Comments Add Comment

ड्रिम विधेयक पास, आप्रवासीलाई अमेरिकी नागरिकता दिलाउने आश

२३ जेठ, काठमाडौं । अमेरिकी संसद्को तल्लो सदनले आधिकारिक कागजातबिनै अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने एक महत्वाकाङ्क्षी विधेयक पारित गरेको छ ।

डेमोक्र्याटिक पार्टीको बहुमत रहेको प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’ नामले चिनिएको विधेयक पारित गरेको हो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटले विधेयक पारित गर्नेमा शंका छ ।

राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले पनि विशेषाधिकार प्रयोग गर्दै विधेयक असफल बनाउने धम्की दिएको छ ।

मङ्गलबार भएको मतदानमा तल्लो सदनका २३७ सदस्यले विधेयकको पक्षमा मतदान गरे भने १८७ विपक्षमा उभिए । पक्षमा रहेकामध्ये सात जना ट्रम्पको रिपब्लिकन पार्टीका हुन् । डेमोक्रेटिक पार्टीक कसैले पनि विपक्षमा मतदान गरेनन् ।

दुबै सदनले विधेयक पारित गरी राष्ट्रपतिले पनि स्वीकृत गरेको खण्डमा नाबालककै रूपमा अमेरिका आई बसोबास गरिरहेका युवाहरूले निश्चित मापदण्ड पूरा गरेपछि स्थायी बसोबासको अधिकार पाउँछन्, जुन अन्ततः नागरिकतामा परिणत हुनसक्छ ।

यसबाट अस्थायी संरक्षित अवस्था (टिपिएस्) प्राप्त गरी अमेरिका बसोबास गरिरहेका नेपाली पनि लाभान्वित हुन सक्छन् । हालसम्म सयौं नेपालीलाई टिपिएस् खारेज भयो भने स्वदेश फर्कनुपर्छ भन्ने डर छ ।

सिनेटबाट विधेयक पारित हुने सम्भावना अत्यन्त न्यून रहे पनि डेमोक्रेटिक पार्टीले यसलाई एक उपलब्धिका रूपमा हेरेको छ । उसले आफ्नो बहुमत भएको सदन मार्फत् आप्रवासी समर्थकको अधिकारका लागि आफू प्रयासरत रहेको देखाउन खोजेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment