Comments Add Comment

जटापोखरी–पाँचपोखरी : सम्भाव्यता छ, प्रचार छैन

Photo Credit : पाँचपोखरी /अनलाइनखबर

२८ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा पर्ने जटापोखरी र पाँचपोखरी क्षेत्र प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । पर्यटकीय सम्भाव्यता भएर पनि यो क्षेत्रलाई प्रबर्द्धन गर्ने ठोस प्रयास भएको छैन ।

तामाकोसी नदीको प्रमुख सहायक नदीको रुपमा रहेको खिम्ति खोलाको सिरमा रहेको पाँच पोखरी र जटापोखरी धार्मिक हिसावले प्रख्यात मानिन्छन् । गोकुलगंगा गाउँपालिकाको वडानम्बर १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल हिँड्नु पर्छ । चुचुरेको खहरेसम्म भने हिउँद र पानी नपरेको बेलामा यातायात चल्छन् । चुचुरेको शिवालयसम्म सदरमुकाम मन्थलीबाट बस सेवा नै सञ्चालनमा छ ।

रस्नालुबाट नै सुरु हुने उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पती, जडीबुटी र छाँगा छहराहरुले यात्रीहरुको मन आनन्दित बनाउँछ । राणाकालमा नै सञ्चालनमा आएर बन्द भएको नेपालकै दोस्रो ठूलो फलाम खानी पनि यही बाटोमा पर्दछ ।

लेकको चिसो मौसम र मनोरम दृश्यले त्यो खहरेको उकालोमा समेत यात्रीहरुलाई थकाइको महसुस हुन नदिने उमाकुण्ड गाउँपालिकाको वाम्तिका समाजसेवी उपेन्द्रराज घिमिरे बताउँछन् ।

करिव ६ घण्टाको ठाडो उकालो पैदल यात्रापछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरोभित्र लुकामारी गर्दै चरिरहेका चौरी खरहेरमा भेटिन्छन् । मानेडाँडाबाट दुई घण्टाको दुम्स्याइलो बाटो पार गरेपछि जटापोखरी पुगिन्छ ।

जटापोखरी

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेपछि जटापोखरी पुगिन्छ । ४ हजार २ सय ५० मिटरको उचाईमा रहेको जटापोखरी एउटा हिमताल नै हो । जहाँ वर्षमा ६ महिनाभन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटापोखरी भनिएको स्थानीय बताउँछन् ।

पाँचपोखरी भने जटापोखरीभन्दा पनि माथि छ । जटापोखरीको ठ्याक्कै माथि रहेको पाँचपोखरी ४ हजार ६ सय ५ मिटरको उचाईमा छ । एउटै पोखरीमा बीचबीचमा प्राकृतिक रुपमा उठेका बाँधहरुले पोखरीलाई पाँचवटा कुण्डमा विभाजन गरेको छ । यो पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापाखरीबाट खिम्ति खोलामा । दुवै पाखरीबाट अनवरत रुपमा पानीका फोहोरा निस्कन्छन् ।

पाँचपोखरी र जटापोखरीभन्दा पनि अघि बढ्न चाहनेहरु उमाकुण्ड गाउँपालिकाको भूत पोखरी, बहुलाहा पोखरी लगायतका कुण्डहरुमा अघि बढ्न सक्छन् । नचाहनेहरु यात्रा त्यहीँ टुङ्ग्याएर फर्कन पनि सक्छन् ।

यो क्षेत्रको यात्रा चैतदेखि भदौ महिनासम्म गर्न सकिन्छ । जनै पूणिर्माको दिन भने जटापोखरीमा ठूलो मेला लाग्छ । यो स्थानलाई हिन्दु र वौद्धधर्मालम्बिहरुको संगमस्थल पनि मानिन्छ । जनैपूर्णिमाको दिन मेला भर्न रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुंगा, सोलु, भक्तपुर, सर्लाही मात्र हैन भारतको सिक्किमसम्मका हिन्दु र वौद्धधर्मालम्बिहरु त्यहाँ पुग्ने गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए ।

यो क्षेत्रलाई धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा विकास गरी ठाउँ-ठाउँमा होम स्टे तथा भ्यु टावरहरु निर्माण गर्ने योजना बनाएको उनले जानकारी दिए ।

उनले भने, ‘हाम्रोमा पर्यटनको सम्भावना राम्रो छ । तर प्रचार-प्रसार हुन नसक्दा यी ठाउँ ओझेलमा परेका छन् । त्यसैले प्रचार र पूर्वाधार निर्माणका काम हामी एकैसाथ अघि बढाउँछौँ,’ सुनुवारले भने ।

जटापोखरी र आसपासको क्षेत्रमा जडिबुटीको पनि खानी रहेको छ । लोठसल्ला, चिराईँतो पाखनवेद, ठुलो ओखतो, पाँच औले, जटामसी, सुनापति, विषमार, लगायतका जडिबुटी जंगलमा त्यतिकै सडेर गईरहेका छन् । यहाँका चौरहरुमा यार्सागुम्बा पनि पाइने स्थानीय शेर्पाहरु बताउँछन् । तिनको उचित व्यवस्थापन गरी विक्री गर्ने हो भने गाउँपालिकाको आम्दानीको स्रोत बन्न सक्छ ।

यस क्षेत्रमा परम्परागत रुपमा पालिदै आएको चौरीलाई व्यवस्थित र व्यवसायीकरण गर्न सके पर्यटन प्रवर्द्धन र कृषकको आयस्रोत बढाउन पनि सहयोग पुग्न सक्छ । यसै कुरालाई ध्यानमा राखी यस वर्षबाट चौरीमा अनुदान कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष सुनुवार बताउँछन् ।

‘कृषि, पर्यटन र जलश्रोत हाम्रा सम्पत्ति हुन् । अब हामी यसैलाई परिचालन र प्रवर्द्धन गरी गाउँपालिकालाई समृद्ध बनाउँछौँ,’ अध्यक्ष सुनुवारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment