Comments Add Comment

ट्रम्प बेलायतको भ्रमणमा, प्रमुख शहरमा विरोध प्रदर्शनको तयारी

२० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि बेलायत भ्रमण गर्ने भएका छन् । तीनदिने राजकीय भ्रमणका लागि पत्नी मिलानियासँगै उनी बेलायत जान लागेका हुन् । तर, ट्रम्पविरुद्ध बेलायतमा विरोध प्रदर्शनको तयारी भइरहेको छ ।

एयरफोर्स वनको विमानमार्फत ट्रम्प स्थानीय समयअनुसार सोमबार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा उनी अवतरण गर्ने बीबीसीले जनाएको छ ।

ट्रम्प र फर्स्ट लेडी मिलानियालाई बेलायतकी रानीलगायत सरकारी अधिकारीहरुले भव्य स्वागतको तयारी गरेका छन् । रानी एलिजावेथले ट्रम्पको सम्मानमा सोमबार बुकिङ्घम प्यालेसमा रात्रिभोजको आयोजना गरेकी छन् ।

ट्रम्प सोमबार नै वेस्टमिनिस्टर ऐवीमा पनि जानेछन् । राजकुमार चार्ल्सलाई पनि उनले भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

ट्रम्प र रानीले बेलायतमा स्थायी बसोबास गर्दै आएकाहरु सहभागी हुने कार्यक्रममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।

ट्रम्पविरुद्ध प्रदर्शनको तयारी

बेलायत सरकार यतिबेला ट्रम्पको स्वागतमा जुटेको छ । ट्रम्पको भ्रमण भव्य बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गरिएको छ । यद्यपि, ट्रम्पका विरोधीहरुले विभिन्न स्थानमा उनीविरुद्ध प्रदर्शनको तयारी गरेका छन् ।

बीबीसीका अनुसार, लन्डन, म्यान्चेस्टर, बेलफास्ट, बरमिंघम र नोटि्टंघमलगायतका स्थानहरुमा ट्रम्पविरुद्ध प्रदर्शनको तयारी भएको बीबीसीको समाचारमा उल्लेख छ ।

ट्रम्पको समर्थन बोरिसलाई

टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गरेपछि बेलायतमा भावी प्रधानमन्त्रीका लागि दौड सुरु भएको छ । भावी प्रधानमन्त्री को बन्छ भन्ने अझै निक्र्योल भएको छैन ।

यहीबीच अमेरिकी राष्ट्रपति ट्रम्पले बोरिसलाई आफ्नो समर्थन रहेको सार्वजनिक गरेका छन् । दी सनसँग कुरा गर्दै उनले बेलायतको भावी प्रधानमन्त्रीमा बोरिस योग्य भएको बताएका हुन् ।

दी टाइम्ससँग कुरा गर्दै ट्रम्पले ब्रक्जिट पार्टी लिडर निगल फरेज यूरोपियन युनियनबाट बाहिरिने सरकारी छलफलमा संलग्न हुनुपर्ने समेत बताएका छन् । पछिल्लो समय बेक्जिटलाई लिएर बेलायतको राजनीति तरंगित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment