Comments Add Comment

विश्वकप नजर : क्रिस गेल र रसेललाई रोक्ने को ?

१३ जेठ, काठमाडौं । विश्वकप क्रिकेट जति नजिकिँदै छ प्रश्न उति बढी सुनिँदै छ, यसपटक कसले जित्ला ? अनुमान गाह्रो भए पनि क्रिकेट प्रेमीहरु कुन देशमा को खेलाडी खेल्दै छन् भन्ने खोजिमा देखिन्छन् ।

विश्वकप मुखैमा आइपुग्दा तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्य बनाएको वेष्ट इन्डिज टिम कस्तो छ त ?

वेष्ट इन्डिजमा विश्वका विष्फोटक ब्याट्सम्यानदेखि विश्वचर्चित बलरसम्म छन् । सन् १९७५ विश्वकप क्रिकेटको पहिलो संस्करण । क्रिकेटको जन्मदाता इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको उपाधि उचालेको वेष्ट इन्डिजले दोस्रो पटक इंग्ल्यान्डमै सन् १९७९ मा भएको विश्वकपको उपाधि दोस्रो पटक जित्दै इतिहास रच्यो ।

यो चार वर्षे अवधि वेष्ट इन्डिजले कहिले विर्सिने छैन बरु त्यस्तै इतिहास रच्न हरपल प्रयासहरु गर्नेछ । इंग्ल्यान्डमा हुने विश्वकप वेष्ट इन्डिजको लागि निकै फलदायी हुने गरेको छ । तेस्रो पटक सन् १९८३ मा इंग्ल्यान्डमै भएको विश्वकपको उपाधिमा हृयाट्रिक गर्नबाट भने वेष्ट इन्डिज चुक्यो । फाइनलमा भारतसँग वेष्ट इन्डिज ४३ रनले चुकेको थियो ।

यो पटक पनि इंग्ल्यान्डमै हुने विश्वकपको उपाधि जित्दै वेष्ट इन्डिज सर्वाधिक विश्वकप जित्ने राष्ट्रको सूचिमा दोस्रो हुने लक्ष्यमा छ । उपाधि दाबेदार बनेर इंग्ल्यान्ड प्रस्थान गरेको वेष्ट इन्डिज टिम विश्वकप जित्न कत्तिको सक्षम छ त ?

चमत्कारी ब्याटिङ !

वेष्ट इन्डिज त्यस्तो राष्ट्र हो जहाँ १० औं र ११ औं स्थानमा ब्याटिङ गर्न आएका खेलाडीले पनि आफ्नो टिमलाई जिताउन सक्छन् । वेष्ट इन्डिजको मुख्य विशेषता भनेकै धमकेदार ब्याटिङ हो । खेल हेर्न आएका दर्शक तथा समर्थकलाई पनि वेष्ट इन्डिजका ब्याट्सम्यानले ब्याटिङबाट भरपुर मनोरञ्जन दिने गर्छन् ।

क्रिकेटका ‘युनिभर्सल बोस’ भनेर चिनिने क्रिस गेल सबैको केन्द्रविन्दुमा हुनेछन् । कप्तान ज्यासन होल्डर, कार्लोस ब्रेथवोइट, शाइ होप, डारेन ब्राभो, शिमरोन हिटमेयर, इभिन लुविस निकोलस पुरन र एन्ड्रे रसेल वेष्ट इन्डिजका ब्याटिङ खम्बा हुन् ।

ओपनिङमा क्रिस गेल र इभिन लेविस आउँदा शाइ होप, कप्तान ज्यासन होल्डर, डारेन ब्राभो, शिमरन हिटमेयर मध्यक्रममा ब्याटिङ गर्न आउने छन् । कार्लोस ब्राथवोइट, निकोलस पुरन र एन्ड्रे रसेल जस्ता विष्फोटक ब्याट्सम्यान फिनिसिङ लाइनमा हुनेछन् ।

वेष्ट इन्डिजको सबै खेलाडी एकसे एक ब्याटिङ गर्नेछन् । तर वेष्ट इन्डिजको खेलमा विशेषरुपमा हुने छन् क्रिस गेल र एन्ड्रे रुसेल । क्रिस गेल त्यस्ता ब्याट्सम्यान हुन् जो विरुद्ध विश्वका सबै बलर डराउने गर्छन् । एक रन र दुई रन कम छक्का र चौका बढी प्रहार गर्ने गेल दुनियाँकै सर्वाधिक आक्रामक ब्याट्सम्यान हुन् ।

सन् २०१५ को विश्वकपमा पनि उनले दोहोरो शतक प्रहार गरेका थिए । उनले विश्वकपमा जिम्बाब्वेविरुद्ध २१५ रन बनाएका थिए । अन्तिम विश्वकप खेल्दै गरेका गेलको लागि यो विश्वकप निकै विशेष हुनेछ । यसपछि गेलले एकदिवसीय क्रिकेट करिअरबाट सन्यास लिदैछन् ।

३९ वर्षीय गेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २८९ खेलबाट १० हजार १५१ रन बनाएका छन् । यो रन बनाउने क्रममा उनले २५ शतक प्रहार गर्दा ५१ अर्धशतक बनाएका छन् । निकै उच्च लयमा देखिएका गेल आफ्नो करिअरकै अन्तिममा वेष्ट इन्डिजलाई विश्वकपको उपाधि दिलाएर विदा हुन चाहन्छ ।

अलराउण्डर एन्ड्रे रसेल वेष्ट इन्डिजका लागि गेम चेन्जर हुन् । आफ्नो टिमलाई जुनसुकै अवस्थामा पनि जिताउन सक्षम रुसेल विष्टफोटक ब्याट्सम्यानको रुपले परिचित छ । उदाहरणको रुपमा फ्रे न्चाइज लिग हेरे पुग्छ ।

बलिङमा सुधार ?

वेष्ट इन्डिज हार्छ त केबल बलिङले । पछिल्लो पटकको इंग्ल्यान्डसँगको सिरिजलाई हेर्ने हो भने पनि हार्नुको मुख्य कारण बलिङ नै देखिन्छ । तर विश्वका उत्कृष्ट बलर नभएको भने होइन ।

शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन, स्यानन गाबि्रयल जस्ता बलर छन् । त्यसो त, क्रिस गेल, कप्तान जासन होल्डर, एन्ड्रे रुसेल र कार्लोस ब्राथवाइट जस्ता अलराउण्डरले बलिङमा पनि निकै भूमिका खेल्नेछन् ।

विश्वकपका लागि टिममा रहेका खेलाडीमा सबै भन्दा बढि विकेट लिने खेलाडी को होला ? क्रिस गेल भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर वास्तविकता यही हो । क्रिस खेल ब्याटिङसँगै बलिङ पनि राम्रो गर्न सक्छन् ।

उनले एकदिवसीय क्रिकेटमा १९५ इनिङ्सबाट १६५ विकेट लिएका छन् । त्यस्तै, कप्तान होल्डरले ९३ इनिङ्सबाट १२१ विकेट लिँदा बलर किमार रोचले ८४ इनिङ्सबाट ११७ विकेट लिएका छन् ।

विश्वकपका लागि वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाबि्रयल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment