Comments Add Comment

पाँचथर हत्याकाण्डः त्रासमा छन् आरुबोटेबासी

११ जेठ,   फिदिम । मंगलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् ।

चिया र फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर, राति कोही हुँदैन ।

नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ ।

कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर, त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् । “छ दिन भयो,  निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन”,  चिन्तामा देखिएकी कान्छीमायाले भनिन्,  “साह्रै डर लागेको छ ।  म त एक्लो मान्छे,  अब कहाँ जाने ? के खाने ?”

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ ।

बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । “हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो”, बजिन्द्रप्रसादले भने, “कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।”

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् ।

वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउँछन् । “अहिलेसम्म एक जना मान्छेले सबैको हत्या गर्यो भन्ने पुष्टि भएको छ”, वडाध्यक्ष फियाकले भने, “तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।”

अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भन्छन्, “स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन,  घरमा सुत्नसक्ने अवस्थामा छैन ।”

विभत्स हत्याको दृश्य अधिकांश स्थानीयका आँखामा ताजै छ । मृतक धनराज शेर्माकी छिमेकी यामकुमारी फियाकले भनिन्, “यस्तो घटना हामीले कहिल्यै सुनेका समेत थिएनौँ । नौ÷नौ जनालाई एक्लैले मा¥योभन्दा हामीले कसरी विश्वास गर्ने ?”

आफूहरु राम्रोसँग सुत्न नसकिरहेको यामकुमारीको भनाइ छ । “साना नानीलाई अब केही हुन्न भनेर सम्झाउँनै सकेका छैनौँ”, यामकुमारीले भनिन्, “आधामासु भएर बाँचिरहेका छौँ ।”

यो शान्त बस्तीलाई अहिले त्रासले गाँजेको छ । स्थानीयवासी निर्धक्क भएर बोल्न सकिरहेका छैनन् । “घरेलु हतियार साथमा लिएर,  राम्रोसँग ढोका थुनेर सुत्न आग्रह गरिरहेका छौँ”, स्थानीय अगुवा बजिन्द्रप्रसाद फियाकले भन्छन् , “अहिले त प्रहरी र आफन्तको घुँइचो छ । भोलि स्थानीयवासी मात्रै भएका दिन कसरी डर हटाउने ? केही भन्न सकिरहेका छैनौँ ।”

आमाबाबुको काजकिरिया गरिरहेकी बमबहादुरकी जेठी छोरी दिलमाया फियाक स्थानीयको कुराले आफूहरु असुरक्षित भएको महसुस गरिरहेको बताउँछिन् । “सबैले डर मात्रै देखाउँछन् । घटनामा ज्वाइँ (मानबहादुर माखिम) बाहेक अरुको पनि हात छ भन्छन्”, दिलमायाले भनिन्, “खोइ भोलि कसरी ज्यान जोगाउने ?”

स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न प्रहरीले अझै घटनास्थल छोडेको छैन । पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेल ठूलो घटनापछि स्थानीयमा त्रास हुनु स्वभाविक भएको बताउँछन् । “यत्रो घटना घट्यो, स्थानीयवासी त्रासमा हुनु स्वभाविकै हो”, पौडेलले भने,  “त्रास कम गर्न तथा सामूहिक हत्याका थप प्रमाण फेला पार्न प्रहरीको एउटा टोली घटनास्थलमा परिचालित छ ।”

प्रहरीको टोली केही दिन घटनास्थलमै रहने छ । घटनाको विस्तृत अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली शनिबार नै फिदिम फर्कंदैछ । पौडेलले भने,  “लामो अनुसन्धानपछि टोली फिदिम आउनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment