Comments Add Comment

बलियो अष्ट्रेलिया, उत्साहित अफगानिस्तान

१८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलियाले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा हुने अफगानिस्तान र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

कमजोर अफगानिस्तानमाथि अष्ट्रेलिया सहजै जित हात पार्ने लक्ष्यमा छ । तर अफगानिस्तान ‘अन्डर डक’ टिम हो ।

जुनसुकै समयमा ठूला टिमलाई पराजित गर्ने सामर्थ्य अफगानिस्तानसँग छ । अफगानिस्तानले आफ्नो पहिलो खेलमै चमत्कारी प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउने लक्ष्यमा छ । एकपछि अर्को सफलता हात पार्दै आईसीसीको फुल मेम्बर भएको अफगानिस्तानसँग अष्ट्रेलियाले कस्तो प्रदर्शन गर्ला ?

अष्ट्रेलिया अहिले सन्तुलित टिम हो । स्टेभन स्मिथ र डेभिड वार्नर बल टेम्परिङ कान्डको एक वर्षे प्रतिबन्धपछि टिममा फर्किएसँगै अष्ट्रेलिया बलियो भएको छ ।

अष्ट्रेलिया र अफगानिस्तानबीच अहिलेसम्म दुई वटा खेलमा प्रतिस्पर्धा भएको छ । सन् २०१२ मा अफगानिस्तानले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा अष्ट्रेलियाले सहजै पराजित गरेको थियो । सन् २०१५ को विश्वकपमा पनि अफगानिस्तान र अष्ट्रेलियाको भेट भएको थियो ।

यो खेलमा अष्ट्रेलियाले ४१७ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याएको अफगानिस्तान १४२ रनमा अलआउट भएपछि अष्ट्रेलियाले २७५ रनको कीर्तिमानी जित निकालेको थियो ।

अफगानिस्तानको नजर स्मिथ, वार्नर र म्याक्श्वेलमा

अष्ट्रेलियाको लागि यो विश्वकप निकै विशेष हुनेछ । विशेषगरी स्मिथ र वार्नर यो विश्वकपमा आरोन फिन्चको अन्डरमा रहेर खेल्नेछन् ।

बल टेम्परिङ कान्डपछि टिममा फर्किएका स्मिथ र वार्नर अहिले निकै लयमा छन् । २०१५ को विश्वकपमा एक शतक र चार अर्धशतकसहित ४०२ रन बनाएका स्मिथ यो पटक पनि त्यस्तै प्रदर्शन गर्ने लक्ष्यमा छन् ।

डेभिड वार्नर अष्ट्रेलियाका अनुभवि तथा ओपनिङ ब्याट्सम्यान हुन् । सन् २०१५ को विश्वकप अष्ट्रेलियाले जित्दा महत्वपूर्ण भूमिका निभाएका वार्नर यो पटक पनि आफ्नो देशलाई विश्वकप दिलाउन चाहन्छन् । वार्नरलाई आउट गर्न निकै मुस्किल पर्न सक्छ ।

ग्लेन म्याक्श्वेल अष्ट्रेलियाका सबैभन्दा उत्कृष्ट ब्याटिङ अलराउण्डर हुन् । उनी टिमको अवस्था हेरेर ब्याटिङ गर्न आउँछन् । सन् २०१५ को विश्वकप जिताउँन महत्वपुर्ण भूमिका खेलेका म्याक्श्वेल पछिल्लो समयमा निकै लयमा देखिएको छ । ब्याटिङ मात्रै हैन बलिङ पनि उनको उतकै सशक्त रहेको छ । राइट आर्म अफब्रेक बलर म्याक्श्वेलले एकदिवसीय क्रिकेटमा मात्रै ५० विकेट लिएका छन् भने ब्याटिङतर्फ २७०० रन बनाएका छन् ।

अष्ट्रेलियाका लागि राशिद घातक ?

विश्वका नम्बर एक स्पिनर राशिद खान त्यस्ता बलर हुन् जसले आफ्नो छोटो करिअरमै सफल भए । अफगानिस्तानलाई विश्वकपसम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका राशिद अष्ट्रेलियाका लागि घातक सावित हुन सक्छ ।

लेग स्पिनर राशिद जुनसुकै अवस्थामा पनि खेल आफ्नो पक्षमा पर्न सक्छन् । अफगानिस्तानका राशिद मात्रै हैन मोहम्मद नावी मुजिब उर रहमान जस्ता स्पिनर अष्ट्रेलियाका लागि टाउको दुखाई हुन सक्छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन काउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment