Comments Add Comment

गर्भाधान संस्कारः सुयोग्य सन्तान जन्माउनका लागि

हिन्दु एक संस्कार हो । जीवन पद्धती हो । यस पद्धतीले जीवनलाई सही मार्गदर्शन गराउन सहयोग गर्छ । हिन्दु पद्धतीमा जीवनको १६ संस्कार बताइएको छ । १६ संस्कार भनेको हाम्रो जन्मदेखि मृत्युसम्मको संस्कार हो । कुन बेला के गर्ने, कसरी गर्ने, किन गर्ने भन्ने कुरा यसले वैज्ञानिक ढंगले व्याख्या गरेको हुन्छ ।

महषिर् वेदव्यासका अनुसार मनुष्यको जन्मदेखि मृत्युसम्म पवित्र १६ संस्कार सम्पन्न गरिन्छ । यस्तै संस्कारमध्येको एक हो, गर्भाधान संस्कार ।

झट्ट सुन्दा त यो संस्कार त्यती अर्थपूर्ण लाग्दैन । किनभने हामीले बच्चा जन्माउनका लागि जसरी यौन क्रिया गर्छौं, त्यसको कुनै निश्चित समय, तालिका, आसन, मनोभाव तय गर्दैनौ । यौन क्रिया गरेपछि गर्भ रहन्छ । सन्तानका रहर भएकाहरुले कुनैपनि बेला यौन क्रिया गर्न सक्छन् । उनीहरुको गर्भ रहन सक्छ ।

यही बेला गर्भधान गर्ने भन्ने निक्रयौल गरिंदैन ।

जबकी गर्भाधानको पनि आफ्नै विशिष्ठ संस्कार छ । गर्भाधान गर्नु भनेको यौनको भोक मेटाउनु मात्र होइन, एउटा सन्तानलाई जन्म दिनु पनि हो । एउटा सन्तानलाई धर्तीमा प्रवेश गराउनु पनि हो । हामी चाहन्छौ, आफ्नो कोखबाट जन्मिएका सन्तान राम्रो होस् । असल होस् । स्वस्थ्य होस् ।

कुनैपनि फलको बिउ रोप्नुपूर्व हामी त्यसको उचित समय, मौसम, माटो आदि हेर्छौ । तर, गर्भाधानका लागि हामी त्यसरी समयको अनुकुलता हेर्ने गर्दैनौ । जन्म लिने बच्चाको सुख, स्वास्थ्य र समृद्धिका लागि गर्भाधानको लागि पनि निश्चित समय मिलाउनुपर्छ । निश्चित विधी मिलाउनुपर्छ । हिन्दु संस्कारले यस्तै भन्छ ।

हामी अन्धधुन्द यौन क्रिया गर्छौ । यौन क्रिया गरिरहेको बेला हाम्रो मनोदसा कस्तो हुन्छ ? थाहा हुन्न । हामी कस्तो अवस्थामा हुन्छौ ? थाहा हुन्न । जबकी त्यही बखत गर्भाधान हुनसक्छ ।

गर्भाधानका सम्बन्धमा स्मृतिसंग्रहमा लेखिएको छ, ‘विधीपूर्वक संस्कारले युक्त गर्भाधानबाट राम्रो र सुयोग्य सन्तान जन्मन्छ । यस संस्कारबाट वीर्य सम्बन्धी पाप नष्ट हुन्छ । गर्भाधान संस्कारको फल यही हो ।

१. गर्भाधान

यो संस्कार जीवनकै सबैभन्दा महत्वपूर्ण हुन्छ । विवाहपछि श्रीमान् र श्रीमतीले आफ्नो भावी सन्ततीको बारेमा सोच विचार गर्नुपर्छ । बच्चा जन्माउने योजना बनाएपछि महिला र पुरुषको स्वास्थ्य स्थिती, मानसिक स्थिती पनि राम्रो हुनुपर्छ । यसपछि उचित नियम, तिथि, नक्षत्र आदि अनुसार बच्चा जन्माउने हेतुले यौन क्रिया गर्नुपर्छ । यसलाई एक पवित्र कार्यको रुपमा लिनुपर्छ । कामवासना अन्र्तगत लिइयो भने त्यसको नतिजा राम्रो हुँदैन ।

उत्तम अन्न ग्रहण गरे, पवित्र भावना, प्रेम र आनन्दको स्थितीमा रहेपछि हाम्रो शरीरको गुण धर्म बद्लिन्छ । प्रसन्नता सबैभन्दा उत्तम भाव हो । घरको उचित वतावरण हुनुपर्छ, जसले सम्पूर्ण चिन्ता एवं तनाव हटायोस् । यसरी सबै बन्दोबस्ती मिलाइसकेपछि जन्मने बच्चाले राम्रो भविष्य पाउन सक्छ ।

गर्भधान संस्कार के हो ?

गर्भ बीज र आधान अर्थात स्थापना । तेज एवं दीर्घायु सन्तानका लागि यथाविधी र यथा समय बीजको स्थापना गर्नुपर्छ । गर्भाधान विवाहको चौथो दिन गर्नुपर्छ, तर त्यस दिन उचित समय मिलेको हुनुपर्छ । महिला र पुरुषको रज एवं वीर्यको संयोगले सन्ताना उत्पत्ति हुन्छ । यो संयोगलाई गर्भाधान भनिन्छ । गर्भस्थापनापछि अनेक प्रकारका प्राकृतिक दोषको आक्रमण हुन्छ, जसबाट बच्नका लागि यो संस्कार गरिन्छ । यसले सुरक्षित गर्भ रहन्छ । विधिपूर्वक संस्कारयुक्त गर्भाधानले राम्रो र सुयोग्य सन्तान जन्मन्छ ।

गर्भधारणपछि के गर्ने ?

गर्भमा शिशु कुनै चैतन्य जीव जस्तै व्यवहार गर्छ । उ सुन्छ, ग्रहण पनि गर्छ । माताको गर्भमा आएपछि गर्भस्थ शिशुलाई संस्कारित गरिन्छ । हाम्रा पूर्वज यी सबै कुरामा ज्ञाता थिए, त्यही कारण उनीहरुले गर्भाधान संस्कारको महत्व बताए ।

महषिर् चरकले भनेका छन् कि शारीरिक सम्बन्ध स्थापित गर्ने बेला मन प्रशन्न हुनुपर्छ । उत्तम भोजन गरेको हुनुपर्छ । दम्पतीको मनमा उत्साह, प्रसन्नता र स्वस्थ्यता भरिपूर्ण हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment