Comments Add Comment

विदेशबाट ९४ रुपैयाँको आयात गर्दा ६ रुपैयाँको मात्रै निर्यात !

११ वैशाख, काठमाडौं । नेपालमा वैदेशिक व्यापारमा आयातको हिस्सा खुम्चिने र निर्यातको हिस्सा घट्ने क्रम यो वर्ष पनि तीव्र दरमा उकालो लागेको छ । सरकारको ब्यापार घाटाको वृद्धिदर र वैदेशिक ब्यापारको असन्तुलन घटाउने सरकारी रणनीति चालु आर्थिक वर्षमा पनि असफल भएको छ ।

चालु आव २०७५/७६ को पहिलो १० महिनाको आँकडाले ब्यापार घाटाको अवस्था झन् बिग्रदो अवस्थाको संकेत गरेको छ । साउनदेखि चैतसम्मको अवधिमा कुल वस्तु आयात २० प्रतिशतले बढ्दा निर्यात वृद्धिदर १७ प्रतिशतमा सिमित रह्यो ।

यो अवधिमा ११ खर्ब ७८ अर्बको वस्तु तथा सेवा आयात हुँदा ७८ अर्ब ५३ करोडको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ८२ अर्बको आयात भएको थियो भने ६६ अर्ब ६४ करोडको निर्यात थियो ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.८ प्रतिशत छ भने निर्यातको हिस्सा ६.२ प्रतिशत मात्रै छ । आयात-निर्यात अनुपात यो वर्ष बढेर १५ प्रतिशत पुगेको छ । यसअनुसार नेपालले ९४ रुपैयाँको वस्तु आयात गर्दा मुस्किलले ६ रुपैयाँको वस्तु निर्यात गरिरहेको देखिन्छ ।

यो अवधिमा १२ खर्ब ५६ अर्बको वैदेशिक कारोबार भएको छ, यो २० प्रतिशतको बढोत्तरी हो । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा भारतसँग मात्रै ७ खर्ब ११ अर्बको ब्यापार घाटा छ । भारतमा ५० अर्बको निर्यात हुँदा ७ अर्ब ६१ अर्ब बराबरको वस्तु तथा सेवा आयात भएको छ । चीनसँग १ खर्ब ६७ अर्बको ब्यापार घाटा देखिन्छ । १ अर्ब ७८ करोडको वस्तु चीन पठाएको नेपालले त्यहाँबाट १ खर्ब ६९ अर्बको आयात गरेको छ ।

धेरै ब्यापार घाटा हुने मुलुकमा त्यसपछि युएई छ । युएईमा जम्माजम्मी १७ करोडको निर्यात गरेको नेपालले त्यहाँबाट झण्डै २९ अर्ब ८५ करोड अर्बको वस्तु ल्याएको छ । युएईसँग २९ अर्ब ६६ करोडको ब्यापार घाटा देखिन्छ ।

प|mान्सबाट १८ अर्ब ८० करोडको आयात र १ अर्ब ७ करोडको निर्यात हुँदा १७ अर्ब ७३ करोडको ब्यापार घाटा देखिएको छ । यस्तै, इन्डोनेसियासँग १४ अर्ब ६८ करोड, थाइल्यान्डसँग ११ अर्ब ८९ करोड, मलेसियासँग १० अर्ब ६५ करोड र क्यानडासँग १० अर्ब ३४ करोडको ब्यापार घाटा छ ।

नेपालबाट पोलिस्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको भन्सार विभाग बताउँछ । अलैँची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात भने घटेको छ ।

यस्तै पेट्रोलियम पदार्थ, तयारी पोशाक, एमएस बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामग्री लगायतका वस्तुको आयात बढेको छ । सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

यो ९ महिनाको अवधिमा सबै भन्सार नाकाबाट वैदेशिक ब्यापार बढेको छ । सबैभन्दा बढी वृद्धि विराटनगर नाकामा देखियो । विराटनगरको रानी नाकाबाट हुने ब्यापार २९ प्रतिशतले बढ्दा त्रिभुवन विमानस्थल भन्सारबाट २४ तथा वीरगञ्ज नाकाबाट हुने ब्यापार पनि २१ प्रतिशतले वृद्धि भएको छ ।

भैरहवाबाट ४ प्रतिशत र मेचीबाट १० प्रतिशतले बढेको छ । यो ब्यापारमा अधिकांश हिस्सा आयातकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment