+
+
Shares

तराईमा शीतलहरको जोखिम : प्राधिकरणद्वारा पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते ९:०१

९ पुस, काठमाडौँ । विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो।

शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाइसकेको जनाएको छ। शीतलहरबाट विशेष गरी गरिब र विपन्न वर्गका नागरिक बढी प्रभावित हुने भएकाले कार्ययोजना अनुसार आ-आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहले वडा कार्यालय र समुदायमा आधारित संस्थाहरूसँग समन्वय गरी शीतलहर पूर्वतयारी र प्रतिकार्यका क्रियाकलापहरू तत्काल अघि बढाउनुपर्ने देखिन्छ’। यदि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको पहलले मात्र सम्भव नभएमा प्रदेश र संघ सरकारसँग सहयोग माग्न समेत सूचित गरिएको छ।

प्राधिकरणले चाल्नुपर्ने ६ बुँदे निर्देशन

विज्ञप्तिमार्फत प्राधिकरणले शीतलहरको असर कम गर्न विभिन्न ६ बुँदे निर्देशनहरू जारी गरेको छ :

न्यानो लुगा र उपकरण : न्यानो लुगा र तातो बनाउने उपकरणहरू तयारी अवस्थामा राखी संकटासन्न परिवारलाई वितरण गर्ने व्यवस्था मिलाउने।

सूचना र पूर्वानुमान : जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा प्राधिकरणबाट जारी हुने सूचना अनुसार आवश्यक कदम चाल्ने।

सचेतना कार्यक्रम : शीतलहरबाट बच्ने उपायहरूका बारेमा स्थानीय तहको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने।

सार्वजनिक आश्रयस्थल : जोखिममा रहेका व्यक्तिहरूका लागि सार्वजनिक भवन, मठमन्दिर वा घरहरूमा न्यानो गरी बस्ने प्रबन्ध मिलाउने।

दाउराको व्यवस्था : अन्य विकल्प नभएका ठाउँमा डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा दाउरा उपलब्ध गराउने।

सञ्चार माध्यमको प्रयोग : शीतलहर सम्बन्धी सचेतनामूलक सामग्रीहरू विभिन्न सञ्चार माध्यमबाट समुदायसम्म पुग्ने गरी प्रकाशन तथा प्रसारण गर्ने।

तराई र भित्री मधेसका जिल्लाहरूमा चिसोका कारण जनजीवन प्रभावित भइरहेको र सडक तथा हवाई यातायातमा समेत अवरोध पुग्ने देखिएकाले सतर्क रहन प्राधिकरणले सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?