
१२ असोज, काभ्रेपलाञ्चोक । प्राकृतिक विपत्ति कहाँ, कतिबेला, कसरी आउँछ कसैलाई थाहा हुँदैन । गत वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा अकल्पनीय जनधनको क्षति भयो ।
बाढीपहिरोले त्यसबेला काभ्रेमा ७९ जनाको मृत्यु भएको थियो भने पाँच जना अझै बेपत्ताको सूचीमै छन् । बाढीपहिरोमा परेर ७५ जना घाइते भए । तर, बाढीपहिरो गएको एक वर्ष पुग्दा पनि पीडितहरु समस्यामा गुज्रिरहेका छन् ।
सबैभन्दा बढी प्रभावित जिल्लाका बेथानचोक, पनौती, रोशी, तेमाल, नमोबुद्धलगायतका पालिकाहरुका धेरै बस्तीहरु पुननिर्माण तथा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको भएपनि उनीहरुलाई न स्थायी आवासको काम सुरु भएको छ न स्थानान्तरणकै प्रयास ।
एक वर्ष पूरा हुँदा पनि अधिकांश पालिकामा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । सबै पालिकामा आवास निर्माणको लागि किस्ता लिएको भएपनि दुई पालिका रोशी र बेथानचोकले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन् । अझै कुनै पनि स्थानीय तहमा स्थायी आवास निर्माणको काम सुरु भइसकेको छैन ।
काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अस्थायी आवास निर्माणका लागि १३ वटा पालिकाका ३१२८ जनाले पहिलो किस्तावापत ७ करोड ७९ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने बेथाञ्चोक गाउँपालिकाका १९६ र रोशी गाउँपालिकाका ४६१ घर परिवारले दोस्रो किस्तावापत एक करोड ६४ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त, अन्य पालिकाकाले भने दोस्रो किस्तावापतको रकम लगेका छैनन् ।
‘दोस्रो किस्ताका लागि जिल्ला प्रशासन कार्यालयको खातामा चार करोडभन्दा धेरै रकम छ । तर, स्थानीय तहले दोस्रो किस्ता रकम माग नगरेकोले खातामानै बसेको छ’, सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अस्थायी आवासको लागि लाभग्राही प्रतिपरिवार पहिलो किस्तामा २५ र दोस्रो किस्तामा २५ गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने कार्यविधि अनुसार दिने गरिएको छ ।’
विपद्का कारण निजी आवास पूर्णरुपले क्षति भएका तथा आंशिक क्षति भए तापनि बसबोस गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न उपलब्ध गराउने गरी अनुदान सम्बन्धी व्यवस्था गरिएपछि सरकारले विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड २०८१, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३९ बमोजिम अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराएको थियो ।
विपद्का कारण निजी आवास पूर्ण रुपले क्षति भएका तथा आंशिक क्षति भए तापनि बसबोस गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न उपलब्ध गराउने गरी अनुदान सम्बन्धी व्यवस्था अनुसार रकम दिएपनि धेरै लाभग्राहीले अस्थायी आवास निर्माण गरेका छैनन् ।
तर, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाका १३ वटै पालिकाका लाभग्राहीहरू पहिचान गरी प्रविष्ट गरिएको आधारमा भुक्तानी गरिएको जानकारी दिए । ‘अस्थायी आवास निर्माणका लागि पहिलो किस्तोवापत २५ हजार रुपैयाँ उपलब्ध भएर निर्माण सुरु गरेर दोस्रो किस्ता २५ हजारका लागि स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीहरुलाई अन्तिम किस्तावापतको २५ हजार रकम उपलब्ध गराइनेछ’, सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने ।
यस्तो छ क्षतिको विवरण
गत वर्षको बाढीपहिरोले प्रभावित यहाँका पालिकाहरुमा कुनै पनि क्षेत्र सुरक्षित रहेन । सडक, विजुली, खानेपानी, सञ्चार, कृषि, पशुपालन, निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्यचौकी सबैजसो क्षेत्रमा असर परेको थियो ।
१३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढीपहिरोमा परी ७९ जनाले ज्यान गुमाए ।
बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका थिए ।
बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
काभ्रेमा ३३२८ निजी आवासमा क्षति पुगको थियो भने १२ सरकारी भवन पूर्ण रूपमा तथा १३५ वटामा आंशिक क्षति पुगेको थियो । आठ सार्वजनिक भवन पूर्ण क्षति भएका छन् भने १३४ वटामा आंशिक क्षति पुगेको छ ।
सहरी विकास तथा भवन कार्यालय काभ्रेका अनुसार कुल क्षति पुगेको निजी आवासमध्ये २५७७ घर पूर्णरुपमा क्षति भएका थिए भने ७५१ घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी जिल्लाका विभिन्न स्थानका ६८ घरपरिवार स्थानान्तरणका लागि सिफारिस भएका थिए ।
बाढीका कारण सबैभन्दा बढी क्षति बीपी राजमार्गमा परेको छ । निर्माणको चरणमा रहेको बीपी राजमार्गमा ठेकेदार छनोट गरेर कार्यालय स्थापनाको कार्य भएको र दशैँ लगत्तै निर्माणको काम हुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको थियो । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहका ७ हजार २०० परिवारले लगाएको बालीको प्रारम्भिक क्षतिको अनुमान अनुसार ४२ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति पुगेको कृषि कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिए ।
त्यस्तै बाढीपहिरोबाट करिब चार हजार पशुपन्छी मरेका थिए । बाढीपहिरोका कारण काभ्रेका १७९ वटा विद्यालयमा क्षति पुगेको थियो ।
यसैगरी ४८ पुलमा क्षति पुगेका मध्ये सात पूर्ण रूपमा र तीन आंशिक क्षति भएको थियो । सिँचाइका ९६ वटा आयोजना तथा ३६ तटबन्धको योजनामा क्षति भएको थियो ।
यस्तै खानेपानी तथा सरसफाइका आयोजनामा सबैभन्दा बढी क्षति काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको भयो । उक्त आयोजनाको दुई किलोमिटर पाइप बाढीले बगाइदियो भने धुलिखेल खानेपानी उपभोक्ता समितिको तीन किमी पाइप बाढिले बगाइदियो । तेमाल बृहत् खानेपानी आयोजना, नमोबुद्ध बृहत खानेपानी आयोजना लगायतका ठुला आयोजनाहरु समेत क्षतक्षित भए ।
चार स्वास्थ्य संस्था, नेपाल टेलिकमका करिब दुई दर्जन टावर तथा अप्टिकल फाइबर, टेलिफोन पोल, तारमा क्षति भएको थियो भने दश तहमा ७७४ विद्युतका एचटी लाइनका ११ मिटर अग्ला पोल र नौ मिटर अग्ला एमटी लाइन भएको एक हजार १४९ पोल पूर्ण रूपमा क्षति भएका छन् । ४४ मध्ये २२ ट्रान्सफर्मरमा पूर्ण क्षति पुगेको थियो ।
प्रतिक्रिया 4