Comments Add Comment

७ सय विदेशी पाहुना सहभागी ट्राभल मेला सकियो

२६ जेठ, काठमाडौं । करिब ७ सय विदेशी पाहुना सहभागी हिमालयन ट्राभल मार्ट आइतबार सम्पन्न भएको छ ।

हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता खोज्ने उद्देश्यले आयोजना भएको मार्टको तेस्रो संस्करण बिहीबारबाट सुरू भएको मेलामा ४३ देशबाट पर्यटन व्यवसायी, ट्राभल ब्लगर, संचारकर्मी र सरोकारवाला सहभागी थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ-संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्ट आयोजना गरेको हो ।

मार्टमा विश्वप्रसिद्ध बेलायती पर्वतारोही डक स्कटलाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै’ अवार्ड’ प्रदान गरिएको थियो । मार्टका अवसरमा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्ति, दिगो पर्यटन विकासका अवसर तथा चुनौति, नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरका सम्बन्धमा छलफल भएको पाटाले उल्लेख गरेको छ ।

यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी र संस्थाले भाग लिएका थिए । पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment