । तर, नेवानि प्रमुखको जिम्मेवारी कसैलाई नतोक्दा दैनिक प्रशासनिक काममा समेत समस्या भइरहेको स्रोतले बतायो ।
‘नेवानिको कार्यकारी प्रमुख सीमित अवधिका लागि बाहिर जाँदासमेत कसैलाई निमित्त तोकेर जानुपर्ने हुन्छ, अहिले त कार्यकारी प्रमुखको पद नै खालि छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘तत्काल सो पदमा नयाँ नियुक्ति हुन नसक्ने हो भने सबैभन्दा उच्च पदको कर्मचारीलाई कामुको जिम्मेवारी दिनुपर्नेमा त्यो पनि हुन सकेको छैन ।’
आफ्नो चार वर्षे कार्यकालमा अनियमितता र विवादका शंङ्खलाबद्ध काण्ड चलाएका नेवानिनिगमका निवर्तमान अध्यक्ष अधिकारीले उक्त पदमा दोहोरिनका लागि निकै ठूलो कसरत गरेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनै अधिकारी आफूअनुकूलका कनिष्ठ कर्मचारीलाई कामु दिलाउन सक्रिय भएपछि सरकारले कामु तोक्न ढिलाइ गरेको एक सरकारी स्रोतले अनलाइनखबरलाई बतायो ।
नेवानि प्रबन्ध निर्देशक १२औं तहको कर्मचारी हुन्छ । हाल त्यसभन्दा तल ११औं तहमा एकजना उपप्रबन्ध निर्देशक जनकराज कालाखेती छन् । त्यस्तै दसौं तहमा प्राविधिकतर्फ दुई निर्देशक छन् । १०औं तहका निर्देशक डोलेश्वर कोइराला तत्कालीन अध्यक्ष अधिकारीका ‘विश्वासपात्र’ हुन् । ग्राउन्ड सपोर्ट विभागका निर्देशक उनलाई अधिकारीले निमित्त उपप्रबन्ध निर्देशकको जिम्मेवारी दिएका थिए ।

त्यस्तै १०औं तहमा नै ‘कन्टिनुइङ एयर वर्दिनेस म्यानेजमेन्ट’ विभागका निर्देशक महेशकुमार मारिता पनि काम गरिरहेका छन् ।
१२औं तहका प्रबन्ध निर्देशक/महाप्रबन्धकको पद खाली हुँदा स्वाभाविक रूपमा त्यसमुनिका सबैभन्दा उच्च तहका कर्मचारीलाई कामुको जिम्मेवारी दिनुपर्ने हो ।
‘हाल नेवानिको उपप्रबन्ध निर्देशक रहेका कालाखेतीले स्वाभाविक रूपमा कामुको जिम्मेवारी पाउनुपर्ने हो । तर, प्राविधिक निर्देशक कोइराला र अपरेसन विभाग प्रमुख क्याप्टेन दीपु ज्वार्चन चाहिँ अस्वाभाविक रूपमा कामुको जिम्मेवारी लिन भनेर दौडधुप गरिरहेको देखिन्छ,’ स्रोतले भन्यो ।
यसअघि सरकारले तत्कालीन कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असार २०७९ मा पदबाट निलम्बन गरको थियो भनेपछि बर्खास्त गरेको थियो । त्यहीबीचमा ९ असार २०७९ मा ज्वार्चनलाई सरकारले अस्थायी रूपमा महाप्रबन्धकको काम गर्ने गरी नियुक्त गरेको थियो । तर, सर्वोच्च अदालतले ज्वार्चनको नियुक्तिलाई अवैधानिक भन्दै खारेज गरिदिएको थियो ।
त्यसबाहेक योग्यता नै नपुग्ने ज्वार्चन अपरेसन डाइरेक्टरमा नियुक्त भएपछि उनले पाइलटहरूको उडान तालिका निर्धारणमा आर्थिक अनियमितता गरेको आरोप पनि लागेको थियो ।
१६ जुलाई २०१९ मा ज्वार्चन अपरेसन डाइरेक्टर पदमा नियुक्त भएका थिए । तर, त्यस पदमा नियुक्त हुन आवश्यक योग्यता नै पुग्दैनथ्यो । योग्यता र वरिष्ठतामा पनि तल रहेका ज्वार्चनलाई सोही पदमा नियुक्त गरिसकेपछि मात्रै २८ अगस्ट २०१९ मा उनलाई अनुकूल हुने गरी अपरेसन डाइरेक्टर पदका लागि आवश्यक योग्यता संशोधन गरिएको थियो । त्यस विषयमा राष्ट्रिय सतर्कता केन्द्र तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरेका थिए ।
ती निकायले गरेका छानबिन क्रममा उनलाई अपरेसनस डाइरेक्टर नियुक्त गर्दा वरीयता क्रम, योग्यता र कार्यक्षमता आधार नमानी जथाभावी नियुक्त गरिएको पत्ता लागेको थियो । त्यसबेला उक्त पदमा नियुक्त हुनका लागि कम्तीमा पनि २० वर्ष काम गरेको र कुनै नियामकीय कारबाहीमा नपरेको हुनुपर्ने योग्यता थियो ।

तर, त्यसबखत नेवानिका पाइलटहरूको वरीयतामा १९औं नम्बरमा रहेका र जम्मा १२ वर्षमात्रै काम गरेका ज्वार्चनलाई नियुक्ति दिइएको थियो ।
ज्वार्चन पटक–पटक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कारबाहीमा परेका छन् । प्राधिकरणको अनुमति नै नलिई नेवानिको एउटा वाइड बडी जहाज इटाली पुर्याएको आरोपमा तत्कालीन अध्यक्ष अधिकारीसँगै ज्वार्चन पनि कारबाहीमा परेका थिए ।
प्राधिकरणले ११ असार २०८१ मा नागरिक उड्डयन नियमावली २०५८ को नियम ८० र एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) १.१२.४ बमोजिम अपरेसन डाइरेक्टर पदबाटै बर्खास्त गरिदिएको थियो ।
त्यसअघि उनलाई हवाई उड्डयन सम्बन्धी कानुन उल्लंघन आरोपमा १४ फेब्रुअरी २०१७ मा पनि जरिबाना तिराएको थियो । यसअघि पनि केही दिन नेवानिको कामु महाप्रबन्धक भइसकेको भन्दै ज्वार्चन पुन: सोही पदमा जान चाहेका छन् ।
१०औं तहका निर्देशक कोइरालाले यसअघिका कार्यकारी अध्यक्ष अधिकारीले प्रतिस्पर्धाविना नै अवैधानिक रूपमा नियुक्त गरेका ४५ जना करारका कर्मचारीलाई गत ११ गते नेवानिमा हाजिर गराएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4