Comments Add Comment

सांसदको बजेट बढाएकामा कांग्रेस सांसदले नै दिए अर्थमन्त्रीलाई धन्यवाद

‘नीति निर्माणमात्रै लगाउने भए प्रतिनिधिसभा विगठन गरौं’

१७ जेठ, काठमाडौं । स्थानीय विकास साझेदार कार्यक्रमको बजेट बढाउने अर्थमन्त्रीको निर्णयको नेपाली कांग्रेसकै सांसदले स्वागत गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा छाया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले उक्त कार्यक्रमको विरोध गरे पनि कांग्रेस सांसद डा. नारायण खड्काले सही भएको टिप्पणी गरेका हुन् । यो कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ४ करोडबाट बढाएर ६ करोड रुपैयाँ बनाएकामा खड्काले अर्थमन्त्री खतिवडालाई धन्यवादसमेत दिए ।

‘तपाईको पार्टीले त पत्रकार सम्मेलन नै गरेर यसको विरोध गरेको छ नि’ भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा मलाई जानकारी छैन, पार्टीमा यस विषयमा छलफल नै भएको छैन ।’

उनले पार्टीभित्र व्यापक छलफल नै नगरी पत्रकार सम्मेलन गरेर विरोध गर्नु गलत भएको धारणा राखे । ‘संघले विकास गर्दा संघीयतामा कुनै पनि किसिमको असर गर्दैन, यो आवश्यकता छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘यस विषयमा पार्टीभित्र विशेष छलफल हुनुपर्छ, राम्रोसँग छलफल नै नभई कुनै साथीहरुले पत्रकार सम्मेलन गरेको भरमा हुँदैन, म यसको विपक्षमा छु ।’

‘प्रतिनिधिसभा विघटन गरे हुन्छ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका नेता खड्काले संघीय सांसदहरुलाई नीति निर्माणमात्रै लगाउने भए प्रतिनिधिसभा विघटन गर्नुपर्ने बताए । नीति निर्माणमात्रै गर्नका लागि राष्ट्रियसभा नै पर्याप्त हुने उनले जिकिर गरे ।

‘अर्थशास्त्री भनाउँदा र संघीयताबारे जानकार छु भन्नेहरुले चाहिदैन भनिरहेका छन्, म पनि अर्थशास्त्रकै विद्याथी हुँ’ उनले भने, ‘नीति निर्माणमा मात्रै लगाउने भए राष्ट्रियसभामात्रै राखौं, राज्यको खर्च पनि कम हुन्छ ।’

सांसदहरुसँग जनता प्रत्यक्ष रुपमा जोडिएको भन्दै उनले सांसदलाई विकास निर्माणमा नजोड्ने भए प्रतिनिधिसभाको औचित्य नै नहुने बताए । ‘मैले जनताको अपेक्षा बुझेको छु, हिजो संविधानसभाको निर्वाचनमा पनि जनताले यहाँ सडक आवश्यक छ, बत्ति आवश्यक छ, पानी आवश्यक छ भन्नु भएको थियो’ उनले भने, ‘त्यतिबेला संविधान बनाउनेमात्रै काम थियो, अहिले अझ फरक अवस्था छ जनताले हामीबाट पनि विकासको अपेक्षा गरेका छन् ।’

संघीयता जोगाउनका लागि पनि निर्वाचन क्षेत्रमा बजेट दिनुपर्ने उनले बताए । ‘विश्वका ३ दर्जन बढी देशमा यस्ता कार्यक्रम छन् ,भारतमा १९९० को दशकबाटै ३० लाखबाट शुरु भएको यो कार्यक्रम गत वर्ष ५ करोड थियो अब १० करोड बनाउने तयारी भइरहेको छ’ उनले भने ।

प्रदेश सरकार र स्थानीय तहबाट सम्वोधन गर्न नसकेका आयोजनाहरु यो कार्यक्रमले सम्वोधन गर्ने खड्काले दावी गरे । सांसद खड्का नेपाली कांग्रेसले बनाएको छाया सरकारका परराष्ट्र मन्त्रीसमेत हुन् । उनी उदयपुर क्षेत्र एक बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment