Comments Add Comment

महानगरले डोजर लगाएपछि थकाली समाजको गुनासो – मापदण्ड मिचेका छैनौं

४ असार, पोखरा । मार्फा थकाली समाजले आफूले मापदण्डविपरीत संरचना नबनाएको भन्दै बुधबार पोखरा महानगर प्रमुखलाई भेटेको छ । ०२९ सालमा समाज घर बनाउँदा त्यहाँ कुनै बाटो नभएको तर हाल बाटो बनिसकेपछि समाजलाई सार्वजनिक जग्गामा मिचेको आरोप लागेको दाबी नरेन्द्रमान तुलाचनको छ ।

समाजको संरचना बाटोको मापदण्डभित्र परेको भन्दै पोखरा १२ ले मंगलबार डोजर चलाएको थियो । महानगरले आधिकारिक पत्रबिनै संरचनामाथि डोजर लगाउँदा विधिको शासनविपरीत काम भएको तुलाचनको भनाइ थियो । ‘सोमबार नगर प्रहरी आएर कम्पाउन्ड मापदण्डभित्र छ भन्यो । बुधबार हामी कोही नभएकोबेला आएर भत्काएको छ,’ उनले भने, ‘भत्काउनु नै छ भने हामीलाई आधिकारिक पत्रसहित समय दिएको भए पनि हुन्थ्यो ।’

बिना जानकारी संरचना भत्काउँदा स्थानीयमै मार्फा थकालीप्रति स्थानीयको गलत दृष्टिकोण पर्न गएको कुशुकु हिराचनले बताइन् । ‘समाज घरले मापदण्ड मिचेको होइन । बाटो विस्तार गर्दा मापदण्डविपरीत परेको मात्रै हो । तर, सञ्चार माध्यममा सार्वजनिक जग्गा अधिग्रहण गरेको भन्ने समाचार आइराछ,’ उनले भनिन्, ‘देशविदेशबाट सहयोगी दाताले पनि सार्वजनिक जग्गामा किन घर बनाएको भन्न भ्याइसके ।’ उनले महानगरले डोजर चलाउँदा एउटा जगसहित करिब ७ लाख रुपैयाँको क्षति भएको बताइन् ।

पोखरा महानगरका कानुन महाशाखा प्रमुख नारायणप्रसाद शर्माले भने संरचना मापदण्डभित्र पर्नेबारे जानकारी दिएको बताए । उनले भने, ‘भत्काउन नपर्ने कारण केही छ भने कारण देखाउनुस् भनेरै पत्र पठाएका छौं,’ उनले भने, ‘जानकारी दिएरै हामीले संरचनामाथि डोजर चलाएका हौं ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीले मार्फा थकाली समाजको संरचनाबारे ३ पटक वडालाई पत्राचार गरिसकिएको बताए । उनले बाटो साँघुरो भएको र समयको माग अनुसार बढाउनुपर्ने भएकाले समाज घर त्यसको चपेटामा परेको बताए ।

मणिपाल अस्पताल जाने उक्त सडकखण्ड विस्तार गर्न पोखरा महानगरबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । समाजले मापदण्डविपरीत संचरना खडा गरेकै कारण योजना कार्यान्वयन गर्न ढिलाइ भइरहेको स्थानीयको भनाइ छ । समाज घरको पर्खालकै कारण गतवर्ष महानगरबाट प्राप्त भएको १० लाख रुपैयाँ फ्रिज भएको स्थानीय जगत कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment