Comments Add Comment

एक महिनामा होला त दिपायल विमानस्थल कालोपत्रे !

१ डोटी, असार । ०७५ साल असार मसान्तसम्म कालो पत्रेको काम सम्पन्न गर्ने गरी ०७३ सालमा सुरु भएको दिपायल विमानस्थलको स्तरोन्नतीको काम ०७६ असार मसान्तमा समेत पूरा नहुने देखिएको छ ।

०६२ सालदेखि जहाज नचल्दा गौचरणमा परिणत भएको दिपायल विमानस्थलको स्तरोन्नती गर्ने कार्यका लागि नेपाल नागरिक उड्यन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । चार सय ९० मिटर लम्वाईको धावनमार्ग कालोपत्रेसहितको स्तरोन्नतीका लागि ६ करोड ८० लाख कवुल अंक रहेको उक्त ठेक्का सम्झौतामा २०७३ साल कात्तिक बाटै काम सुरु हुने भनिए पनि फागुनमा मात्रै सुरु भएको थियो ।

ठेक्का सम्झौताअनुसारको म्यादमा काम सम्पन्न हुन नसकेपछि एक वर्षको ठेक्का अवधि बढाइ ०७६ असार मसान्तसम्म सक्नु पर्ने कालोपत्रेको काम असार १ गते हुँदासम्म सुरु भएको छैन ।

ठेकेदारले बिमानस्थल कालोपत्रेका लागि ल्याएका उपकरणहरु पनि अन्यत्र लगिसकेको स्थानीयको आरोप छ । एकपछि अर्को गरी उपकरणहरु समेत लगेका कारण अब विमानस्थल कालोपत्रे गर्ने कुरामा शंका गर्छन स्थानीयवासीहरु ।

सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली बनाइएपछि चहलपहल घट्नै गएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलवासीहरु विमानस्थल बनेपछि पर्यटकहरु आउने र चहलपहल वढ्ने आशमा छन् । तर, विमानस्थलको काममा हुँदै गएको ढिलाइले उनीहरुको आशा निराशातिर धकेलिदै गएको छ ।

ठेकदारकै कारण ढिलाइ

नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर रतनबहादुर श्रेष्ठका अनुसार हालसम्म बिमानस्थलको करिब करिब ७० प्रतिशत मात्रै काम भएको छ भने कालोपत्रेको काम सुरुसमेत भएको छैन् । काम नहुनुमा ठेकेदारको लापरबाही रहेको बताउँछन् इन्जिनियर श्रेष्ठ ।

‘यो काम हेर्नका लागि म चैत्रमा आएदेखि पटक पटक ठेकेदारलाई आग्रह गर्दा थाकिसकेको छु’ इन्जिनियर श्रेष्ठले भने, ‘दुई पटक त मैले लिखित ताकेता समेत गरिसकेको छु, तर ठेकेदारले वास्तै गर्दैन ।’

ठेक्का सम्झौताको म्यादअनुसार मसान्तसम्म मात्रै रहेको तर ठेकेदारको काम गराईले तोकिएको म्यादमा काम हुनन सक्ने श्रेष्ठको भनाइ छ । ‘प्रमुख जिल्ला अधिकारी, अन्य सरोकारवाला निकायहरु र पत्रकारहरुले सोधेको सोध्यै गर्नु हुन्छ, म जवाफ दिँदा दिँदा हैरान भइसकेको छु’ श्रेष्ठले भने, ‘ठेकेदारलाई जति भने पनि मान्दैन ।’ उनले तोकिएको समयमा काम नगर्ने ठेकदारलाई कारवाही नहुनुले यो अवस्था आएको बताए ।

‘खै, किनहो ठेकदारहरुलाई कारबाही हुँदैन,’ श्रेष्ठले भने, ‘उनीहरुले जति ढिलासुस्ती गरेपनि छुट दिए जस्तो हुन्छ ।’ उनले मुख्य ठेकेदार नरहरी थपलिया साइडमा आउँदै नआउने र सहायक ठेकदार हर्कबहादुर शाह कहिले आउने, कहिले नआउने गरेको बताए ।

असार मसान्तमै काम सकिन्छ

असार मसान्तभित्रै काम सम्पन्न गर्ने दावी गर्छन ठेकदार नरहरी थपलिया । अनलाइनखबरसँंग टेलिफोनमा कुरा गर्दै उनले यो साताभित्रै कालोपत्रेको काम सुरु हुने बताए ।

‘ठेक्का सम्झौताअनुसार कटिङ्ग र फिलिङ्गको काम सम्पन्न भइसकेको छ,’ थपलियाले भने, ‘अब कालोपत्रेको काम मात्रै बाँकी हो, त्यो यो महिनाभित्रै भइहाल्छ ।’ उनले हालसम्म मिस्त्री नपाएका कारण काम रोकिएको वताए । उनले थपे ‘आज (आइतवार) भारतबाट मिस्त्रीहरु हिँडिसकेका छन्, भोलिसम्म पुग्छन् ।’

कालोपत्रेका लागि प्रयोग नहुने उपकरणहरु मात्रै अन्यत्र लगेको ठेकदारको दावी छ । उनले कटिङ्ग र फिलिङ्गको काममा प्रयोग भएका उपकरण मात्रै अन्यत्र लगेको बताए ।

दिपायल विमानस्थलसँगै सम्झौता भएको साँफेबगर विमानस्थलको काम सम्पन्न भइ उडानसमेत सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment