Comments Add Comment

बाइक राइड टु लोमान्थाङ : एउटा अद्भूत अनुभव

लोमान्थाङ, त्यो पनि बाइकमा । यो जस्तो अद्भूत अनुभव अरु के होला ? मनोरम दृश्य, अग्ला पहाड, भिर र भञ्ज्याङ, ससाना गाउँ, बाटोमा हिड्दै गरेका बालबालिकाको मिठो मुस्कान र सामान्य जीवनशैली । लोमान्थाङबारे सोच्दा यस्तैयस्तै दृश्य आउँछ, मस्तिष्कमा ।

‘द हिमालय रोडिज’ चलिरहेकै थियो । यामाहाले लोमान्थाङमा ‘राइड विथ रोडिज’ आयोजना गर्ने योजना बनायो । हामी तीनै जना जजलाई सहभागी गराउने खबरले म उत्साहित थिएँ । मुस्ताङसम्म त पुगिसकेको थिएँ, बाइकमा । त्यो पनि दुईचोटी । तर ‘द फर्बिडन किंगडम’… मेरो ‘विस लिस्ट’ मा मात्र थियो ।

राइडको लागि देशभरका १३ जना राइडर छानिए । आए ११ जना मात्र । दुई जनाको नमिल्ने भयो । सबैभन्दा पहिले उनीहरुको बाइकको कन्डिसन चेक गरियो, ठिक पारे यामाहाका टेक्निसियनहरुले । त्यसपछि निदान हस्पिटलका डाक्टरहरुले राइडरको हेल्थ कन्डिसन जाँचे । सबैजना राइडको लागि ‘फिट एन्ड फाइन’ थिए । यो जरुरी थियो । नौ दिन लामो यात्रा हुँदै थियो । गन्तव्य उच्च हिमाली क्षेत्र । बाटो निकै खराब ।

राइडमा जानुअघि हाम्रो रोड क्याप्टेन, मार्शल प्रज्वल खत्रीले रोडमा जाँदा पालना गर्नुपर्ने नियम र सांकेतिक भाषाबारे सानो तालिम नै दिनु भयो ।

पहिलो दिनः हाइवे राइडको मज्जा

बैशाख २१ गते । शनिबार । ‘इट वाज अ वन्डरफुल मर्निङ’ । विहान ८ बजे सबैजना यामाहाको त्रिपुरेश्वर सोरुममा भेला भयौं, ११ जना राइडर, म र रोडिजका अर्का जज दिया । आशिष चाहिँ काम विशेषले आउन सकेनन् । हिमालयन रोडिज् विनर आयुष श्रेष्ठ पनि आए, आफूले जितेको एफजी २५ लिएर । हामीसँग अर्का दुई राइडर पनि ‘ज्वाइन’ गरे, मोटो भ्लगर सागर थापा र जुनेश त्वायना । उहाँहरुको ‘टास्क’ थियो, बाइकको टेस्ट गर्नु र लोमान्थाङ यात्रालाई दर्शकसम्म पुर्‍याउनु ।

नौ बजे त्रिपुरेश्वरबाट ‘फ्ल्याग अफ’ भयो । हाम्रो ‘राइड’ सुरु भयो । राइडरहरु ‘प्रपर लाइन’मा थिए । शनिबार भएकोले होला हामीले तुरुन्त कलंकी पार गर्‍यौं । ‘हाइवे राइड वाज गुड’ । मौसम निकै सफा थियो । घमाइलो दिन । खुल्ला निलो आकाश । पहिलो दिनको गन्तव्य चाहिँ पोखरा ।

पोखरामा पुग्नै लागेका थियौं । ७/८ किलोमिटर बाँकी थियो, ठूलै पानी पर्न थाल्यो । तर हामी रोकिएनौं । रेनकोट लगाएरै पोखरा पुग्यौं । हामी पूरै भिजेका थियौं । हामीलाई थाहा थियो यो त सुरुवात मात्र हो । बाटोमा अझै धेरै अप्ठेरा र कठिनाइको सामना गर्नु नै थियो । हामी टुकी रिसोर्टमा बस्ने भयौं । त्यहाँ राइडरहरुबीच चिनापर्ची र घुलमिल सुरु भयो । केटाहरु सबै रमाइला थिए । उनीहरु मौका पाउने बित्तिकै बाटैमा नाचगान गर्थे । हामीसँग एक जना मात्र लेडी राइडर थिइन् । चितवनबाट आएकी पूजा गुरुङ । उनी पनि आँटिली र रमाइली थिई ।

दोस्रो दिनः धुलाम्य बाटो, बुलन्द हौसला

भोलिपल्ट विहानै साढे सात बजे दोस्रो दिनको तयारी सुरु भयो । मार्शलले सबैलाई आफ्नो ब्याग प्याक गरेर राइडको लागि तयार रहन भन्नुभयो । आठै बजे ब्रेकफास्ट गरेर हामी भेला भयौं । राइड सुरु हुनुभन्दा अघि मार्शलले सबैसँग एउटा वाचा गराए, ‘अनुशासनमा बसेर राइड गर्ने, रुल्स र रेगुलेसन पालना गर्ने र टिम वर्क गरी एकअर्कालाई सपोर्ट गर्ने ।’ अब सुरु भयो दोस्रो दिनको राइड ।

दोस्रो दिन पनि राम्रो थियो । पोखराबाट हामी बाग्लुङ बसपार्क भएर हेम्जाको बाटो हुँदै नयाँ बजार पुग्यौं । त्यहाँबाट बेनी बजारतिर लाग्यौं । सडक निर्माण हुँदै थियो, त्यसैले रफ थियो । हामी योभन्दा पनि खराब सडकका लागि तयार थियौं ।

लोमान्थाङ पहिलो पटक जाँदै थिएँ । मुक्तिनाथसम्म दुईपटक पुगेकाले बाटो कस्तो छ भन्ने मलाई थाहा थियो । तर त्योभन्दा माथि लोमान्थाङको बाटोबारे म अनुमान मात्र लगाउन सक्थेँ । बेनीसम्म बाटो राम्रै थियो । त्यसपछि सुरु भयो, धुलो । ओ माई गड ! धुलो अनि धुलोले चिप्लो बाटो । ट्राफिक पनि अलि धेरै थियो । किनभने आजभोलि मुक्तिनाथसम्म मज्जाले जिप र गाडीहरु जान्छन् । यसले पनि धुलो धेरै उडेको थियो । तर हामी यस्तो धुलोबाट प्रभावित हुनेवाला थिएनौं । हाम्रो हौसला बुलन्द थियो ।

दोस्रो दिनको हाम्रो गन्तव्य हो, कालोपानी, लेटे । घासामा एउटा चेकप्वाइन्ट थियो जहाँ सबैले आफ्नो लाइसेन्स नम्बर र ब्लुबुक टिपाए । कालोपानी पुग्दासम्म अँध्यारो हुन थालिसकेको थियो । होटेलमा चेक इन गरेर फ्रेस भयौं र बेलुका डिनरका लागि भेट भयौर्ं । हामी माथि माथि पुग्न थालेपछि खानेकुरा पनि झन् झन् मिठो हुन थाल्यो । हामीले त्यहाँ थकालीको विसुद्ध थाली खान पायौं । दोस्रो दिनको राइड पनि राम्रो भयो । टिमबीच बोन्डिङ राम्रो हुन थालिसकेको थियो । म अनुमान लगाउन सक्थें नौ दिनसम्म सँगै रहँदा त्यो बोन्डिङ कति बलियो हुनेछ !

तेस्रो दिनः थकान बिर्साउने जोमसोम

तेस्रो दिन, त्यहि समय, त्यहि स्टाइलमा रुममा ‘नक नक’ । पार्किङ लटमा पूर्वनिर्धारित समयमा सबै भेला भए । अब ‘इनर्जी लेभल’ बढ्दै गएको अनुभव हुन थालिसकेको थियो । केही राइडरहरु पहिला पनि त्यहाँ गइसकेका थिए । तर पनि एकदम ‘एक्साइटेड’ थिए ।

हामी जोमसोम पुग्यौं । मलाई जोमसोम निकै मन पर्छ । त्यहाँको बाह्र बजेको हावा…उफ् । हामी मुक्तिनाथ मन्दिर पनि पुग्यौं । त्यहाँ त्यस्तो ठाउँमा चारलेनको बाटो । त्यो पनि ब्ल्याक टप… । पहिलोचोटी आउनेलाई यो अपेक्षित थिएन । बम्पी रोडबाट पिच रोडमा कुदाउँदा निकै रमाइलो भयो । मुक्तिनाथमा सबैले कोल्ड आइस वाटरमा नुहाए । पूजापाठ सकेपछि हामी तल र्झन थाल्यौं, लन्चका लागि । हामी छुक्साङमा बास बस्दै थियौं । कागबेनीबाट १५ किलोमिटर जति पर साँझतिर हामी छुक्साङ पुग्यौं । छुक्साङ सानो तर निकै राम्रो गाउँ हो । पहाड र हिमालले गर्दा यहाँका हरेक ठाउँ उत्तिकै राम्रा थिए ।

कालोपानीदेखि जोमसोमसम्मको बाटोमा केही कठिन स्थानहरु छन् । ससाना खोलाहरु त बीचबीचमा छन् नै । बीचमा एउटा ठूलै खोला थियो । कुनै पुल थिएन । ठूल्ठूलो चट्टानलाई पार गरेर हामी खोला तर्नुपर्ने थियो । एफजीले साथ दिइरहेको थियो । कसैकसैलाई गाह्रो भएको थियो । केही लडे पनि तर कसैलाई चोट चाहिँ लागेन । जोसुकै लड्न लागे पनि राइडरहरुले एक अर्कालाई सपोर्ट गरिरहेका थिए ।

हाम्रो राइडमा सबैभन्दा अगाडि राइड क्याप्टेन हुन्थ्यो भने सबैभन्दा पछाडि ‘स्विपर’ हुन्थ्यो जसले सबै राइडर अघि बढिरहेको ‘इन्स्योर’ गर्थे । कसैलाई केही भयो भने सबै जना रोकिन्थे र फर्केर सहयोगमा जुट्थे । यो निकै जरुरी पनि थियो किनभने त्यो ठाउँमा न वर्कसप वा न कुनै खाले पसल । कुनै कुनै ठाउँमा त मानिस नै भेटिँदैनथे ।

त्यो दिन लन्चपछि झारकोटको एउटा स्कुलमा सानो सिएसआर गर्ने प्लान थियो । त्यहाँ साना नानीहरुलाई ब्याग, स्टेसनरी र चकलेट बाँड्ने कार्यक्रम थियो । राइडरहरुले पनि केही पैसा जम्मा गरेर टुथब्रस, टुथपेस्ट र अरु केही सामान दिँदै थिए । नानीहरु निकै खुसी भए । उनीहरुको अनुहारमा मुस्कान देख्दा निकै राम्रो लाग्यो । कठिन जीवन भए पनि त्यहाँका मानिसहरु ओठमा मुस्कान लिएर जिइरहेका छन् । यो निकै राम्रो कुरा हो । हामी सहरमा सबै सुविधा भए पनि ‘कम्प्लेन’ गरिरहेका हुन्छौं । पछि उनीहरुसँग खेल्यौं । नाचगान पनि गर्‍यौं । त्यो पललाई हामीले धेरै ‘इन्जोय’ गर्‍यौं ।

बाइक चलाउँदा चलाउँदा जिउभरि दुख्थ्यो । तर जब हामी ‘ब्रेक’ लिन्थ्यौं र ‘सिनेरी’ हेर्‍थ्यौं, त्यो सारा थकान मेटिन्थ्यो ।

छुक्साङमा पनि राम्रो समय बित्यो । मौसम चिसोचिसो थियो र केटाहरुले तोम्बा तान्न थाले । नमोबुद्धले र्‍याप गीतहरु गाइरहेको थियो । केटाहरु तोम्बाको स्वाद लिएर गीत सुन्दै थकान मेटाइरहेका थिए । र्‍याप ब्याटल जस्तो पनि भयो र दोहोरी पनि खेलियो । अब चाहिँ सबैजना घुलमिल भइसकेका थिए ।

चौथो दिन : ‘मिसन टु द फर्बिडन किंगडम’

चौथो दिन । छुक्साङ । विहान एकदमै राम्रो थियो । उहि समय । साढे सात बजे । रुममा ‘नक नक’ । ब्रेकफास्ट अनि प्याक अप । आज चाहिँ अपर मुस्ताङको यात्रा ।

‘द रियल जर्नी बिगिन्स’ । छुक्साङबाट लोमान्थाङको दुरी ६५ किलोमिटर मात्र भनिन्छ । तर यो यात्रा चाहिँ राइडर, उसको विल पावर र बाइकको पावरको वास्तविक परीक्षण थियो । यो निकै गाह्रो खण्ड थियो । एकदमै धुलो उड्ने र धुलोले चिप्लो बाटो । बाइकको टायर डुब्ने धुलो थियो, बाटोमा । हामी बाइकलाई कन्ट्रोल गर्दै विस्तारै अघि बढिरहेका थियौं ।

बाटोमा हामीले कुनै पनि सवारीसाधन देखिरहेका थिएनौं । यामाहाको ट्याग लाइन, ‘लर्ड अफ द स्ट्रिट’ जस्तो ‘फिलिंग्स’ आइरहेको थियो । बाइकहरु लाइनमा एकनासले गन्तव्यमा अघि बढिरहेका थिए । यो अनौठो अनुभव थियो । बाटो अप्ठेरो थियो तर धुलो पहिलेभन्दा कम थियो ।

एउटा ठाउँमा पुग्यौं जहाँ लामो पर्खाल देख्यौं, ग्रेटवाल अफ चाइना जस्तो । त्यो ठूलो एप्पल फार्म थियो । त्यहाँ केही समय सुस्तायौं । ‘ल्यान्डस्पेक’ निकै राम्रो थियो । फोटो खिच्ने काम भइरहेको थियो । निकै हावा चलिरहेको थियो । मुस्ताङमा हावाले ढुंगा उठाउँछ, मान्छे पनि उडाउँछ भन्ने सुनेको थिएँ । आज आफैं अनुभव गरिरहेको थिएँ ।

फोटो खिच्ने क्रममा किर्तिपुरका एक जना राइडर, जसलाई हामी पासा भन्छौं, उसलाई त हावाले लडायो नै । सबै जना गलल्ल हाँसे । सबैजना आआफ्नो बाइकको ट्रायल गरिरहेका थिए । मैले चाहिँ एफजी २५ लिएर गएको थिएँ । यसको पावर निकै राम्रो थियो । त्यहाँ पुग्दासम्म मैले ‘रियलाइज’ गरिसकेको थिएँ, यसको पावर र ‘कन्ट्रोलिङ’ गज्जबको थियो । त्यसैले त म विना समस्या त्यो ठाउँसम्म पुग्न सकेँ ।

एप्पल फार्मबाट हामी अगाडि बढ्यौं । हिमालको राम्रो दृश्य देखिएको थियो । बाटोमा हामीले भेडाको बथान र घोडा पनि देख्यौं । ती जंगली हुन वा पालिएका त्यो चाहिँ थाहा भएन ।

एउटा प्वाइन्टमा पुग्यौं । एकदम अग्लो ठाउँ । मलाई लागेको थियो म ‘टप अफ द वल्र्ड’मा थिएँ । हिमाल पनि त्यहिँ लेभलमा थियो । हावा लागि रहेको थियो । चिसो पनि थियो । तर त्यो निकै राम्रो अनुभव भइरहेको थियो । सबै जना सेल्फी र ग्रुप फोटो खिचेर रमाइलो गरिरहेका थिए । हामीलाई लोमान्थाङ पुग्नु थियो । त्यसैले हामी त्यहाँबाट अघि बढ्यौं ।

मार्सलले हामीलाई पहिले नै तीनवटा ठाउँमा एकदम गाह्रो हुने बताइसक्नु भएको थियो । पहिलो ‘अब्स्टेकल’ आयो । सानो खोला थियो । पानी ठूलो थिएन । तैपनि चट्टान चुच्चो र धारिला थिए ।  केही राइडरलाई गाह्रो थियो । साथीहरुको मद्दतले हामी सबै जना पहिलो चुनौती पार गर्‍यौं ।

दोस्रो अप्स्टेकल धेरै टाढा थिएन । मात्र केही मिनेट अगाडि । त्यो पनि खोला । तर लामो खोला । चट्टान नै चट्टान थियो । एक जनाले मात्र बाइक पारी लान गाह्रो थियो । हो, केहीले एक्लै लगे पनि । हामी कोही नलडिकन, विना चोट पारी पुग्यौं ।

तेस्रो ‘अब्स्टेकल’, ‘स्टेयर वे टु हेभेन’ । हाम्रा मार्सलले नाम राखिदिनु भएको थियो । हेर्दा केही थिएन । ‘सिम्पल टर्न’ । ‘अप हिल’ र ‘टर्न’ । तर ‘क्रस’ गर्न निकै गाह्रो । केही केटाहरु लडे पनि । माथि पुग्दा सबै जना थकित थिए । तर स्वर्ग पुगेको अनुभव थियो, त्यो । यहाँबाट राम्रो ‘सिन’ देखिन्थ्यो जसले सबै थकान मेटाएथ्यो । हामीले तीनवटै ‘अब्स्टेकल’ पार गर्‍यौं ।

फेरि लोमान्थाङतिर अघि बढ्यौं । लोमान्थाङ कस्तो छ ? मनमा उत्सुकता थियो । बाटोमा ठूला पहाड, ठूला चट्टान । मरुभूमि जस्तो ठाउँ । मिलौंसम्म पनि घर र मानिस थिएनन् । एकदमै भर्जिन ठाउँ । पहाडहरुमा गुफाहरु देखिन्थे । लाग्थ्यो, त्यहाँ मानिसहरु कसरी पुग्थे होला ? कसरी बस्थे होला ? सुनेको त्यहाँ लामाहरु ध्यान गर्थे । एउटा अग्लो ठाउँ आइपुग्यौं, जुन लोमान्थाङ उपत्यकाको प्रवेश बिन्दु थियो । नजिकै हामीले ‘राइड विथ् रोडिज’को झन्डा पनि गाड्यौं । यो ठाउँ यस्तो बतासे थियो कि हामीलाई नै उडाउला जस्तो । धेरैबेर बसेनौं हामी त्यहाँ । फोटो खिचेर अगाडि बढ्यौं ।

केही किलोमिटर अगाडि ‘वाऊ….लोमान्थाङ, द फर्बिडन किंगडम’ । यसको वर्णन गर्न मसँग कुनै शब्द छैन । मलाई लाग्छ त्यहाँको जीवन निकै निकै कष्टकर छ । तर पनि त्यहाँका मानिस हामीलाई मुस्कानले स्वागत गरिरहेका थिए ।

दुःखको कुरा हामीले बुक गरेको होटेलमा बस्न नपाइने भयो । हाम्रो लजिस्टिक हेर्ने कान्छा दाइले तुरुन्त अर्को दुई वटा होटलको व्यवस्था गरिदिनु भयो । हामी दुई समूहमा बाँडिएर बस्नु पर्ने भयो । डिनर चाहिँ एउटै ठाउँमा थियो । जाडो ठाउँ । हावा चल्ने । केटाहरुले जिउ तताउन थालिसकेका थिए । एउटा गितारको पनि व्यवस्था भयो । राइडरहरुले गाउने र बजाउने ट्यालेन्ट देखाए । नाचगान भयो, रमाइलो भयो । हाम्रो टिममा घनिष्ठता बढ्दो थियो । हामी परिवार जस्तै भइसकेका थियौं । ‘एस !’ हामी लोमान्थाङ आइपुग्यौं ।

पाँचौं दिनः ‘गुड मर्निङ….लोमान्थाङ’

पाँचौं दिन । ‘गुड मर्निङ फ्रम लोमान्थाङ’ । निकै शान्त सहर । विहानी समय निकै राम्रो थियो । लोमान्थाङमा विहान हावा चल्दैन र त्यो दिन पारिलो घाम लागि रहेको थियो । विहानै उठ्यौं, ‘ब्रेकफास्ट’ गर्‍यौं र ‘प्याकअप’ गर्‍यौं । आज हामी कहाँ जाँदैछौं त ? चाइना बोर्डर कोराला पास ! हामी धेरै एक्साइटेड थियौं । यो लोमान्थाङबाट करिब १५ किलोमिटर पर छ ।

मार्सलले हामीलाई बि्रफ गर्नु भयो । बाटो कस्तो छ ? के गर्नु हुन्छ । के गर्नु हुँदैन । बाटो गज्जब थियो । ‘एभरिथिङ अराउन्ड वाज सो अमेजिङ’ । चार लेनको बाटो थियो । ग्राभल गरेको । कोराला पास पुग्नुअघि एउटा नदी थियो । माथि पुग्यौं हामी । जंगली घोडाहरु चरिरहेका देखिन्थे । डाँडामा किलोमिटरका किलोमिटर मानिस भेटिँदैन । तर भेडा र घोडाहरु चाहिँ भेटिन्थे । भाग्यवस हाम्रो क्यामेराम्यानले एउटा निलो भेडालाई पनि आफ्नो क्यामेरामा कैद गरे ।

कोरला पास पुग्यौ, हामी । चाइनातिर एउटा ठूलो भवन बनिरहेको थियो । नेपालतिर चाहिँ केही थिएन । आकाश एकदम खुल्ला, निलो । बादलको एउटा टुक्रा पनि थिएन । ३६० डिग्री दृष्ययावली अद्भुत थियो । त्यहाँबाट हामी र्फकंदै थियौं । हिउँ नदेखेका हाम्रा टिम मेम्बरहरु बाटो रोकेर हिउँसँग खेल्न पो थाले ।

कोरला पासपछि हामी लोमान्थाङ फर्कियौं । बीचमा छोसेड गुफा थियो । चार तले गुफामा ४५ वटा कोठा थिए । निकै अचम्मको गुफा थियो, त्यो । केटाहरुले कथा सुनाउन थाले । खोई कसको कुरा विश्वास गर्ने ? हामी फर्केर लोमान्थाङ पुग्यौं । एकदम थाकिसकेका थियौं । म त पुग्नासाथ नुहाएँ र मज्जाले सुतेँ ।

त्यो दिन राति पनि निकै रमाइलो भयो । बार्बिक्यु पनि गर्‍यौं । हाम्रो लागि सांस्कृतिक कार्यक्रमको व्यवस्था रहेछ । स्थानीय गीतसंगीत सुन्यौं । स्थानीयसँग कुराकानी पनि गर्‍यौं । उहाँहरुले कार्यक्रममा गाउनुभएको गीत अब नयाँ पुस्ताले गाउँदैन । ती गीत गाउने उहाँहरु अन्तिम पुस्ता हुनसक्छ । कुरा सुन्दा दुःख लाग्यो । त्यहाँ हामीले आफ्नो पर्फमेन्स पनि देखायौं ।

अब र्फकने पालो

भोलिपल्ट विहान । न्यास्रो लागिरहेको थियो कि अब हामीले लोमान्थाङ छोडेर र्फकनु थियो । फेरि एकपटक हिजो झण्डा गाडेको स्थानमा पुगेर ग्रुप फोटो खिच्यौं । हिजो हावा लागेर राम्रो फोटो खिच्न सकेका थिएनौं । त्यहाँ हामीले राष्ट्रगान पनि गायौं । ठूलो ठूलो आवाजमा चिच्याएर ।

हामी र्फकन थाल्यौं । ती अप्ठेरा तीनवटा ठाउँ पार गर्‍यौं । त्यो दिन हामी कागबेनीमा बस्यौं । रमाइलो गर्दै बेनी र पोखरा हुँदै हामी नौ दिनमा १३ सय किलोमिटर पार गरेर काठमाडौं फक्र्यौं । १५ वटा यामाहा एफजीमा थियौं हामी । कसैसँग एफजी २५ त कसैसँग १५० सीसीको । तर बाइककै कारण कहिँ कतै दुःख पाएनौं । पछि मैले मैले एफजी भी ३ ट्राई गरेँ । ‘ह्यान्डलिङ वाज सुपर्ब एन्ड अमेजिङ कन्ट्रोल’ । ‘सस्पेन्सन’ पनि गज्जबको । अफरोडमा पनि सहज गुडाईको अनुभव गरेँ ।

र्फकंदा मनोरम फाँट, सालिन हिमाल, कलकल गरिरहेको कालीगण्डकी, डरलाग्दो भिरभञ्ज्याङ र मुस्कुराइरहेका साना नानीहरुको दृश्य आँखा अगाडि नाचिरहेका थियो । ‘इट वाज अ लाइफटाइम एक्सपिरियन्स !’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment