Comments Add Comment

कुलमानको निर्देशनपछि हटाउन थालियो बाइपासका पोल

२४ जेठ, चितवन । निर्माणाधीन भरतपुर वाइपास सडक क्षेत्रमा विद्युतका पोल सार्ने काम अघि बढाइएको छ ।

सडक क्षेत्रमा रहेका पोल नहटाउँदा सडक विस्तार कार्यमा अवरोध आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्कालै पोल सार्न निर्देशन दिएका थिए ।

गत जेठ १३ गते चितवन आएका कार्यकारी निर्देशक घिसिङले पोल नसार्दा सडक विस्तार कार्यमा अवरोध आएको जानकारी पाए लगत्तै भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई फोन गरी पोल सार्ने काम अघि बढाउन भनेका थिए ।

कुलमानको निर्देशन लगत्तै जेठ १५ गतेबाट पोल सार्ने काम धमाधम अघि बढेको वितरण केन्द्रका प्रमुख महतोले अनलाइनखबरलाई जानकारी दिए ।

सडकका पोल सार्न सडक डिभिजन कार्यालयले थप रकम नदिएको भन्दैं वितरण केन्द्रले ७० प्रतिशत पोल सारेपछि काम रोकेको थियो ।

पोल सार्न भनेर डिजिभन कार्यालयले प्राधिकरणलाई ७० लाख रकम दिएको छ । तर, वितरण केन्द्रले पहिलो खण्डको पोल सारेको १ करोड १२ लाखको बिल डिभिजनमा पेश गरेको छ । अझै पहिला नै काम गरेको ४२ लाख रकम लिन बाँकी छ । सो सडकखण्डका सबै पोल सार्दा २ करोड २० लाख लाग्ने वितरण केन्द्रका प्रमुख महतोले जानकारी दिए ।

‘कार्यकारी निर्देशक ज्यूले अहिले पैसा नदिए पनि काम नरोक्न भन्नुभयो, हामीले त रकम नदिएसम्म काम नगर्ने मनसाय बनाएका थियौं,’ भरतपुर वितरण केन्द्रका प्रमुख महतोले अनलाइनखबरसँग भने, ‘अब काम सकेर सडक विभागमा बाँकी बिल पेश गछौं, तर अहिले काम अघि बढाएका छौं, काम सक्छौं ।’

अधिकांश पोल सार्ने काम सकिएको तर, जिल्ला प्रशासन कार्यालय अगाडि र आँपटारी क्षेत्रमा पोल सार्न बाँकी छ ।

समयमा नै रुख नकाट्दा र पोल नसार्दा भरतपुर केन्द्रीय बसपार्क चोकदेखि आँपटारीसम्मको सडक विस्तारको काम अति सुस्त भएको छ । रुख कटानी गर्न डिभिजन वन कार्यालयले ५ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ ।

विस २०७३ पुस १९ गते जम्मा ४.४ किलोमिटर सडक दुई लेनको बनाउन काठमाडौँको गौरी पार्वती निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भएको थियो । तर, सडक विस्तारकै क्रममा यहाँको सवारीको चाप वृद्धि भएपछि चार लेन बनाउने निर्णय भएको हो ।

दुई लेनलाई चार लाने बनाउनु पर्ने भएपछि सो कम्पनीले केन्द्रीय बस टर्मिनल चोकलाई शून्य मानेर १ हजार ७ सय मिटरमात्र सडक निर्माण गर्ने जिम्मा पाएको कार्यालयका इन्जिनियर गीताञ्जली कोइरालाले जानकारी दिइन् ।

चालु आर्थिक वर्षको मसान्तसम्ममा काम सक्ने गरी निर्माण समयको म्याद थप गरिएको थियो । सडक निर्माणका लागि मूल्य अभिवृद्धि करसहित १३ करोड ४५ लाख ८२ हजार ७९१ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । सो कम्पनीले १.७ किलोमिटरमा चार लेन बनाउने छ । बाँकी २ हजार ७ सय मिटर सडकको काम भने अर्को आर्थिक वर्षमा गर्ने योजना रहेको छ ।

‘बाँकी कामका लागि बजेट माग गरेका छौँ’, इन्जिनियर कोइरालाले भनिन्, ‘बजेट आइसकेपछि पूरै बाटो चार लेनको हुनेछ ।’ सडकको चौडाइ भाग दुईतर्फी ढलसहित २४ मिटरको हुनेछ, जसमा १४ मिटर पिच हुनेछ ।

दुई वर्षदेखि निर्माण भइरहेको यो सडकखण्डमा सवारी चाप बढी हुने भएकाले प्रत्येक महिना एक जनाको मृत्यु हुने गरेको छ ।

सडकलाई फराकिलो बनाउने क्रममा सडकका छेउका भागहरु चोइटिएर गएपछि दुर्घटनाको थप जोखिम बढेको छ । सडकको स्तरोन्ती भइरहेकाले ३ वर्षदेखि यसको मर्मत पनि हुन सकेको छैन । विमानस्थल नजिकको तार अण्डरग्राउण्ड गरिने ।

भरतपुर विमानस्थल वरपरका विद्युतका तारका कारण हवाई दुर्घटनाको जोखिम बढेको भन्दैं सो क्षेत्र वरपरको तार अण्डरग्राउण्ड गर्ने प्रकृया अघि बढाइएको छ ।

गत जेठ १३ गते भरतपुर आएका विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले दुर्घटना जोखिम रहेका तार तत्काल अण्डर ग्राउण्ड गर्न वितरण केन्द्रका प्रमुख सुरेश महतोलाई निर्देशन दिएपछि प्रकृया अघि बढेको हो ।

वितरण केन्द्रले तार अण्डरग्राउण्ड गर्नका लागि आवश्यक एक्सएलपी केवल ल्याइसकेको छ । प्राधिरणका प्रमुख घिसिङले तत्कालै काम अघि बढाउन निर्देशन दिएपछि आवश्यक सामाग्री जनकपुर र काठमाडाैंबाट भरतपुर ल्याइएको छ ।

विमानस्थलको दक्षिणपूर्व तिर करिब ३५० मिटर तार अण्डर ग्राउण्डका लागि प्रकृया अघि बढेको वितरण केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।

असारको पहिलो साताबाट काम अघि बढाउने गरी तयारी भैरहेको उनको भनाइ छ । सो क्षेत्रमा रहेको ११ केविएलाई अण्डरग्राउण्ड गरिँदैछ ।

भरतपुर विमानस्थलले पटकपटक लिखित रुपमा भरतपुर महानगरपालिका र विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलाई अनुरोध गरे पनि प्रकृया अघि बढ्न सकेको थिएन ।

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले तार हटाउन विमानस्थलको हवाइ सुरक्षामा सकारात्मक सहयोग मिल्ने भन्दै खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment