
युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा सारजा विमानस्थलमा एक नेपालीको मृत्यु भएको छ ।
छुट्टीमा घर फर्कने क्रममा ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बुको उपचारका क्रममा सारजास्थित अल कुवेत अस्पतालमा मृत्यु भएको हो ।
बुधबार एयर अरेबीयामार्फत नेपाल फर्कदै गरेका लिम्बुले सारजा विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए । त्यसपछि विमानस्थलका कर्मचारीले प्रहरीलाई खबर गरेपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आइसीयु कक्षमा राखेर उपचार थालिएको थियो ।
उनी जण्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेको र दुवै मिर्गौला खराब भएको चिकित्सकको रिपोर्टले जनाएको छ । उपचाररत अवस्थामा रहेका लिम्बुको शनिबार मृत्यु भएको सोही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले जानकारी दिए ।
स्वागत गर्न आएका परिवारलाई मृत्युको खबर
५ वर्षअघि श्रीमतीको निधन भएपछि लिम्बु विदेशिएका हुन् । उनका दुई छोरीमध्ये जेठी छोरीको गतसाल निधन भएको थियो । साउदीमा घरेलु कामदारका रुपमा कार्यरत लिम्बु पहिलोपटक विदामा घर फर्कदै थिए ।
असार ४ गतेको आफ्नो फ्लाइट रहेको र ५ गते काठमाडाैं आइपुग्ने परिवारलाई खबर गरेका थिए । सोही अनुसार परिवारका सदस्य उनलाई लिन विमानस्थल पुगे । तर, ५ गते उनी नपुगेपछि खोधिखोजी सुरु भयो ।
काठमाडाैंमा रहेका भतिज पर्शुराम आङबुहाङ लिम्बुले युएईमा कार्यरत लंक आङबुहाङलाई उनका बारेमा जानकारी गराए । लंक प्रेमबहादुरका छिमेकी हुन् ।
सारजा विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उनका बारेमा जानकारी प्राप्त भयो । उनी अस्पताल भर्ना भएको खबर पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बुवान सामाजिक मंच युएईका प्रतिनिधिले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । तर, उपचाररत अवस्थामा रहेका लिम्बुको शनिवार बिहान मृत्यु गएको थियो ।
अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाए लगतै शनिबार साँझ आफन्तलाई खबर गरेका हुन् । उनको शव पोष्मार्टमका लागि राखिएको छ ।
शव नेपाल फर्काउनका लागि आइतबार दूतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा युएईका महासचिव भवानी लिम्बुले जानकारी दिए । मृतक लिम्बुकी कान्छी छोरी विवाह भइ हाल इलाममा बस्दै आएकी छिन् ।
प्रतिक्रिया 4