Comments Add Comment

‘नगरपालिकाबाट कुट्दै निकालेर बजार घुमाइयो’

इटहरीमा दुर्व्यवहार भोगेका पत्रकारको वयान

०५७ साल चैततिरको कुरो हो । म काठमाडौंबाट प्रकाशित हुने भूगोल साप्ताहिकमा इटहरीबाट रिपोटिङ गर्थें । मैले त्यसबेला इटहरीमा रहेका तस्कर र कर छल्नेहरुको समाचार लेखेको थिएँ । जसको उद्योगधन्दा, व्यापार, कलकारखाना केही थिएन, तर रातारात करोडपति हुनेहरुको मैले लिस्ट प्रकाशित गरिदिएको थिएँ । उनीहरुले रातारात कहाँबाट करोडपतिको हैसियत बनाए भन्ने विषयमा मैले खोजमूलक समाचार लेखेको थिएँ ।

समाचार प्रकाशित भएपछि तस्करहरुको संगठित समूहले रामकुमार सुब्बाको घरमा बसेर यो पत्रकारलाई भौतिक कारवाही गर्नुपर्छ भन्ने छलफल गरेछन् । त्योभन्दा पहिले टेकनाथ दाहालका घरमा भेला भएका रहेछन् । त्यसपछि रामकुमार दाइकहाँ जाऔं भनेर त्यहाँ गएछन् । रामकुमार दाइले पत्रकारलाई त्यस्तो गर्नुहुँदैन, यसमा मेरो सहमति छैन भन्नुभएछ ।

त्यसपछि उनीहरु इटहरी नगरपालिकामा पुगेछन् । उनीहरुले मलाई छलफल गर्नुछ भन्दै नगरपालिकामा बोलाए । तत्कालीन मेयर सर्वध्वज सावाँको कार्यकक्षमा मानिसहरु अटाई–नअटाई थिए । त्यहाँ छलफल हुँदाहुँदै अहिले उद्योग वाणिज्य उठेका एकजना छन्, तिनले ममाथि आक्रमण सुरु गरे ।

त्यसबेला राजभण्डारी थरका डीएसपी थिए, उनी पनि आक्रमणकारीकै पक्षमा लागे । म प्रहरीको सुरक्षा घेराभित्र भए पनि प्रहरीले मलाई बचाएनन् । मेयर सावाँले पनि चाहेको भए नगरपालिकाभित्र मलाई बचाउन सक्ने थिए ।

त्यसपछि नगरपालिकाको हाताभित्रैबाट मलाई हातपात र दुव्र्यवहार गर्दै सडकमा निकालियो र बजार परिक्रमा गराइयो । मजस्तो अपाङ्ग मानिसमाथि नगरपालिकाभित्रै कुटपिट भयो ।

मलाई हमला गर्नेहरु त्यसबेला कोको थिए भन्ने म केहीको नाम अझै सम्झन्छु । त्यसबेला केही व्यापारीहरुले मुङ्रे केटाहरु लिएर आएका थिए । उनीहरुले मलाई खण्डन छाप्न पनि भनेनन्, एक्कासी कुटपिट र दुव्र्यवहार गर्नेतिर लागे । समाचार कसले पठाएको भनेर केहीलाई सोधेछन्, गोपाल भण्डारीले हो भनेपछि ममाथि हातपात गरे ।

रामकुमार सुब्बा चाहिँ पुरानो राजनीतिज्ञ भएको हुनाले उहाँमा राजनीतिक संस्कार पाएँ । पत्रकारलाई हातपात गर्ने र बजार घुमाउनेजस्तो काम गर्नै हुँदैन भनेर उहाँले आपत्ति जनाएको मैले पछि थाहा पाएँ ।

म नेपाल पत्रकार महासंघमा पनि आवद्ध थिएँ । तर, पत्रकार महासंघले त्यो घटनाबारे कुनै विज्ञप्ति नै निकालेन । पछि प्रगतिशील लेखक संघलेचाहिँ विज्ञप्ति निकालेछ । यो घटना बर्बर, जंगली, पासविक युगको पराकाष्टा हो भनेछ ।

इटहरीमा पछि पत्रकार पीवी दियालीलाई पनि मेरोजस्तै समाचार लेखेका कारण आक्रमण गर्ने र लखेट्ने प्रयास भयो । उनीमाथि पनि थ्रेट भएपछि मैले इटहरीमा सुरक्षा हुँदैन, तिमी काठमाडौंतिर जाऊ भाइ भनिदिएको थिएँ ।

मैले धेरैवटा पत्रपत्रिकामा रिपोटिङ गर्दै आएँ । शारीरिकरुपमा पनि अपाङ्ग भएका कारण मेरो अर्को कुनै जिविकोपार्जनको उपाय थिएन । परिवारमा चरम आर्थिक संकट व्यहोर्दै पत्रकारिता गर्दै आइरहेको थिएँ । एउटा निष्ठामा बसेर काम गर्ने मान्छेलाई कठिनाइमाथि कठिनाइ नै हुदोरहेछ !
यो पनि पढ्नुहोस इटहरीको मेयर भवन : रातो छानाको कालो कथा !

पत्रकारिता गर्ने क्रममा मैले छलफल साप्ताहिकमा काम गरें । प्रकाश साप्ताहिकमा काम गरें । नवआवाज साप्ताहिक भन्ने थियो, त्यसमा पनि काम गरें । जनादेश साप्ताहिकमा काम गर्दा चाहिँ सुरक्षासम्बन्धी चुनौती भयो ।

सुरुवातमा इटहरीमा जनादेश एक हजार प्रतिसम्म जान्थ्यो । कृष्ण सेन मारिएपछि मलाई पनि अप्ठ्यारो पर्नेजस्तो महसुस भयो । त्यहीबेला खोर्सानेको जंगलमा राम कोइरालाका भाइ रोहित कोइराला सेनाबाट मारिए । त्यसपछि नै मैले असुरक्षित महसुस गरेर जनादेशमा काम गर्न छाडेको हो । पछि पत्रिका भूमिगतरुपमा मात्रै निस्कन थाल्यो ।

त्यसपछि मैले सुनसरीबाटै बराह साप्ताहिक दर्ता गरेर अहिलेसम्म चलाइरहेको छु । मेरो पत्रिका प्रेस काउन्सिलमा ‘ख’ वर्गमा परेको छ । एक÷दुई जनालाई रोजगारी पुगेको छ । इटहरीमै एकजना तारा पोख्रेललाई सहसम्पादक राखेको छु । यो क्षेत्रीय स्तरको पत्रिका भएकाले इटहरीबाटै चलिरहेको छ । ठीकै रुपमा चलिरहेको छ अहिले ।

मचाहिँ अहिले भृकुटीमण्डपमा राष्ट्रिय अपाङ्ग कोषको सभापति भएर अपाङ्गहरुको विषयमा काम गरिरहेको छु । मैले यो जिम्मेवारी लिएको तीन वर्ष भयो । बसाई काठमाडौंको कोटेश्वरमा छ ।

इटहरीलाई सम्झँदा दुःख लाग्छ

इटहरीमा अहिले भइरहेको तनाबको विषयमा पनि मैले पढिरहेको छु, सुनिरहेको छु । खै यो इटहरी कस्तो ठाउँ हो, म केही बुझ्न सक्दिनँ । त्यही बिराटनगरमा त्यस्तो छैन । धरानमा पनि पत्रकारमाथि यस्तो हुँदैन । अब के भन्ने ? भनेर पनि केही साध्य छैन । सत्य कुरो बोल्यो भने मान्छेलाई तीतो भइहाल्छ । त्यहीँ इटहरीमा बसिन्छ, केही बोल्यो भने पोखरीमा बसेर माछासँग दुश्मनी गरेजस्तो हुन्छ ।

सभ्य समाज भए पो सही कुराको सुनवाई हुन्छ । त्यो ठाउँ त भीडका आधारमा चल्छ । त्यस्तो ठाउँमा पत्रकारहरु सुरक्षित हुने कुरै भएन ।

कतिपय पत्रकारहरु आफैंमा समस्या पनि छ । पत्रकारले पनि आफ्नो अनुशासनमा बस्नुपर्ने हुन्छ । पत्रकारिताभित्र छिरेका केही खराब व्यक्तिहरुका कारणले पनि असल पत्रकारहरुले गरीखान नसक्ने स्थिति आउने गरेको छ ।

मैले चिनेका मेयर द्वारिकलाल चौधरी

जहाँसम्म इटहरीका अहिलेका मेयर द्वारिकलाल चौधरीको सवाल छ, उनलाई हाँसपोसाको गाविस अध्यक्ष हुँदाखेरिदेखि मैले असल व्यक्तिका रुपमा चिनेको हो । उनी असाध्यै सरल र इमान्दार मानिस लाग्थ्यो ।

द्वारिकलालसँग पत्रकार गणेश खत्री (हाल इटहरीका वडाध्यक्ष) र मेरो भेट भइरहन्थ्यो । हलो जोत्दै गर्दा पनि हामीलाई देखे भने पनि गोरु रोकेर कुराकानी गर्न आउँथे । साथीभाइ भन्दा मरी मेट्ने मान्छे हुन् । गाविसमा हुँदाखेरि पनि पत्रकारहरुलाई सहयोग गरिरहने मानिस हुन् । उनले गरेका विकास निर्माणमा कुराहरु हामी लेख्ने गथ्र्यौं ।

अहिलेको अवस्था देखेर म आफैं छक्क परिरहेको छु । उनलाई साढे सातले समाएको पो हो कि ? मैले चिन्दासम्म उनी असाध्यै राम्रा मान्छे हुन् । भ्रष्टाचार नगर्ने मान्छे हुन् । उनी आफैं सम्पन्न छन् । उनको स्वाभाव पनि त्यस्तो छैन । तर, मेयर भैसकेपछि उनलाई डिप्रेसन गराएको त्यहीँका मान्छेहरुले हो कि जस्तो लाग्छ मलाई ।

भ्रष्टाचारीमात्रै होइन, उनको पार्टीभित्रैका एकथरिका मानिसहरु द्वारिकलाललाई बदनाम गराएर अर्कोचोटि उठ्न नदिने योजनामा लागेको जस्तो पनि लाग्छ मलाई । त्यहाँका मानिसहरुको भर्सन सुन्दाखेरि मलाई त्यस्तै लाग्छ । कम्युनिष्ट पार्टीभित्रैबाट पनि एउटालाई सिध्याएर अर्को उक्सिने खेल सुरु भएको हो कि भन्ने मलाई लागिराखेको छ ।

आखिर जे भए पनि अहिले इटहरीमा पत्रकार र सञ्चार क्षेत्रमाथि जुन व्यवहार भयो, यो त अत्यन्तै निन्दनीय व्यवहार हो । यो गर्नै नहुने व्यवहार हो । मेयर भनेको त नगरको जिम्मेवार मान्छे हो । अभिभावक मान्छे हो । उनले सबैका कुराहरु सुन्नुपर्छ । गाली पनि सुन्नुपर्छ, राम्रा कुराहरु पनि सुन्नुपर्छ । अभिभावक भैसकेपछि छाती त फराकिलो पार्नुपर्‍यो नि । त्यसैले मेयरले सच्चिएर जानुपर्छ । पत्रकार, नागरिक समाज सबैसँग सहकार्य गरेर अगाडि जानुपर्छ । अहिलेको आवश्यकता यही हो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment