Comments Add Comment

जोवनको फूल बचाएरै राखेकी छु : शान्ति ठटाल

टापटिपे गीत एक पटक चल्छन्, दुई दिनमै बिलाउँछन्

७ असार, काठमाडौं । ‘सम्हालेर राख, संगालेर राख, फेरि फूल्ने हो कि होइन जोवनको फूल’ गीतले ख्यातिको शिखरमा पुगेकी संगीतकार शान्ति ठटाल उनको समयकी चर्चित संगीतज्ञ मध्येकी एक हुन् ।

हाल ८१ वर्षमा यात्रा गरिरहेकी दार्जिलिङकी यी मूर्धन्य संगीतकार यतिबेला नेपाल आएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति मुना मदनमा नयाँ संगीत भरिरहेकी छिन् ।

उतिबेलै तत्कालीन राजा महेन्द्रले नेपाल निम्त्याएर सम्मान गरिएकी ठटाल पछिल्ला केही समय हरेक दुई वर्षमा नेपाल आइरहेकी छिन् । उनको समयका गायक तथा संगीतकार गोपाल योञ्जन, अम्बर गुरुङ, अरुणा लामा, तारादेवी, नातिकाजी दिवंगत भइसकेका छन् ।

नेपाली गीत संगीतलाई दार्जीलिङ र नेपालसँग जोड्ने ज्येष्ठ कलाकार ठटालसँग बिनु पोखरेलले गरेको कुराकानी:

बाल्यकाल छँदै तपाईंले गाएको ‘सम्हालेर राख संगालेर राख फेरि फुल्ने हो कि हैन जोवनको फूल’ भन्ने गीत रेडियो नेपालमा सुनेको पुस्ता अहिले बुढ्यौलीतिर ढल्केको छ । तपाईंले सम्हालेर राख्नुभएको जोवनको फूल चाहिँ कस्तो छ ?

(एकछिन् अल्मलिएर मुसुक्क हाँस्दै) कस्तो अप्ठ्यारो प्रश्न । गाह्रो पो भो त हौ । यो जोवन भन्ने कुरा सबैको आउँदो रैछ कि । यसको एउटा पिरियर्ड हुन्छ । जोवन भनेको सम्पूर्ण ऊर्जा भएको समय हो भनौं ।

संघर्षको समय पनि हो जोवन । त्यतिबेला जीवनलाई कता लैजाने, कुन किनारामा आफूलाई स्थित गराउने भन्ने हुँदो रहेछ । हरेक मान्छेमा भएको भित्री दृढता लिएर उ फुल्छ कि फुल्नै नपाई अर्कोबाटो लाग्छ भन्ने कुरा नै हुँदोरहेछ ।

अहिले शिवशंकर छैनन्, नारायणगोपाल छैनन्, तारदेवी, अरुणा लामा, अम्मर गुरुङ छैनन्, गोपाल योञ्जन छैनन्, नातिकाजी पनि छैनन् । ओहो, रहलपहलमा म मात्र बाँकी रहेंछु

मान्छे हरेक पाइलामा धरमर धरमर हुन्छ । म पनि भएँ हुँला, अरु पनि भए होलान् । जीवन भनेकै यस्तै रहेछ । मैले चाहिँमेरो जोवनको फूल मुर्झाउन खोज्दा खोज्दै पनि त्यो फूल फुल्छ कि फूल्दैन भनेर बचाएर राख्दै आज यहाँसम्म आएँ कि । म के भएँ, तपाईंहरुले नै देखिरहनु भएको छन्त होइन र ?

कति फूल त त्यसै फूल्नै नपाई झर्छन् नि । तपााईं आफूलाई फूलजस्तै फूलेँ भन्ने ठान्नुहुन्छ कि हुन्न ?

(हाँस्दै) फुल्न त फूलेँ हुँला । फुलेँ कि फुलिनँ त्यो पनि त्यसै भन्न सक्दिन है । तर, त्यो फुलाइमा नि क्या ! शीतल हावा मात्र नभएर आँधी, हुरी, बतास के के आउँछ आउँछ । फूल गमक्कै फूले पनि त्यो सहजै टिकेको चाहिँ हुन्न के । कति असिना, हुरी वतास, शीत झेलेको हुन्छ । यो सबैको जीवनमा लागू हुन्छ । मान्छेको जीवनमा पनि बाटोमा रोडा, ढुङ्गा, अनेक उल्झन आउँछन् । तिनलाई पन्छाउँदै पन्छाउँदै मान्छे अघि बढ्छ । म संगीतको मूल समातेर यात्रा गरिरहेँ क्या !

र, अहिले हेर्नुस् न, तपाईंहरु मेरो यस्तो फ्यान हुनुहुन्छ । यो मेरो अहोभाग्य हो । एउटा कलाकारको धेरै फ्यान हुनु उसको सम्पत्ति हो । उसको धन सम्पत्ति होस् नहोस्, त्यो कलाले उसलाई धन दियोस् नदियोस् केहि मतलव छैन । धेरै फ्यान छन् भने नि, दरिलो भएर त्यस्ता आँधी खप्ने शक्ति पाइँदो रहेछ । अरु के खोज्ने हो र हामी कलाकारले ?

यहाँले अघि भन्नुभयो नि आँधी हुरी आउँछन् जीवनमा । त्यस्ता आँधी हुरी अनुभूत मात्र हुने रहेछन् कि ब्यक्त गर्न सकिने रहेछन् ?

भनेर के साध्य र । अनि भनेर के हुन्छ र ? ती त सब भोग्नैका लागि हुन् । त्यही उताव–चढावमा रम्न सक्यो भने एउटा पर्फेक्ट जीवन बन्दो रहेछ । कोही बाहिर आउलान् भन्लान् । आँधी हुरी झेल्न सकेनन् भने देखिइरहेको कुरा पनि हराउँदै जाला, बिलाउला । जीवनलाई त जसले गहिरिएर झेल्छ, ब्यहोर्छ, उसले जीवनको वास्तविकता देख्छ ।

राजा महेन्द्रले बोलाएपछि झण्डै ६ दशकअघि पहिलोपटक नेपाल आउनुभएको थियो । गीत संगीतमा लागेको वयस्क मुटु लिएर पहिलो पटक, त्यो पनि राजाले बोलाएर नेपाल आउनुभयो । त्यो बेला तपाईंलाई कस्तो अनुभव भएको थियो ? सम्झन सक्नुहुन्छ ?

सम्झन सक्छु नि किन नसक्नु । ती सबै दृश्य मेरा आँखामा झलझली छन् । आलो छ हौ । अब, १९६५ साल हो कि । त्योबेला त मैले धेरै नभए पनि केही गीत रेकर्ड गरिसकेको थिएँ । मलाई गायिकाका रुपमा सबैले चिनिसकेका थिए, हगि ।

म, शरण प्रधान, अरुणा लामा र अर्का एकजना आयोजक भन्ने म्युजिसियन गरी चारजना हामी आएका थियौं । हामीलाई राजाको निम्तोपत्र लिएर जाने चाहिँ त्योबेलाका लोकप्रिय कलाकार पुष्प नेपाली हुनुहुन्थ्यो । उहाँले हामीलाई सिमरा हवाई अड्डाको बाटो भएर ल्याउनुभएको थियो ।

यताका कलाकार दार्जीलिङ जाने, उताका यता आउने प्रशस्तै हुन्थ्यो त्योबेला । त्यही भएर मैले यताका धेरै कलाकार चिनेको थिएँ । नातिकाजी, शिवशंकर, तारदेवी, बच्चु कैलाश, नारायण गोपाल सबै उता गएर कार्यक्रममा गाउनुहुन्थ्यो कति कार्यक्रममा हामी मिलेर उहाँहरुसँग गाउँथ्यौं । त्यही भएर मलाई यता आएर गाउन पनि सजिलो भयो ।

त्यो भ्रमण मेरो पहिलो भ्रमण थियो । तर, अरुणा लामाको चाहिँ दोस्रो भ्रमण थियो । अरुणालाई अम्मर गुरुङले राजाको त्योभन्दा अघिल्लो जन्मोत्सवमा लिएर आइसकेको थियो । किनभने अरुणा लामा चाहिँ अम्मर गुरुङको गायिका थिइन्, त्यतिबेला ।

राष्ट्रिय नाचघरमा कार्यक्रम भएको थियो । मैले र अरुणा लामाले एक एकवटा गीत गायौं । त्यहि बेला राजा महेन्द्रसँग भेट भयो । हामी चार जनालाईमात्र अघि देखेपछि राजा महेन्द्रले दार्जिलिङबाट किन कम्ती कलाकार आएको भन्नुभयो ।

धेरै कसले बोल्न सक्ने र । शरण प्रधानले जवाफ दियो– हामी यतिनै मात्र आयौं भनेर । त्यो बेला हामी एक महिना नेपाल बस्यौं । यहाँको बस्ने खाने सबै राजाले ब्यहोरेका थिए । हामीलाई न्यूरोडको पारस होटलमा राखिएको थियो ।

तपाईंले अघि भन्नुभयो, मेरो गायकीलाई सबैले चिन्नथालेका थिए भनेर । संगीत भर्ने कामचाहिँ पछि थाल्नुभयो हो ?

हो, पहिले त म गायक नै हो । मैले गाएको धेरै गीत रेर्कड भएपछि नेपालबाट राजाले गाउन बोलाउनुभएको हो । त्यहिबेला गाएको हुँ यो ‘सम्हालेर राख’ गीत पनि । नेपालमा गाउन आएको सालदेखि नै मैले संगीतमा पनि हात हालेँ । गायकका रुपमा चिनिसकेपछि मात्रै म गीतमा संगीत भर्न थालेँ । कति आफ्नै गीतमा पनि संगीत भरेँ । अनि पछि मलाई संगीकार भन्न थाले ।

पुराना कालजयी गीत गाउने पुस्तामा दार्जीलिङमा तपाईं र यता नेपालमा केही मात्रै जीवत हुनुहुन्छ । कला र संगीतमा नेपाल र दार्जीलिङलाई जोड्ने सेतु अहिले कमजोर भएको हो ?

हो नि हौ । अहिले शिवशंकर छैनन्, नारायणगोपाल छैनन्, तारदेवी, अरुणा लामा, अम्मर गुरुङ छैनन्, गोपाल योञ्जन छैनन्, नातिकाजी पनि छैनन् । ओहो, रहलपहलमा म मात्र बाँकी रहेंछु । यता बच्चु कैलाश छन्, प्रेमध्वज छन् । अरु त पुराना को बाँकी छ र ?

यही पुस्ता नेपाल र दार्जीलिङलाई गीतसंगीत र सहित्यले जोड्ने सेतु थियो । तपाईं हुनुहुन्छ, यद्यपि सेतु कमजोर भएको महसुस गर्नुभएको छ ?

त्यहीबेलाको नेपालबाट मुरली, मादल, हार्मोनियम बोकेर उता जाने, उताबाट यता आउने, त्यतिबेलाको सम्बन्धहरु एकदमै यादगार छ हो । राम्रो र मीठो त्यही सम्बन्धले नै राम्रो राम्रो गीत संगीतको जन्म पनि भयो, हगि । अहिले पनि त्यो सकिइसकेको छैन । तर, अहिले नेपाली गीत संगीतले व्यावसायिक रुप लियो । र त्यही व्यवसायिक रुपमा आदान–प्रदान छ । हिजो आत्मीयताकै लागि हाम्रा भावना साटिन्थे र उत्कृष्ट गीत, संगीत निस्कन्थे, निस्किए । अहिले संगीत व्यवसायमा केन्द्रित भयो । त्यसको पनि उच्चतम प्राप्ति छ । त्यसको त्यही स्तरको परिणाम छ । त्यसैले जुनबेला जे छ, त्यही स्वीकार्नुको विकल्प पनि छैन ।

मान्छेमा बग्ने भाव टिपेर बनेको गीत बूढो हुँदैन । मान्छेभित्र हुने भावना त जुनसुकै पिँढीमा पनि उस्तै हुन्छ नि

अहिले पनि हेर्नुस्, नेपालय जस्तो संस्थाले पुराना–पुराना कलाकार ल्याएर गाउन लगाइरहेको छ । संगीतमा निरन्तर लागेकाहरुलाई ल्याएर सम्मन दिनुभएको छ । त्यसैले संगीतलाई व्यवसायिकरुपमा हेर्ने मात्र छन् भनेर डराइहाल्नुपर्दैन । संसार उज्याल्ने प्रकाश सानो दुलोबाट पनि आउन सक्छ ।

उता दार्जीलिङमा चाहिँ बजार केन्द्रित व्यावसायिक गीतहरु कत्तिको चल्छन् ?

उता पनि यता जस्तै त हो । व्यावसायिक गीत आयो । उता त्यो कलाकारलाई सिक्किमले बोलाउँछ, दार्जीलिङले बोलाउँछ । गान्टोक, खर्साङतिर बोलाइदिन्छ । अनि यस्तै गीत गाउने पनि हिट के । पैसा पनि कमाइहाल्छ । यस्तो कलाकारलाई झिकाउने कामचाहिँ बजारको मागले भैरहेको हुन्छ । उनीहरुलाई आउने–जाने अनि प्रस्तुत गरेको पैसा पनि दिनुपर्‍यो ।

अहिले लाग्छ, हिजो हाम्रो पालामा पनि यसैगरी लेनदेन भएको भए अहिलेसम्म बाँच्ने गीत जन्मिने थिएन । पैसा कमाउनकै लागि त बर्षौं वर्ष लगाएर एउटा गीत बनाउनुपर्ने थिएन । तत्काल बजारलाई चाहिने टापटिपे शब्द हालेर बनाइएका गीत एकपटक चल्छन्, दुई दिनमै बिलाउँछन् ।

कलाकारले आफैभित्र धुन जन्माएर त्यसबाट चरम आनन्द प्राप्त गर्नुपर्छ । आफूलाई चरम आनन्द दिएको गीतले श्रोतालाई आनन्द दिन्छ दिन्छ के । अहिले आफूलाई आनन्द दिने भन्दा पैसा दिने गीत धेरै बनिरहेका छन् ।

गीत संगीतको स्तर के कारण खस्किएको महसुस गरिंदैछ ?

मैले अघि भनें नि तपाईंलाई । धेरै मिलेर वर्षाैं वर्ष लगाएर एउटा गीत तयार गर्‍यौं भने पनि हामीले सोच्नुपर्थ्यो, त्यहाँ गीत रेकर्डिङ गर्न जान कति घण्टा लाग्थ्यो । कहिले जाने होला, कसरी जाने होला, कसरी साधना गर्ने होला, संगीतको कम्पोज कसरी सफल पारेर रेकर्ड गर्नेहोला ? यसरी मन मन जोडिएर बल्ल एउटा गीत तयार हुन्थ्यो ।

अहिले को कति पैसा लिन्छ, म्युजिसियनले कति लिन्छ, गाउनेलाई कति दिनुपर्ला भनेर हिसाब–कितावबाट गीतको सबै योजना सुरु हुन्छ । कस्तो निस्किएला गीत भन्नुस् त ? प्राण नभएको ज्यानजस्तो हुँदैन त अनि ।
अहिले सबैलाई पैसामै काम लगाइन्छ । तर, मैले आजसम्म गीतको यति देउ या दिनुपर्छ भनेर भनेको छैन । ब्यावसायिक रुपमा हेर्दा त गीतसंगीतबाट कमाइ गरेको छ नयाँ पुस्ताले । यसलाई पनि राम्रै मान्नुपर्छ ।

सबै कलाकारको कोसिस हुन्छ । मेरो यो पटकको सिडी हिट होस् भन्ने । हाताहाती बिक्री होस् भन्ने हुन्छ । तर, कालिङपोङ, दार्जीलिङका कलाकारहरु त्यो हारालुछीमा बिक्रीचाहिँ हुन्नन् । बजार पनि सानो छ । ठूलो बजार छैन त्यहाँ । यहाँ नेपालमा चाहिँ इन्स्टुमेन्टहरु पनि राम्रो छ । अनि गीत निस्कँदा पनि अन्तर्राष्ट्रियरुपमै जान्छ ।

तपाईं जहाँ जन्मिनुभयो, हुर्किनुभयो, त्यो नेपाल होइन । त्यसबेला नेपालमै पनि तयार भएका गीतसंगीतलाई रेकर्ड गराउन भारत नै जानुपर्दथ्यो । तर, तपाईंहरु चाहिँ नेपाल आउनुहुन्थ्यो । केले तान्दोरहेछ कलालाई ? तपाईंहरु मुम्बई नगएर नेपाल आउनुभयो होइन ?

हो नि । पहिले त भाषाले तान्छ के मान्छेलाई ! तर, ट्राइ त धेरैले गर्छ कि हिन्दी गीत गाएर उनीहरुकै दाजोमा आउने । गाउँछन् पनि । उस्तै पनि हुन्छ । तर, कता–कता कल्पनामा हुन्थ्यो यहीँको मिठास, आफ्नै माटोको माया । अनि उताको उसैगरी गाइरहन खोज्दैन । गाइँदैन र यतै आउँछ हगि ।

मतलव, भाषा र संस्कृति, हाम्रा पूर्खाहरु सबै यहीँको त हो । त्यही दार्जीलिङमा नै उम्रेको त हैन नि । अन्त यही भाषाको मायाले पनि केही नभए पनि टिकाइराख्ने रहेछ हामीलाई । किनकि नबोले पनि भित्रभित्रै नेपाली भाषा हाम्रो भन्ने छ नि त हामीलाई । मनले देश अथवा भाषा सभ्यता सम्पन्न, पूर्ण छ, छैन केही हेर्ने रै’नछ । आत्मैले यहीँ बोलाउँछ । अर्को कुरा नि त्यहाँ सबै कुरा सीमित छ । अनि सबै यतै आउन रुचाउँछ ।

बंगाल हेर्नुस न । बंगलादेश र बंगाल, उनीहरुको भाषा, संस्कृति र संगीतले नै गाढा सम्बन्ध छ । त्यस्तै हाम्रा नेपाली जहाँ–जहाँ रहे पनि यसैगरी गहिरो सम्बन्धले तान्छ के !

सीमा वारपारका सम्बन्धहरु जोड्न गीत संगीतको के कस्तो भूमिका हुन्छ ?

गीतले धेरै कुरा बोकेको हुन्छ । राजनीतिमा, सभ्यतामा, समाजको सबै पाटामा प्रभाव पर्छ नि हो । उताको गीत संगीत कस्तो छ भनेर यताको, यताको हेरेर उताकाले आफ्नो नराम्रो सुधार्छ । राम्रोलाई लिन्छ ।

बिहे गरेर घर बसाउ भनेर सोच्ने समय निकाल्नै भुलेँ मैले सांगीतिक क्षेत्रमा लागेर । यही संगीतले सबै थोक दियो

त्यतिमात्र हैन कि, त्यहाँको राजनीतिमा पनि संगीतको रोल हुन्छ । त्यसको उदाहरण अम्बर गुरुङले गाएको नौलाख तारा, सुनको तारा जस्ता गीत छन् । अम्मर गुरुङले गाएको अगमसिंह गिरीको रचनाकोे नौ लाख तारा बोलको गीतकै कारण अम्मर गुरुङले दार्जीलिङ छाडे त्योबेला । त्यो एउटा उदाहरण हो । त्यस्ता अनेकौं उदाहरण छन्, गीत संगीतले समाजलाई हाँकेको ।

त्यसबेला अम्बर गुरुङले दार्जीलिङ छाड्दा त्यसको प्रभाव अन्य कलाकारमा पर्‍यो कि परेन ?

पर्‍यो हो, किन नपर्नु ? एउटा गीतका कारण अम्मर गुरुङलाई भारत सरकारले शंकाको दृष्टिले हेर्न थाल्यो । उहाँले त संगीत भरेर गाउनु मात्र भएको । त्यसको रचना त अगमसिंह गिरीको थियो नि । अम्बर गुरुङ नेपाल आउनुभयो । अनि अगमसिंहले कति ठाउँमा लेख्यापनि थियो– अम्बर नेपाल गएपछि… भनेर । विस्तारै अब उ नेपालको हुन्छ, हामीसँग छुट्टियो, पराई भयो भनेर लेख्नुभएको छ । धेरै असर थियो नि ।

सिर्जनाको पनि एउटा उमेर हुन्छ भनेर मान्ने हो भने तपाईंले बैंशको उमेरमा जन्माउनुभएको ‘सम्हालेर राख’ बोलको गीत आज तपाईं ८१ बर्षको हुँदा बूढो हुनुपर्ने होइन र ? अनि तपाईं यो उमेरमा अझै नयाँ गीतहरुमा संगीत दिँदै हुनुहुन्छ । संगीतको उमेर नहुने मात्र होइन, संगीत सिर्जना गर्न उमेरले असर नगर्ने रहेछ, हो ?

त्यो म साह्रै त भन्न सक्दिनँ हो । तर, म यसैमा लागि परिरहेकाले र कतिवटा जिम्माहरु टाउकोमा आइरहेकाले म संगीतको कर्ममा तल्लीन छु । कसैले यो गीतमा संगीत गरिदेउ, यो गाइदेउ भनेर आउँदा हुन्न लैजा भन्न सक्दिनँ ।

अनि संगीत तयार गर्न तीन महिना, चार महिना बर्षौं लाग्छ कोहीबेला । अलिकति बनाउँछु थन्क्याउँछु । फेरि अर्को आउँछ, अनि मेरो यो गीत गाइदिनुपर्‍यो भन्छ । अनि यस्तै जिम्मेवारीले तानेको तानेकै खोलाले किनार नछोडेजस्तै हो । तानेको तानेकै, तानेको तानेकै । अहिलेसम्म तानिरहेको छ ।

अहिले पनि म महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको काम गरिरहेकी छु । पहिला पनि १९७७ सालमा गरेको थिएँ, एकजना भाइको आग्रहमा । तर, त्यो रेकर्ड कता हरायो । त्यही पूरा गर्न लागेकी छु अहिले ।

वीचमा म नरबहादुर भण्डारी, पवन चाम्लिङ सरको समयभरि मैले संस्कृति विभागको डाइरेक्टरका रुपमा काम गरेँ हो । फुर्सद पनि पाइनँ । अहिले त्यही गर्दैछु ।

संगीत जन्माउने काम मैले कहिल्यै छोडिनँ । त्यही जिम्मेवारीले नै म जन्मिरहन कर लागेको हो । श्रष्टाले हरेक एक सिर्जनामा त जन्मनै पर्‍यो । ऊ जहिलेसम्म सिर्जना गर्छ, उ त उति नै पटक जन्मन्छ । म अहिले पनि जन्मिरहेकी छु ।

अनि छ नि, गीत बूढो हुँदैन के कहिल्यै पनि । मान्छेमा बग्ने भाव टिपेर बनेको गीत बूढो हुँदैन । मान्छेभित्र हुने भावना त जुनसुकै पिँढीमा पनि उस्तै हुन्छ नि । जव भावना गीतमा छ भने जुनसुकै पुस्ताको मान्छेको हृदयलाई पनि छोइहाल्छ ।

गीति नाटक, फिल्मी गीतदेखि संगीतमा योगदान छ तपाईंको । तपाईं नेपाली संगीत आकाशको पहिलो नेपाली महिला संगीतकार पनि हो । तर, मान्छेले तपाईंलाई चिन्ने संम्हालेर राख बोलको गीतबाटै हो । अब भनिदिनोस् त तपाईं आफैले रेटिङ गर्दा शान्ति ठटाल गायिका कि संगीतकार ?

म जहाँ गएपनि अन्य कुरा पछि आउँछ । मेरो सुरुवात गीतबाट भएको हो । त्यसबाट म सन्तुष्ट पनि थिएँ । पछि मेरो गलामा समस्या भएर संगीत कम्पोज गर्न थालेँ । तर, पनि गीत गाउँन छोडेको छैन । त्यसैले म गायक र संगीतकार दुबै भन्न रुचाउँछु ।

अम्बर गुरुङजस्तै तपाईं पनि संगीतमा क्यान्टाटा प्रयोग गर्न रुचाउनु हुन्छ हो ?

त्यतिबेला म ढिलो गरेर लरेटो कलेज पढ्दै थिएँ । त्यहीबेला ईश्वरबल्लभ दार्जीलिङमा हुनुहुन्थ्यो । उहाँ पनि टिचर काम गर्नुहुन्थ्यो । संस्कृत पढाउनु हुन्थ्यो । बल्लभजी त बित्नु भो । उहाँको बैनी हुनुहुन्छ यहाँ । उहाँले एउटा गद्य लेख्नुभएको रहेछ । उहाँ, म र कमल क्षेत्री थियौं । मैले पनि मुडले संगीत भरेको भरेकै गरेँ । त्यो कोयर संगीतजस्तै भयो । जसलाई एउटा टिमले नै तयार गरेका थियौं । त्यो धेरै नै राम्रो बन्यो । त्यसलाई उहाँले क्यान्टाटा नाम दिनुभयो । यो विषयमा पवन चाम्लिङलाई पनि थाहा रहेछ । पछि उनैको रिक्वेस्टमा उनकै अघि १२ जना गायक गायिका हलभरि भाइलेन बजाउनेहरु टम्म भरिएर गायौं । त्यही पारामा यहीँ पनि गायौं ।

अहिले गीत गाउन जाने पनि नजाने पनि हरेक एकजना गायक बन्न सक्छ । उति सारो साधनाको आवश्यकता पनि पर्दैन । रहर छ भने अहिलेको अहिल्यै रेकर्ड गर्न सक्छ

गीत हुन्थ्यो । गीतपछि कविता वाचन । धुन बीचबीचमा । फेरि गीत हुन्थ्यो । यति राम्रो हुन्थ्यो । त्यही क्षण मेरो जीवनको सबैभन्दा यादगार भएर रहेका छन् । मेरो त्यही रेकर्डिङलाई क्यान्टाटा भनिएको हो ।

अहिले कुनै काममा समाजमा निस्केका महिलालाई कामभन्दा पनि विभिन्न मान्छेसँग जोडेर बाहिर चित्रण गरिन्छ । त्योबेला त्यस्तो हुन्थ्यो कि हुँदैनथ्यो ? त्यसमाथि, तपाईंले त बिहे पनि गर्नुभएन…

फिल्म, संगीत क्षेत्रमा जति त्यस्तो अन्य क्षेत्रमा के हुन्थ्यो होला र हो । हामीले पनि त्यस्ता हावा कति खप्यौं खप्यौं। कतिले छोयो, कतिले छोएन पनि ।

कि त्यस्तो हावा धेरै खाएर बिहे नगर्नुभएको ?

(हाँस्दै) मैले त बिहे गर्ने फुर्सद नै पाएन जस्तो लाग्छ । मैले सत्य भनेको कि । त्यत्तिकै समय पनि उमेर पनि बित्दै गयो । आ.. होस् है, आ.. होस् है भन्ने मात्र आयो । बिहे गरेर घर बसाउँ भनेर सोच्ने समय निकाल्नै भुलेँ मैले सांगीतिक क्षेत्रमा लागेर । यही संगीतले सबै थोक दियो । सायद त्यता भन्दा संगीत सिर्जनामा नै मैले धेरैथोक पाएँ र यतै मेरा सबै समय व्यतीत गरेँ । अहिले जे छु नि, अलिकता पनि पछुतो छैन ।

अहिले आधुनिक बाजाहरु पर्याप्त भएका बेलामा र हिजो त्यस्ता बाजा नभएका बेलामा जस्तो कालजयी गीत किन बन्न नसकेको होला ?

अहिले सबै इलेक्ट्रोनिक्स भैसकेको छ, कला होइन के मेसिन हो त्यो । मेसिन मान्छेजस्तै हुन त सक्छ, मान्छेमा जस्तै सोचाई त हुँदैन नि । अहिले गीत गाउन जाने पनि नजाने पनि हरेक एकजना गायक बन्न सक्छ । उति सारो साधनाको आवश्यकता पनि पर्दैन । रहर छ भने अहिलेको अहिल्यै रेकर्ड गर्न सक्छ । प्रोफेसनका रुपमा यसैलाई कर्म बनाएर होइन, भिजेर होइन कि गाइदिइहालौं न भनेर गाउने धेरै छन् । किनकि सहज छ नि त । त्यस्ता बुट्यानहरुले अलिअलि भएका रुख पनि छोप्यो के !

नेपाली संगीतको स्तर हिजो भन्दा परिस्कृत भएर शिखरमा पुग्ने देख्नुहुन्छ कि तल झर्ने देख्नुहुन्छ ?

अहिले साधनामा जुनस्तरको गिरावट छ, त्यसले कसरी शिखरमा कसरी पुर्‍याउला र ?आफ्नो गीत कसरी प्रचारमा ल्याउने, यसबाट कमाइ कसरी गर्ने भन्ने ध्याउन्न हुन्छ । त्यसरी उत्पादन भएका गीत संगीतले मान्छेको हृदयलाई भन्दा बजारलाई केन्द्रमा राख्छ । त्यो बजारको शिखरमा पुग्छ, गुणको शिखरमा पुग्दैन ।

तर, गीत, संगीतको स्तर बढाउन सक्ने प्रतिभाहरु पनि छन्, उनीहरुले आफूलाई साधनामा स्थित गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment