Comments Add Comment

मप विश्वविद्यालयमा टिसर्टको लफडा : बाहिर झडप, भित्र वार्षिकोत्सव

४ असार, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा फेरि आन्दोलन चर्किएको छ । विश्वविद्यालयमो ९ औं वार्षिकोत्सवको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

राजनीतिक खिचातानीका कारण पटकपटक आन्दोलन भइरहने मप विश्वविद्यालयमा यसपटक भने सबै दलनिकट विद्यार्थी संयुक्तरुपमा आन्दोलनमा उत्रेका छन् ।

विश्वविद्यालयको ९औं वार्षिकोत्सव मनाउने क्रममा म्याराथनलगायत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा खेलाडीहरुलाई काठमाडौंका केही निजी कलेजहरुले जर्सी सौजन्य गरेका थिए । सोही विषयमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

नेकपानिकट अनेरास्ववियू, कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)लगायतका विद्यार्थीहरुले विश्वविद्यालयले निजी कलेजको प्रचार गरेको भन्दै विरोध गरेका थिए ।

विश्वविद्यालयका पदाधिकारीहरुले ठूलो रकम लिएर बाहिरका निजी विद्यालयको कर्णालीमा प्रचार गरेको आरोप विद्यार्थीहरुको छ ।

विश्वविद्यालयमै अन्य कलेजको प्रचार गर्न नदिन भन्दै विद्यार्थीहरुले टि–सर्ट प्रयोग नगर्न माग गरेका थिए । तर, विश्वविद्यालयका पदाधिकारीहरुले टि–सर्ट फिर्ता गर्न अस्वीकार गरेपछि विद्यार्थीले वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रम नै बिथोल्ने प्रयास गरेका छन् ।

वीरेन्द्रनगरको कुइने पानीमा रहेको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । विद्यार्थीले कार्यालय परिसरमा प्रदर्शन गरेका थिए । साथै प्रायोजित टि–सर्टहरु च्यातेका थिए ।

विद्यार्थीको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले धरपकड गरेको थियो । त्यसक्रममा एकजना प्रहरीसहित केही विद्यार्थीहरु घाइते भएका छन् ।

प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव अम्मराज शाही, नेविसंघका केन्द्रीय सदस्य हरि शर्मासहित एक दर्शन बढी विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

प्रायोजित टि–सर्टको विषयलाई लिएर विद्यार्थी आन्दोलित भएपछि विश्वविद्यालयले वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीलाई निषेध गरेको छ ।

सबै विद्यार्थी आन्दोलित भएकाले हलभित्र आयोजित कार्यक्रममा विद्यार्थी सहभागी नभएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य महेश जिसीले जानकारी दिए ।

आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेपछि अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर र सहसंयोजक रंजित तामाङले विज्ञप्ति प्रकाशित गरी विनासर्त तत्काल रिहाइ गर्न माग गरेका छन् ।

विश्वविद्यालयको दावी – नीतीगत व्यवस्था अनुसार प्रायोजन

यता मध्यमश्चिमाञ्चल विश्वविद्यालयले भने आफूहरुले विशवविद्यालयको नीतिगत व्यबस्था अनुसार नै केही कलेजले जर्सी सौजन्य गरेको बताएको छ ।

विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले नीतिगत व्यवस्थाअनुसार नै विश्वविद्यालयको फाइदाका लागि निजी कलेजले सौजन्य गरेको बताए ।

द्यिार्थीले अवरोध गर्ने प्रयास गरे पनि वार्षिकोत्वसव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उनले बताए ।

वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद प्रतियोगिताका लागि काठमाडौंको मध्यवानेश्वरको राजधानी मोडेल कलेज लगायतका कजेलले टि–सर्ट सौजन्य गरेका थिए । टि–सर्टमा ‘मेरो विश्वविद्यालय, मेरो गौरब’ नाराका साथै सौजन्य गर्ने कलेजको ठेगाना र सम्पर्क नम्बर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment