३२ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाले डोजर लगाएर घर भत्काइदिएपछि विस्थापित भएका बुटवलका १६ परिवारले बसोबासको वैकल्पिक व्यवस्था गर्न माग गर्दै अनसन शुरु गरेका छन् ।
बुटवल–१ स्थित जामे मस्जिद अगाडि २ कठ्ठा बढी जग्गामा ०२८ सालदेखि बस्दै आएका १६ परिवारका टहरा उपमहानगरले बिहीबार डोजर लगाएर भत्काइदिएको थियो ।
आफूहरु घरबारविहीन भएको भन्दै शनिबार बिहानैदेखि उनीहरुले अनसन शुरु गरेका हुन् । अनसनको ब्यानरमुनि वालवालिका र वृद्धवृद्धाहरु समेत देखिन्छन् ।
डोजर लगाएर बस्ती हटाइएको स्थानमा उपमहानगरपालिकाले ४० लाख लागतमा कभर्ड हल शिलान्यास गर्ने तयारी गरेको वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल बताउँछन् ।
अख्तियारको निर्देशनअनुसार उक्त जग्गा खाली गराएर उपमहानगरले कभर्ड हल बनाउने योजना बनाएको लिगलले बताए ।
विगतमा राणाहरुको घोडा बाँध्ने तबेलाको रुपमा रहेको उक्त स्थानमा रहेका टहरामा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदायका गरीवहरु बस्दै आएका थिए ।
आफूहरुको अन्यत्र बस्ने ठाउँ नभएकाले उपमहानगरले वैकल्पिक व्यवस्था नगरेसम्म अनसन जारी राख्ने पीडितहरु बताउँछन् ।
‘यो जग्गाबारे अदालतमा मुद्दा छ, मुद्दाको अन्तिम फैसला नहुँदै वर्षायामको मुखमा आफूहरुलाई घरवारविहीन बनाएर अन्याय गरेको विरोधमा अनसन शुरु गरेका हौं’ अनसनरत हरिबहादुर विश्वकर्माले भने, ‘४८ वर्षदेखि हामीले संरक्षण गर्दै बसेको जग्गाबाट वैकल्पिक व्यवस्था नगरी कसरी हटाउन मिल्छ ?’
उपमहानगरपालिकाले वस्तीमा डोजर लगाएर ४८ वर्षदेखि गरीब तथा विपन्न परिवारलाई विस्थापित गराएको भन्दै घटनाप्रति राजनीति दलले समेत विरोध जनाएका छन् ।
विहीबारको प्रदेश सभा वैठकमा समेत समाजवादी पार्टीका सांसदले बुटवल उपमहानगरपालिकाले अदालतको अवहेलना गर्दै वस्तीमा डोजर चलाएको भन्दै विस्थापितलाई वैकल्पिक व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय जनता पार्टीकी सांसद कल्पना पाण्डेले पनि संसदमा बोल्दै उपमहानगरपालिकाको कदमको विरोध गरिन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4