Comments Add Comment

कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढ्यो : मुख्यमन्त्री राउत

३० जेठ, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताएका छन् । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र मनसुन पूर्व तयारीसम्बन्धी बिहीबार जनकपुरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विपद जोखिम न्युनीकरणको लागि मासिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने धारणा राखे ।

प्रदेश २ का जिल्लाहरुमा भइरहेको अत्यधिक बालुवा, गिट्टी उत्खननबारे प्रहरी, प्रशासनलाई जानकारी भए पनि चासो नलिएको मुख्यमन्त्री राउतले आरोप लगाए । ‘चुरे क्षेत्रमा स्काइभेटरको प्रयोग भइरहेको छ, यस्तोमा चुरे कसरी संरक्षित हुन्छ ?’ मुख्यमन्त्री राउतले भने ‘एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँछ, अर्को निकायले उत्खनन गर्नको लागि आदेश गर्छ ।’

तराई मधेशको लाइफलाइन रहेको चुरे विनाश भएपछि यो क्षेत्र मरुभूमिमा परिणत हुने खतरा हुँदाहुँदै प्रहरी प्रशासनको मिलोमतोमा उत्खनन भइरहेको छ । पूर्व पश्चिम राजमार्गमा रहेको धनुषाको कमला र महोत्तरीको रातु नदीमा स्काभेटरको प्रयोग गरेर बालुवा, गिट्टी उत्खनन भइरहेको छ ।

विपद् जोखिम न्युनीकरण गर्न प्रदेश सरकारले प्राधिकरण बनाउने तयारीमा रहेको मुख्यमन्त्री राउतले बताए ।

बालुवा, गिट्टी उत्खनन सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिए पनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर जटिल बनाएको उनले बताए । विपद् जोखिम न्युनीकरण र पूर्व तयारीमा तीनै सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै उनले कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विपद् आइसकेपछि व्यवस्थापन गर्नुको साटो पुर्वतयारी अवस्थामा रहनुपर्ने धारणा राखे ।

अन्तर्क्रिया कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् जोखिम न्युनीकरण तथा व्वस्थापन विज्ञ गंगालाल तुलाधरले नेपालमा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, विद्यमान प्रावधानहरु र मनसुन पूर्व तयारी सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment