Comments Add Comment

अध्यक्षले खेलेकाे फिल्मलाई गाउँपालिकाले दियो १० लाख

अध्यक्ष भन्छन्– पर्यटन प्रवर्द्धनका लागि दिएका हौं

अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा चलचित्र ‘साङ्लो’ तयार भइरहेको छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायांकन भइरहेको छ । यस चलचित्रका लागि डोटीको जोरायल गाउँपालिकाले विकास बजेटबाट १० लाख रुपैयाँ दिएको छ । रकम निकासा गरेका गाउँपालिका अध्यक्ष आफैंले चलचित्रमा अभिनयसमेत गरेका छन् ।

जेठ २७ गते बसेको जोरायल गाउँपालिकाको बैठकले उक्त चलचित्रलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

दुर्गादत्त ओझा

चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने भएकाले ‘पर्यटन प्रवर्द्धन’को शीर्षकमा उक्त रकम चलचित्रलाई दिइएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘हाम्रो ठाउँमा आएर चलचित्रको छायांकन भइरहेको छ । यहाँको सुन्दर ठाउँहरु चलचित्रमा देखाइएको छ । यहाँको संस्कृति चलचित्रमा देखाइएको छ । त्यसैले यहाँको पर्यटन विकासका लागि भनेर उक्त बजेट चलचित्रलाई दिएका हौं ।’

तर गाउँपालिकाको यो निर्णयको भने विरोध भइरहेको छ । अध्यक्षले आफूलाई विरोधको बारेमा केही थाहा नभएको बताए । उनले अनलाइनखबरसँग भने–‘ म एक्लैले निर्णय गरेर चलचित्रलाई पैसा दिएको होइन । सबैको सहमतिमा पैसा दिने निर्णय भएको हो । विरोध कसले गरेको छ, थाहा भएन ।’

उनले यो रकम निर्माताको गोजीमा हाल्न नदिएको बताए । उनले, निर्माण टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट दिएको खुलाए ।

चलचित्रमा अध्यक्ष ओझाले पनि अभिनय गरेका छन् । चलचित्रमा अभिनय गर्नैका लागि पनि उक्त पैसा दिएको आरोप उनलाई लागिरहेको छ । तर, उनी यस कुरालाई स्वीकार्दैनन् । उनले भने ‘म आफू अभिनय गर्नका लागि १० लाख दिएकै होइन । चलचित्रमै खेल्ने रहर भए म आफै लगानी गरेर हिरो हुन सक्छु ।’

यो विषयमा नायक विराज भट्ट भने हाम्रो सम्पर्कमा आएनन् । निरन्तर चलचित्रको छायांकन भइरहेको भन्दे उनी उम्कन खोजे । यो चलचित्रमा नायक विराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ । एक्सन कथामा यो चलचित्र बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment